ओलीको अश्वासनपछि महतोले लिए उम्मेदवारी फिर्ता
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेका बागी उम्मेदवार बनेका निवर्तमान मेयर हरिनारायण महतोले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। अन्तिम समयमा एमालेले राजाराम महतोलाई उम्मेदवार बनाएपछि आक्रोशित बनेका हरिनारायणले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
एमालेका केन्द्रीय सदस्य एवं धनुषाको सहइन्चार्जसमेत रहेका हरिनारायणले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका थिए। तर पार्टीका हाई कमाण्डको आग्रहमा उनी मनोनयन फिर्ताको अन्तिम समयमा निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
पछिल्लो समय मेधसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिएको हरिनारायणले पार्टी निर्णयविरुद्धमा उभिएपछि उनलाई फकाउन ओलीले काठमाडौंनै बोलाएका थिए। ओलीसँग सहमतिपछि उम्मेदवारी फिर्ता लिएर एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई सघाउन हरिनारायण तयार भएका हुन्।
आफ्नो उम्मेदवारी फिर्ता लिँदै हरिनारायण महतोले पार्टीमा हिटलर प्रवृति हावी भएको प्रतिक्रिया दिए। ‘पार्टीभित्रका केही तानाशाह र हिटलरहरुले पार्टीलाई ध्वस्त बनाउने षड्यन्त्र गर्यो, त्यसविरुद्ध हामी सचेत भएका हौं। अध्यक्ष ओलीले उम्मेदवारी फिर्ता लिएर पार्टीको जिम्मेवारीमा फर्किनुस् हामी तपाईको व्यवस्थापन गर्छौ भनेर निर्देशन दिएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ,’ महतोले अन्नपूर्णसँग भने। अध्यक्ष ओलीले हरिनारायणलाई प्रदेशसभा सदस्यको अश्वासन दिएपछि सहमति जुटेको उनी निकट एक नेताले बताए।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका हरिनारायणले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मिथिला नगरपालिकाको मेयरमा विजयी भएका थिए। मेयरका लागि उनले दोस्रो पटक दोहोरिन पार्टीमा आकांक्षा राखेका थिए।
तर पार्टीको नगर कमिटीले एमालेबाट मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणलाई बाइपास गरेर अन्तिमसमयमा राजाराम महतोलाई टिकट दिएपछि असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
यस्तै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ। दुई दलबीच गठबन्धन गर्ने सहमति भएपछि जनता समाजवादी पार्टीका मेयरका प्रत्यासी उम्मेदवार चन्देश्वर महतो र माओवादी केन्द्रका उपमेयरका प्रत्यासी उम्मेदवार बिमला अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
मिथिला नगरपालिकाको मयरका लागि नेपाली कांग्रेसबाट महेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट रामकुमार महतो, नेकपा एकीकृत समाजवादीबाट सुर्यप्रसाद पुडासैनी, लोकतान्त्रिक समाजवादी पाटी नेपालबाट राजकुमार थापा, जनमत पार्टीबाट सरोज कुमार सिंह र राष्ट्रिय जनता पार्टीबाट जनक कुमार कार्कीलगायत २१ जनाले मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन्। त्यमध्ये एकमात्र महिला कौशल्या कुमारी महतोले मेयरमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए।