सेनाको हेलीकोप्टरमार्फत् मुस्ताङ र मनाङमा मतपत्र ढुवानी
जोमसोम : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा मतपत्र ढुवानी नेपाली सेनाको हेलिकोप्टरमार्फत् गरिएको छ। निर्वाचन आयोगले मुस्ताङका ५ स्थानीय तह र मनाङका ४ स्थानीय तहका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार आवश्यक मतपत्र जिल्ला पठाएको निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए।
नेपाली सेनाको हेलीले ढुवानी गरिएको मतपत्र जोमसोम विमानस्थलमा अनलोड गरिएको थियो। स्थानीय तह निर्वाचनका लागि हेलीमार्फत् आएको निर्वाचन मतपत्र बुझ्न मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवाली, जिल्ला निर्वाचन कार्यालयका प्रमुख मदन अर्याल र सुरक्षा निकायको टोली जोमसोम विमान स्थल पुगेका थिए। उनीहरुले आयोगले पठाएको निर्वाचन सामाग्री बुझेका छन्।
आयोग पठाएको निर्वाचनसम्बन्धी मतपत्र जोमसोम विमानस्थलबाट नेपाली सेनाको निगरानीमा स्कटिङ गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको थियो।
यसअघि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी मतपेटिका बाकससहित ५४ थरीका निर्वाचन सामाग्री पनि मुस्ताङ आइपुगेको निर्वाचन कार्यालयका प्रमुख अर्यालले बताए। त्यस्तै निर्वाचन कार्यालयले जिल्ला स्तरबाट खरिद गरिने १५ थरीका निर्वाचन सामाग्री र अनुसूचीहरु समेत मुस्ताङ आइपुगेको छ। कार्यालय प्रमुख अर्यालले नया मतदाताको परिचयपत्र भने मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए।