पूरा भएन ७ प्रतिशत लक्ष्य
काठमाडौं : केही दिनअघिसम्म अर्थमन्त्री जनार्दन शर्माको एउटै ढिँड थियो, ‘आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ।’ तर, आफैंले निर्धारण गरेको वृद्धिदर लक्ष्य भेटाउन सरकार असफल भयो। आर्थिक वर्षको अन्तसम्म ५.८४ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागको छ। कृषि क्षेत्रमा भएको क्षतिका कारण आर्थिक वृद्धिदरमा ह्रास आएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी बताउँछन्। भन्छन्, ‘कृषि क्षेत्रले सहयोग गरेको भए लक्ष्य भेट्टाउन सहज हुने थियो। बेमौसमी बाढीले ८.७ प्रतिशत धान उत्पादन घट्नु पनि एउटा कारण हो।’
विभिन्न सरकारी अनुमानहरूको अध्ययन गर्दा चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ५.४९ प्रतिशत आर्थिक वृद्धि हुने विभागले जनाएको छ। विभागले ६ महिनाको वास्तविक तथ्यांक र बाँकी तीन महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिद्धरको नयाँ लक्ष्य आकलन गरेको हो। कोभिडको असर अब नरहेकाले आर्थिक वृद्धिदर प्रक्षेपणभन्दा खासै फरक नपर्ने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए।
बेमौसमी बाढीले कृषि उत्पदनमा ठूलो क्षति पुर्याएकाले लक्ष्य भेट्टाउन मुस्किल भएको उनको भनाइ छ। सरकारले कोभिडको समय कायमै रहेका बेला लक्ष्य भेट्टाउन सकिने आकलन गरेको थियो। तर, अर्थविद्हरूले केन्द्रीय तथ्यांक विभागले जारी गरेको तथ्यांक वास्तविकताभन्दा पर रहेको बताउँदै आएका छन्। अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रमा देखिएका संकट, प्रवृत्ति, आयात रोक्न चालेका कदम र यसले पार्ने बहुपक्षीय प्रभाव हेर्दा विभागको अनुमान नहुने बताए। ‘यस्तो तथ्यांकमा बजेट बनाउँदा अरू दुर्घटना हुन सक्छ’, उनले भने, ‘तथ्यांक केलाउँदा वास्तविकताभन्दा फरक छ।’ सरकारको दबाबका कारण विभागले यस्तो तथ्यांक निकालेको हुन सक्ने उनको आकलन छ।
पछिल्लो समयमा आयात उच्च हुँदै गएको छ। ९ महिनासम्म १४ खर्ब बढी आयात भइसकेको बेला यो आर्थिक वर्षको अन्तसम्म २० खर्बको आयात हुने आकलन गरेको छ। व्यापारघाटा नै १७ खर्बभन्दा बढी हुने विभागको अनुमान छ। निर्यात ३ खर्ब २० अर्बको हुने विभागको अनुमान छ। बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने ऋणको झन्डै ५० प्रतिशत आयातमै गइरहेको छ। चालू आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च पनि गर्न सकेको छैन। विविध कारणले अर्थतन्त्र प्रभावित हुँदा सरकारले लिएको लक्ष्य भेट्टाउन मुस्किल भएको महानिर्देशक श्रेष्ठले बताए।
वर्ष ३.५, आर्थिक वर्ष २०७६/७७ मा २.४ ऋणात्मक, आब २०७५/७६ मा ६.४ प्रतिशत आर्थिक वृद्धि भएको थियो। त्यस्तै २०७४/७५ मा ७.४ र २०७३/७४ मा ५.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो। विभागका अनुसार एक वर्ष अवधिमा अर्थतन्त्रको आकार ५ खर्ब रुपैयाँले बढेको छ।
चालू मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबर अर्थतन्त्रको आकार पुगेको छ। चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा भने ४८ खर्ब ५१ अर्ब ६३ करोडको अर्थतन्त्रको आकार पुगेको छ। चालू मूल्यअनुसार आधारभूत मूल्यमा गत आर्थिक वर्ष २०७७/७८ मा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३४ खर्ब २९ अर्ब रुपैयाँको थियो।
त्यस्तै चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ। चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोक्ता मूल्यमा भने ३२ खर्ब ५१ अर्ब पुगेको छ। चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड भएको छ। त्यस्तै चालू मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड र चाल मूल्यमा वस्तु तथा सेवा निर्यात ३ खर्ब २० अर्ब ७१ करोड रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २४.५ प्रतिशत योगदान दिने अनुमान छ। यस क्षेत्रभित्र कृषि, वन, तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन्। यस वर्ष कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।