नागरिक योद्धाका नाममा

नागरिक योद्धाका नाममा

पूर्वी नेपालको भोजपुर जिल्ला प्राकृतरूपमा सुन्दर र उर्वर जिल्ला हो। यहाँको माटोमा असल बालीमात्र फस्टाउँदैन, असल मान्छेहरूको जन्मभूमि पनि हो। भोजपुर यहाँको प्राकृतिक सुन्दरताभन्दा यहाँ जन्मेर असल र सफल मानवका रूपमा आफूलाई स्थापित गरेका व्यक्तिहरूका कारण बढी चर्चित छ। विद्यार्थीकालमा बाल ब्रम्हचारी षडानन्दको बारेमा पढेको थिएँ। उनको जीवनीले मलाई हदैसम्म प्रभावित बनाएको थियो। त्यसबेलादेखि नै मेरो मनमा भोजपुर जिल्लाको नाम कुँदिएको थियो।

जीवनको यस मोडमा आएर मात्र भोजपुर जिल्ला घुम्ने साइत जुर्‍यो। २०७८ पुसमा भोजपुरको सदरमुकाम हुँदै षडानन्दको पूण्यभूमि दिङ्ला पुगें। जहाँ मेरो सानैदेखिको सपना साकार भएको अनुभूति बन्यो मलाई। त्यस पूण्यभूमिमा एक घण्टा मात्र बिताउँदा पनि वर्षौदेखि बसेजस्तो सुखको अनुभूति भयो। तपस्वी षडानन्दको कर्मभूमिलाई स्पर्श गर्ने मौका पाए पनि महिलाका अधिकारका लागि विद्रोह गर्दै जल समाधि लिएकी योगमायाको तपोभूमिमा भने पुग्न नसकेकोमा थकथक लाग्यो। भोजपुरले षडानन्द र योगमाया मात्र होइन, थुप्रै सपुत र सुपुत्री जन्माएको छ। जो मानव सभ्यता, संस्कृति, सृजना र राजनीतिका विविध क्षेत्रमा स्थापित भएर भोजपुरको उर्वर भूमिको वासनालाई संसारभर फैलाइरहेका छन्।

भोजपुरको उर्वर धर्तीमा पल्लवित यस्तै सपुतमध्ये एक हुन्, सीताराम ढकाल। भोजपुरको अरूण गाउँपालिका–४ पुरानागाउँमा २००१ साउन २३ गते जन्मिएर जन्मस्थान तथा काठमाडौंमा समेत जेष्ठ नागरिकको हकहित र सामाजिक सेवामा समर्पित थिए उनी। ढकालको पुण्य स्मृतिमा सीताराम पदमकुमारी फाउन्डेसन, काठमाडौंले जेष्ठ नागरिक योद्धा सीताराम ढकाल नामक स्मृति ग्रन्थ प्रकाशित गरेर सह्रानीय कार्य गरेको छ। ५१० पृष्ठ रहेको ग्रन्थमा उहाँका परिवारका सदस्य, उहाँको सान्निध्यमा रहेर कार्य गरेका तथा आआफ्नो क्षेत्रमा ख्यातिप्राप्त ७० व्यक्तिका लेख तथा संस्मरण छन्। ग्रन्थमा समेटिएका विविध लेखको अध्ययनबाट ढकालको जीवनी, व्यक्तित्वका विभिन्न पाटा, उनले समाजको रूपान्तरणका लागि गरेको योगदान र समर्पणका बारेमा बोध गर्न सकिन्छ।

भोजपुरमा जन्मिएर जीवनका पचास वर्षसम्म आफ्नो ठाउँको कृषि, शिक्षा, बाटाघाटा, खानेपानीजस्ता न्यूनतम आवश्यकीय क्षेत्रमा अनवरतरूपमा समाजसेवाको कर्ममा समर्पित भए उनी। आफू सामान्य साक्षार मात्र भए पनि विद्यालय स्थापना गरी शिक्षाको ज्योति प्रज्ज्वलित गराए। जेष्ठ नागरिकहरूको अधिकार प्राप्तिको संघर्षको नेतृत्व गरी हक दिलाउन अविच्छिन्नरूपमा जीवन समर्पण पनि गरे। यसबारेमा ग्रन्थको प्रारम्भमै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उद्गार रहेको छ। जोशीले भनेका छन्, ‘समाजका निम्ति समर्पित भई समाजसेवीका रूपमा स्थापित भएर सम्मान पाएको एउटा आदर्श व्यक्तिको कदर र सम्झनामा विभिन्न विद्वानहरूद्वारा लिखित रचनाहरू समावेश गरी प्रेरणादायी कृतिको प्रकाशन आफैंमा गौरवको विषय हो।’

ग्रन्थमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्व. ढकालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्– ‘ढकालकै अगुवाइमा भएको जेष्ठ नागरिक आन्दोलनका कारण सरकारले जेष्ठ नागरिक परिचय–पत्रको सुरुआत गर्‍यो। सवारीसाधनमा आरक्षण सिटको व्यवस्था गरिनुका साथै जेष्ठ नागरिक बिमाको व्यवस्था पनि भयो।’ यी दुई भनाइ ढकालको सम्पूर्ण व्यक्तित्व र समाज सेवाप्रतिको समर्पण प्रतिविम्वित हुन्छ। यस ग्रन्थमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला र पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइरालाका शुभकामना अभिव्यक्तिहरू पनि छन्।

ग्रन्थमा संग्रहित ७० वटा लेखको सार हो– स्व. सीताराम ढकाल निस्वार्थ समाजसेवी र कर्मयोगी हुन्। बाल वयदेखि नै उनमा मानवीय संवेदना र करुणाको भावना झल्किन्थ्यो। उनी अरूलाई सहयोग गर्न पाउँदा उत्साहित हुन्थे। सानैदेखि उनमा सृजनशीलताको छनक पाइन्थ्यो। केही नयाँ काम गर्नु पर्‍यो भने उनी जहिल्यै अघि सर्थे। गाउँघर तथा छरछिमेकी भनेपछि भुतुक्कै हुने, रमाउने, हौसला प्रदान गर्ने र आफू बाँचेको समाजको समृद्धिका लागि मरिमेट्ने व्यक्तित्व हुन्, स्व. ढकाल। राजनीतिक चेत भएका सामाजिक रूपान्तरणका संवाहक र समाजका लागि केही गरौं भन्ने सोच राख्ने व्यक्तिहरूका प्रेरणाका स्रोत थिए।

भौगोलिक रूपमा दुर्गम स्थानको बासिन्दा भए सीताराम ढकालमा प्रखर चेतना थियो। उनले समाजको रूपान्तरण र उत्थानका लागि प्रयोग गरेका थिए। त्यसैले त उनी सबैका अभिभावक र मार्गदर्शक बनेका थिए।

भौगोलिक रूपमा दुर्गम स्थानको बासिन्दा भए पनि उनमा प्रखर चेतना थियो। सानै उमेरदेखि नै धार्मिक प्रवृत्तिका स्व. ढकाल घरपरिवार तथा स्थानीय बासिन्दालाई समेत धर्मप्रति आस्था जगाई नैतिकवान् र सच्चरित्रयुक्त बन्न प्रेरित गरिरहन्थे। आफूले सास फेरिरहेको परिवेश स्वच्छ र शुद्ध होस् भन्ने अभिप्रायले उनी आफूले आर्जेको सबै जमिनमा वृक्षरोपण गरे। गाउँलेहरूलाई पनि आफ्नो घर, आँगन, खेत, गरा, चौरमा वृक्षरोपण गर्न हौस्याइरहन्थे। आफ्नो पुस्ता पछि परे पनि आफूपछिको पुस्ता शिक्षित होस्, सक्षम होस्, अधिकार सम्पन्न होस् भन्ने कुरामा उनी सचेत र जागरुक थिए। आफूसँग जे जस्तो अनुभव, ज्ञान र क्षमता छ। आफूमा निहित ती सम्पूर्ण सत्गुणहरूलाई उनले समाजको रूपान्तरण र उत्थानका लागि प्रयोग गरेका थिए। त्यसैले त उनी सबैका अभिभावक र मार्गदर्शक बनेका थिए।

समाजसेवी तथा कर्मयोगी स्व. ढकालको जीवनका सम्पूर्ण आयामलाई समेटिने गरी स्मृति ग्रन्थ प्रकाशित छ। देश, समाज र नागरिकको सुख र समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गर्ने सपुतको जीवन वृतान्त तथा कृति वर्णनले यस मार्गमा लागेका लाखौं नागरिकलाई प्रेरणा प्रदान हुन्छ। जेष्ठ नागरिक योद्धा स्व. ढकालमा समर्पित यस ग्रन्थको अध्ययन, चिन्तन, मनन र विश्लेषणबाट एक सामान्य व्यक्तिले पवित्र भावनाले आँट गर्‍यो भने समाजलाई रूपान्तरण गर्नुका साथै निमुखा र अधिकारविहीन नागरिकलाई तिनको हक दिलाउन सक्छ भन्ने तथ्यलाई स्थापित गरेको छ।

यस संसारमा एक घण्टामा करिब सात हजारका दरले दिनहुँ लाखौं मान्छे जन्मिन्छन् र त्यत्ति नै मान्छेहरू मर्छन्। तर, तीमध्ये केही मान्छे मात्र औंलामा गन्न सकिने हुन्छन्। जो कर्मले सदा अमर हुन्छन्। ‘यो मान्छेले हाम्रा लागि केही गरेको थियो’, भन्ने चेतनाले  सदा मान्छेहरूको मस्तिष्कमा बाँच्छन्। स्व. ढकालको यस स्मृति ग्रन्थले पनि यही भावना बोकेको छ, प्रेरक सन्देश दिएको छ यो ग्रन्थ स्मृति ग्रन्थ मात्र नभएर प्रेरणाको दिव्य पुञ्ज हो। 

जसबाट निःसृत न्याना किरणहरूले हामीलाई निद्राबाट बिउँझाउँछन् र हाम्रो मन र मस्तिष्कलाई आलोकित बनाउँछन्। दुई दिनको मानव चोलालाई आफ्नो राष्ट्र, समाज, गाउँ, बस्ती, टोलको सेवामा अर्पण गरेर जन्मलाई सार्थक बनाउने जेष्ठ नागरिक योद्धा कर्मयोगी स्व. सीताराम ढकालमा हार्दिक श्रद्धाञ्जली।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.