फिलुङ्गे म
मैंले सोधेको थिएँ,
अचानक निस्सासिएँ भने ?
तिमीले भन्यौ,
तिमी फिलुङ्गे भए म पानी बन्छु
तिमी निस्सासिए म शीतल हावा बन्छु
तिमीले गन्तव्य भुले म बाटो बन्छु।
मैंले सोधेको थिएँ,
म उर्लंदो खोला भएँ भने ?
बबन्डर हावा झैं भएँ
वा, उजाड बगैंचा झैं भएँ भने ?
तिमीले भन्यौं,
तिमी उर्लंदो खोला भए किनारा हुनेछु
तिमी बबन्डर हावा भए आकाश हुनेछु
तिमी उजाड बगैंचा भए वसन्ती पालुवा बन्नेछु।
मैंले सोधें,
तिमीले आकाशको जून–तारा
वा चन्द्रमा माग्यौं भने ?
तिमीले भन्यौं,
तिमी मेरो आकाश बन्नू
र, बुलन्द उचाइँ लिनू
क्षितिजसम्मै फैलनू।
म त्यै आकाशका चम्किला जून–तारा
र शीतल चन्द्रमा हेरेर हर्षित हुनेछु।
मैंले सोधें,
तिमी मेरो छाया हुन्छ्यौ कि आँखाको नानी ?
तिमीले भन्यौं,
म तिम्रो मुटुको ढुकढुकी हुन्छु
तिम्रो श्वास हुन्छु।
मैंले सोधें,
तिमी मेरा आँखामा के हेर्नं चाहन्छ्यौ ?
तिमीले भन्यौ,
तिम्रा आँखामा हाम्रा सपना फक्रिएको हेर्न चाहन्छु।
म तिमीलाई सुनेर नै
तिमीसँग गहिरो प्रेममा डुबेको हुँ।