शंकर–दर्शनमा ‘आमाको डायरी’
जिज्ञासाको माथिल्लो तहमा पुग्दा दर्शनको जन्म हुन्छ। जिज्ञासा र बौद्धिक विकासका क्रममा अनेक दर्शनको विकास भएको पाइन्छ। दर्शन एउटा स्वतन्त्र विषय पनि हो। जीवनसँग जोडिँदा जीवन दर्शन हुन्छ। दर्शनका अनेक स्वरूप निर्माणमा जीवन दर्शनको प्राथमिकता रहन्छ। जीवन र दर्शन अलगअलग विषय हुन्। तापनि यी दुवै जीवनभन्दा अलग नभएर विषय र विधिका रूपमा जोडिएका हुन्छन्। सुप्रसिद्ध एवं लोकप्रिय साहित्यकार शंकर लामिछानेले जीवनलाई हेर्ने दृष्टिकोण उत्पत्ति र व्यावहारिकताका सूक्ष्म सन्दर्भहरूले निर्माण गरेका हुन्।
अन्तरदृष्टि प्राप्तिका निम्ति अनेक प्रश्नले मस्तिष्कलाई घच्घच्याइदिनु आवश्यक हुन्छ। यथार्थमा जीवन प्रश्नहरूको संग्रहालय हो, दीर्घकालीन उत्तरहरू प्रश्नभित्रै समाहित भएका हुन्छन्। दर्शन तिनै प्रश्नोत्तरहरूको निष्कर्ष नै त हो। शंकरका जीवन दर्शनमा यसको प्रामाणिकता छ। उनी जीवनको प्राथमिकतालाई भोगाइका सापेक्षमा यसरी व्यक्त गर्छन् :
तिमीमा मेरो एक अंश मेरो अन्त्यपछि पनि बाँचिरहनेछ। त्यसरी नै जसरी ममा मेरा पूर्वजहरू निदाइरहेका छन्। कहिलेकाहीँ म उनलाई झक्झकाई ब्युँझाइदिन्छु र कहिले उनीहरू झक्झकाई ब्युँझाइदिन्छन् (लामिछाने, एक्स्ट्र्याक्ट चिन्तन प्याज)।
हरेक व्यक्तिका आआफ्नै किसिमका वंश परम्परा हुन्छन्। तिनका जैविक संरचना र चिन्तनको धरातल यसैको पृष्ठभूमिमा तयार हुन्छ। यो वैज्ञानिक सत्यलाई नजानेरै पनि हामी पुर्खाका बारेमा जान्न उद्धत भइरहन्छौं। यो उत्सुकताभित्र व्यक्तिको आफ्नै खोजको मनोविज्ञान हुन्छ। शंकरमा पनि स्वभावत: आफ्ना पूर्वजका प्रभावहरू वंशानुगत रूपमा आएकै थिए। त्यो उनको बाल्यकालदेखि नै संस्कारको रूपमा पनि हुर्कंदै थियो। यसको प्रभावको जोड घटाउले जीवनमा पार्ने प्रभाव उनका निबन्धको खोजी होइन, सिर्जनात्मक चिन्तनबाट प्रकट भएको जीवन दर्शन हो। यसैमा उनको वैयक्तिक निर्वैयक्तिकताले पाठकको अनुभूतिको लयलाई पक्रिराख्छ। उनी थप पठनीय बन्दै जान्छन्। निजात्मकताभित्रबाट चिहाइरहेको वैश्विकता नै उनका निबन्धको सौन्दर्य हो।
शंकर दार्शनिक होइनन्, मूलत: साहित्यकार हुन्। उनको लेखनमा ज्ञान र चेतनाद्वारा निर्देशित बौद्धिकता र यथार्थ जीवनका अनुभूतिलाई उच्च भाषिक कलाका साथ प्रस्तुत गरिएको पाइन्छ। उनका निबन्धमा व्यक्त जीवन दर्शन उनका जन्म, हुर्काइ र भोगाइका अनेक परिवेशका अभिप्रेरकका आधारमा तय भएका छन्। ती आधारहरूलाई मूलत: वंश परम्परा, अध्ययन, संस्कार, धार्मिक परम्परा, पारिवारिक, सामाजिक तथा राजनीतिक परिस्थिति, सरसंगत, भ्रमण आदिका आधारमा पर्गेल्न सकिन्छ। यसले एउटा लेखकको चिन्तन–संस्कृतिको समग्रताको उत्खनन गर्न सहयोग गर्छ। कतियय लेखनको अर्थ र यथार्थबीचको वैषम्य यसरी नै ठम्याउन सकिन्छ। ‘ऊ लेखनमा जसरी प्रस्तुत हुन्छ, यसको चरित्र वा व्यक्तित्व त्यस्तो छैन’ भन्ने मतभित्र उनको इतिहास लुकेको हुन सक्छ। जुन इतिहास लेखकको पूर्वजहरूसँग सरोकार राख्ने हुँदा हाम्रा धारणा पुष्टि हुन सक्दैनन्। उनले आफ्ना चिन्तनलाई पुष्टि गर्ने प्रशस्त अभिव्यक्ति दिएका छन् ।
शंकर लामिछानेका निबन्धमा पूर्वीय साङ्ख्य र बौद्ध दर्शनको माया तथा शून्यवाद र पाश्चात्य विसंगतिवादी दर्शनको प्रभाव गहिरो गरिआएको छ। जीवनको निसारतासम्बन्धी चिन्तन उनको अध्ययनबाट प्राप्त अभिलेख होइन, जीवन भोगाइका क्रममा आएका प्रतिध्वनि हुन्। उनका लेखनमा आएको शैली उनको चिन्तनको सौन्दर्य हो। उनका निबन्धको मनमोहक शैली जीवन–अनुभूतिका विच्छिन्नताहरूको कलात्मक संयोजन नै हो, प्रयोग होइन। आफ्नै जीवनप्रति नियतिले गरेका कठोर प्रयोगहरूको आलेख गर्ने क्रममा दुखाइहरूको कलात्मक संयोजन गरेका हुन् भन्ने अनुभव उनका जीवनप्रतिको दृष्टिकोणबाट बोध हुन्छ। शंकर लामिछानेमा सानैदेखिका विसंगत भोगाइका कारण आफ्नो कुलीन, सम्भ्रान्त वा ब्राह्मण जीवनशैलीप्रति उनको कुनै रुचि देखिँदैन। उनले आफ्नो कुल र आफ्नै बारेमा भनेका छन् :
ऊ मान्छे पनि त त्यस्तै छ। बाहुन कुलमा जन्म्यो, एउटै पनि बाहुन साथी छैनन् उसका, हुँदाहुँदा स्वास्नी पनि त अब्राह्मणी नै छ। के त साँच्ची उसले ब्राह्मणसँग मित्रता नै गर्न खोजेन ? होइन बाहुनसँग मित्रता जोड्यो, उनको अलिक नजिक पुग्न खोज्यो, ती नेता बनिदिन्छन्। र बाहुन बाहुन हुञ्जेल सही सक्ने लाग्छ मलाई, नेता भइसकेपछि त...कमसेकम ती मित्र बन्न लायक रहँदैनन् (विदेह, २०३३)।
डेढ वर्षको हुँदा उनका माता र पिताबीच सम्बन्ध चिसियो। शिक्षित महिला राजकुमारीले आफूमा भएको दोस्रो सन्तानको गर्भसहित अलग्गै हुने निर्णय लिए। बनारसमा रहेका माइतीका रेखदेखमा बस्ने निर्णय लिएपछि आमाका आर्थिक सन्तुलनका निम्ति र स्वाभिमानका निम्ति गरिएका संघर्षका दुइटा पक्ष प्रत्यक्ष देखे उनले। परदेशी भूमिमा नदेखिने अनेक विसंगत पक्षहरू कति कति ? दोस्रो विवाहको मनस्थितिमा पुगेका पति हरिप्रसादसँगको मानसिक तनाव झेल्नुभन्दा छुट्टिएर बस्ने निर्णय गर्नु आमा राजकुमारीमा रहेको नारी अस्तित्ववादी चिन्तनको परिणाम भएको पुष्टि हुन्छ। यसले नारीहरूमा निर्णय क्षमता कम र अलमल धेरै हुन्छ भन्ने रुढिलाई पनि भत्काइदिएको छ, उतिबेलै।
१९८६ सालमा शंकरले घर छाडेपछि पनि बनारसमा शिक्षण पेसामा संलग्न रहे। छुट्टै डेरा लिई छोराको जिम्मेवारी आफैंले पूरा गर्ने प्रयास गरेको देखिन्छ। तर, नियतिले यहाँनेर पनि झेल गरेको छ। उनले आमाको दयनीय स्वास्थ्य स्थिति हेर्दै जीवनका टुहुरा पलहरूलाई आफूले स्याहार्नुको विकल्प भेटेनन्। यसरी उनको जीवन भोगाइका क्रममा र लेखाइमा प्रकट भएको स्वअस्तित्वका निम्ति स्वनिर्णयको प्रवृत्ति उनको मातृ वंशानुबाट उनमा आएको पुष्टि हुन्छ।
पिताको बलियो आयस्रोतका कारण शंकर लामिछानेको जन्मका समयमा शंकरको परिवारको आर्थिक र सामाजिक प्रतिष्ठा उच्च थियो। बबरशमशेरलाई रिजाएका कारण उनको सामाजिक ओहदा पनि माथिल्लो बन्न पुगेको थियो। यी सबै हुँदाहुँदै पनि मानसिक शान्ति नपाउँदा उनको बाल्यकाल सुखद र निश्चिन्त हुन सकेन। जन्मभूमि, पिता र परिवेशसँगको वियोगान्त बनारसमा झनै विस्तारित भयो। बनारसमा प्रवासिएको केही महिनामै जन्मिएको भाइ शम्भुप्रसादको सानैमा असामयिक निधन भएकाले उनले बाल्यवस्थादेखि नै दुखान्तका अनेक पीडाबोध गर्यो।
पारिजातको जीवनशैली र आफ्नो मानसिक उचाइलाई प्रेम गर्ने शंकर लामिछानेले सदैव ज्ञानमार्गलाई आत्मसात् गरेको पाइन्छ।
जीवनलाई संघर्ष र साहित्यलाई सौखको रूपमा लिने शंकर आफ्नो जन्मलाई पनि बाबुआमाको सामान्य आनन्दको घटना मात्र ठान्छन्। पढ्दा सतही र हलुको जस्तो आफू स्वयंको जन्मप्रतिको उनको अपरिपक्व लाग्ने जवाफमा अत्यन्त गम्भीर भाव प्रकट भएको छ। यस भावमा बाबुप्रतिको विद्रोह र आफैंप्रतिको अहम् प्रकट भएको देखिन्छ। उनी लेख्छन् :म स्वयंको जीवनलाई पनि मैले आजसम्म गम्भीर रूपमा लिएको छैन। बाबु र आमाको आनन्दबाट म जन्में र कैयन् कीटाणुको आनन्दबाट म मर्नेछु (उत्तम कुँवर, स्रष्टा र साहित्य)।
बाबुआमा जब सन्तान जन्माउँछन्, तब सन्तानका हितका लागि आफ्ना वैयक्तिक बचाइलाई समर्पित गर्छन्। तर, लामिछानेको जीवनमा यो परिस्थिति बनेन। यो बन्न नसक्नुका पछाडि बाबुआमा उनको जन्म र हुर्काइप्रति गम्भीर नभएको र आफ्नो जन्म केवल उनीहरूको मनोरञ्जन र आनन्द प्राप्तिको तहमा एउटा संयोग मात्र भएको भन्ने व्यंग्यात्मक अभिव्यक्ति उनले दिएका छन्। उनले आफूभित्र हुर्किरहेको विसंगत अनुभूति बाल्यकालदेखिकै विसंगत भोगाइको परिणाम मानेका छन्। उनको जीवनमा उनकै मान्यता र व्यवहारबीच सामञ्जस्य नदेखिएका अनेक घटना घटित छन्। यसको कारक उनको भोगाइ नै हो भन्ने संकेत यस भनाइबाट पुष्टि हुन्छ :
...मेरो जीवनमा सदा नै अनौठा अनौठा, एकअर्काबाट भिन्न प्रकृतिका मानिसको एकसाथ प्रभाव परेको छ। मेरो जीवनका घटनाहरूलाई गति दिने यस्ता दुईरूपे चरित्र नै मानौं मेरो खल्तीका टल्किने मोहरका दुई भाग हुन् (लामिछाने, २०२८ : १२६)।
यस्ता भोगाइ र अनुभवहरूले शंकरको जीवनप्रतिको दृष्टिकोण बनेकाले उनले युवाकालमा जे लेखे त्यो उनको बाल्यकालको भोगाइको परिणाम थियो। मृत्यु र बचाइबीचको बृहत् चिन्तन आफ्ना ससाना निबन्धमा पूर्णत: अभिव्यक्त गर्न उनी सफल भए। जुन उनको तत्क्षणको अध्ययन र चिन्तनको परिणाम अवश्य होइन। विशृंखल जीवनका शृंखलित आरोह अवरोह नै शंकर चिन्तनको अधिकारी हो। आमाको बारेमा आमाको मृत्युपछि बारम्बार चिन्तन गर्ने उनमा जीवनसँग जोडिएर रहने मृत्यृले असामयिक रूपमा पिरोलेको देखिन्छ। उनले नाबालक भाइ शम्भु र आमालाई बाल्यकालमै गुमाए। ती मृत्युलाई उनले स्वाभाविक मृत्युका रूपमा स्विकार्ने अवस्था रहेन। अन्तत: उनमा शून्यवादले प्रशस्त ठाउँ बनायो। सोही पृष्ठभूमिमा उनी अस्तित्ववादी बन्न पुगे। उनी भन्छन् :
त्यसबेलाको गहनता अथवा विषमता म आज आमाको उमेर नाघिसकेपछि आँक्न सक्छु। क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन् उनी एक मिडिल स्कुलमा (देउताको काम, पृ. २)।
२०२४ सालमा लेखिएको देउताको काम निबन्धमा लामिछानेले आमाको मृत्युको कारण क्षयरोग लेखेका छन् भने २०३२ को उनको आत्मदृष्टिमा आमामा थप रोग दम भएको पनि उल्लेख छ। यही रोगका कारण आमाको मृत्यु भएको कुरा उनले उल्लेख गरेका छन् :
आमा जीवनयापनको संघर्षमा यक्ष्माको सिकार भई म आठ वर्षको पुग्दा नपुग्दा समाप्त हुनुभयो (रूपरेखा, २०३३)।
पूर्वस्मृतिका रूपमा आएका उल्लिखित सन्दर्भले शंकरको बाल्यकालको दु:खद् परिस्थितिको बोध गराएको छ। परित्यक्त अवस्था उनका लागि अराजक अवस्था हो। उनलाई परित्याग गर्ने बाबु र जुनै रोगलाई माध्यम बनाएर आएको भए पनि असमयमा आमालाई लिन आउने मृत्यु, यी दुवैले उनलाई जीवन–यथार्थको नजिक पुर्याइदिएको र आमाप्रतिको मातृरति बढाइदिएको देखिन्छ। आमाको मृत्युपछि उनले आमासँगै बस्दै आएको डेरा छाडेर मामाघरमा आश्रय लिनु पर्यो। मामाघरमा गाँसबासको चिन्ता नभए पनि उनमा स्वअस्तित्वको चेतना आमाबाट प्राप्त जन्मजात बरदान अर्थात् गुण भएर आएको थियो। जसले गर्दा उनी डेढ वर्षको उमेरदेखिको मावलीको रेखदेखमा रहेका उनले बसाइ छाडे। र, १३ वर्षको उमेरमा बाबुसँग काठमाडौं आउन प्रेरित भएको संकेत यस भनाइमार्फत दिएका छन् : आत्मसम्मानको उहाँलाई सायद आफ्नो रोगभन्दा बढी महत्त्व थियो; उहाँले छिमेककै माइतीको शरण नलिई डेराको आवासमै जीवनको अन्तिम काल गुजार्नु भयो (रूपरेखा, २०३३)।
आमाको मृत्युपछि लगभग पाँच वर्ष शंकरले मामाघरमै बिताए। १३ वर्षको भएपछि पिता हरिहरले उनलाई काठमाडौंको ताहाचलमा रहेको नयाँ घरमा लिएर आए। बनारसको बसाइका क्रममा त्यसअघि शंकरले पितालाई भेटे, नभेटेको वा पिताले आफ्ना बारेमा केही चासो दिए नदिएको बारेमा कहीँ उल्लेख गरिएको पाइँदैन। उनका पिता सुब्बाङ्गी पाएका हजुरिया पण्डित भएकाले उनी काठमाडौं आएपछि उनले पिताका माध्यमबाट दरबारीया रहनसहन सिके। तैपनि आमाबाट सिकेको स्वामिभानले जितेकाले उनले चाकरी र चाप्लुसीको मार्गलाई जीवनको गन्तव्य भेट्ने बाटो कहिल्यै बनाएनन्। उनमा एकातिर आफ्नै स्वभाव अनुकूलको स्वतन्त्रताप्रेमी र मानवतावादी भावनाको अन्तर्विकास भइरहेको थियो।
अर्कोतिर, दोस्रो विश्वयुद्धका असरहरूले ग्रसित समयको पृष्ठभूमिमा नेपालको राजनीतिक परिवेश राणाकालीन निरंकुशताको चरम अवस्था थियो। १९९७ सालको सहिद काण्ड हुँदै क्रान्ति र दमनबीचको द्वन्द्व अनियन्त्रित हुँदै गएको समयको प्रत्यक्षदर्शी हुन नेपाल आइपुगेको अवस्था थियो। यसैले उनले यी दुवै समयका विरोधाभासपूर्ण परिस्थितिलाई नेपाली कांग्रेसका संस्थापक सदस्य रहेका मामा नरेन्द्र रेग्मीका सामीप्यमा बनारसमा रहे। राणा दरबारका सुब्बा पण्डित उनका पिता हरिप्रसादका सामीप्यमा काठमाडौंमा रहँदाका दुवै समयका बीचमा बसेर अनुभव गरेको देखिन्छ। उनले स्मरण गरेका छन् :
२००३ तिर, एकातिर ऊ लुकीलुकी बाबुको खल्तीबाट पुलिसको गुप्त रिपोर्ट पढ्दथ्यो त अर्कोतिर काशीबाट काठमाडौं फर्कंदा कांग्रेसको रसिद कापी र पर्चा बाकसभरि ल्याउँथ्यो (रूपरेखा, २०३३)।
२००६ सालमा निधन हुनुपूर्व रोगसँग लड्दै गरेका पितालाई शंकरले नजिक बसेर स्याहारेको देखिन्छ। उनको जीवनमा त मातापिताको सामीप्य एकसाथ पाउन त लेखिएको थिएन। आमासँग करिब आठ वर्ष मात्र बस्न पाएका उनी आमाको मृत्युपछि मात्र पिताका संरक्षणमा आइपुगेका थिए। संयोगले उनी पितासँग पनि लगभग त्यही आठ वर्ष जति नै बस्न पाए। यो ५०—४० प्रतिशतको बात्सल्यमा उनको जिन्दगीको आयु पनि ५० प्रतिशत नै तोकिन पुगेको देखिन्छ। सम्भवत: उनको जीवनको अधुरो बचाइ पनि वंशानुगत नै थियो कि भन्ने अनुमान उल्लिखित सन्दर्भले गर्न लगाउँछ। शंकरमा दु:खलाई सहजै स्विकार्न सक्ने क्षमताको विकास दु:खद् परिस्थितिले नै गरिदिएको देखिन्छ। वियोग र मृत्युका सन्दर्भहरू उनका जीवनमा बारबार परीक्षाका रूपमा उपस्थित भए, जसलाई उनले जीवन दर्शनका रूपमा प्रकट गरेका छन् :
पिता बिरामी हुँदा उसले पिताको मृत्यु र त्यसपछि आफ्नो जीवनको फिल्म स्पष्ट बनाइसकेको थियो ...र घटना हुनु अघि नै जो घटनाबाट हुने दु:ख हो, त्यो भोगिसकेकाले उसलाई आफ्नै पिताको मृत्युले उत्ति देखिने गरी छोएन... (रूपरेखा, २०३३)।
पिताको मृत्युपछि शंकर केही समय कान्छी आमा शारदादेवीसँग रहे। जेठी पत्नी राजकुमारीसँगको सम्बन्ध बिग्रिएर बसाइ नै अलग भएपछि बुबाले शारदालाई भित्र्याएको देखिन्छ। पिताको मृत्युपछि शंकरका जीवनमा संघर्षका अनेक स्वरूप प्रकट भए। पिताले जीवनकै अन्तिम इच्छाका रूपमा राणा मिनिस्टर एन्ड कमान्डर–इन–चिफसँग जागिर मागिदिएका थिए। श्री ३ सरकारको गुठी अड्डाको खरदार जागिरलाई उनले भाग्यले आफूमाथि गरेको ठट्टाकै रूपमा लिए। उनले त्यहाँ जेनतेन ६ वर्ष जति काम गरे। त्यसपछि उनमा पर्याप्त अस्थिरताहरू देखिए। पिताले बनाएको रहनसहनको सम्भ्रान्त शैली यथावत् रहेको र परिवारमा पिताले झैं अभिभावकत्व र संरक्षणको गहन भूमिका लिइदिने कोही भएन।
जीवनशैलीले शंकरलाई ऋणात्मकतातिर धकेल्दै लग्यो। खर्चालु स्वभावका कारण उनी समस्यामूलक जीवन गतिमा जेलिनु परेको देखिन्छ। यी आकस्मिक दु:ख र अनियन्त्रित भोगाइले शंकरका निबन्धलाई वैचारिक चिन्तनको दार्शनिक उचाइ दिएको पाइन्छ। अझ जीवनसम्बन्धी चिन्तनमा उनका यी प्रारम्भिक र किशोरावस्थाका भोगाइहरूको ठूलो असर देखिन्छ।
जीवन प्रश्नहरूको संग्रहालय हो, दीर्घकालीन उत्तारहरू प्रश्नभित्रै समाहित भएका हुन्छन्। दर्शन तिनै प्रश्नोत्तारहरूको निष्कर्ष नै त हो।
स्वतन्त्रतापूर्वक स्वरुचिका विषय अध्ययन गर्ने बानी परेका शंकरले पूर्वीय साहित्य, परम्परा र विभिन्न धर्मदर्शनदेखि विदेशी पुस्तकहरू पनि प्रशस्त मात्रामा अध्ययन गरे। उनले पढेको पहिलो अटो बायोग्राफी उनकै आमाको डायरी थियो। जुन आमाको मृत्युको १०–१२ वर्षपछि पाएका थिए। त्यसलाई पढेर उनमा परेको प्रभावले सम्भवत: जीवनलाई यथार्थमा प्रकट गर्न प्रेरित गरेको हुनुपर्छ। त्यसको अवमूल्यन नहोस् भन्ठानेर पढिसकेपछि त्यस डायरीलाई उनले जलाइदिए। उनले त्यसलाई साहित्य र जीवनको अन्त:सम्बन्धमा हेरेका छन् :
उनको लेखाइमा नौलो शैली वा टेक्निक वा अभिव्यञ्जना थियो–थिएन आज म सम्झन सक्दिनँ तर आजसम्म सम्झिरहने एउटै गुण थियो त्यसमा– त्यसमा अनुभूतिको तीव्रता थियो। उनले त्यो किन लेखिन् त्यो म बुझ्न सक्दिनँ। हुन सक्छ, त्यो आफूउपर परेको अन्यायविरुद्ध अरूप एवं निराकार भविष्यप्रति गरेको उजुर थियो ! त्यसो हो भने त्यो एक महान् र सफल साहित्य–रचना थियो ! साहित्यको नत्र अर्थ के ? (लामिछाने, एब्स्ट्र्याक्ट चिन्तन प्याज : ३)।
युवावस्थामा प्रवेश नगर्दै आमाका संघर्षपूर्ण यथार्थ अनुभूतिलाई साहित्यिकताको स्वादमा पढे शंकरले। त्यसैले उनी यथार्थ लेखनमा पछिसम्म प्रेरित भइरहे। जीवनलाई अलग्याएर साहित्यको सही लक्ष्य भेटिने कुरामा सामयिकता नरहने उनको दृष्टि समयसापेक्ष देखिन्छ। यस चिन्तनको पृष्ठभूमिमा आमाको डायरी लेखनले जीवनमा ठूलो प्रभाव पारेको देखिन्छ। उनी स्वअध्ययनका क्रममा यथार्थ लेखनका पक्षधर रहेका विदेशी लेखकहरूका मतसँग पनि सहमत हुँदै आए। आफ्नो लेखनलाई यथार्थको प्रस्तुति बनाउन थाले :
मेरो साहित्यिक थ्योरी एउटा हेनरी मिलरसँग मिल्दो छ– अब भविष्यको साहित्य प्रथम वचनमा लेखिन्छ र सत्य नै लेखिन्छ। चाहे अप्रिय होस् प्रिय होस्, मनपर्ने होस् मन नपर्ने होस्, जेसुकै होस्।...थर्ड पर्सनमा लेख्ने फुर्सद अब हुँदैन। पढ्नेलाई पनि हुँदैन। त्यो अब पुरानो स्टाइल भइसक्यो। र सायद त्यही प्रभाव ममाथि पनि छ क्यारे (लामिछाने, एब्स्ट्र्याक्ट चिन्तन प्याज)।
प्रतीकवादी कलाको एउटा युगको प्रतिबिम्ब बोकेर शंकरले नेपाल भित्रिएका पश्चिमी देशका पर्यटकलाई काठमाडौंको झोसेमै भेटेर संगत गर्ने मौका पनि पाए। ती द्वितीय विश्वयुद्धका असरले विसंगत भोगाइमा बतासिएर नेपाल आइपुगेका थिए। उनले परम्पराभन्दा भिन्न शैलीको प्रयोग जीवनमा ल्याए। तिनलाई यहाँ हिप्पी संस्कृतिको नाम दिइएको थियो। उनलाई विदेशी कलाशैली र साहित्य शिल्पसम्म पुग्ने थप माध्यम तिनीहरू पनि बने। पारिजातको जीवनशैली र आफ्नो मानसिक उचाइलाई प्रेम गर्ने शंकरले सदैव ज्ञानमार्गलाई आत्मसात् गरेको पाइन्छ। उनले पारिजातका सन्दर्भमा उठाइएका विवादास्पद कुरामाथि समाजलाई जवाफ दिएका छन् :
यी अर्धपण्डितले मलाई तथा पारिजातलाई एक भिन्न पृष्ठभूमिमा लिए। तर ती जान्दैनन्, पारिजातको समक्ष पुग्नुअघि नै म नांगिसकिएको हुन्छु। मलाई यस्तो अनुभव हुन्छ, ऊ मेरी इम्पल्सहरू वा अझ प्रस्ट भनुँ, मेरो साहित्यिक इम्पल्सहरूकी जन्मदाता हो। उसको मस्तिष्कको गर्भ देखेर म निश्चय पनि हेनरी मिलेर जस्तै सोच्छु। र भन्छु यहाँबाट कति जन्मे होलान् ! र म स्वयं त्यहाँ जन्मेको अनुभव गर्छु। पुन: मलाई लेख्ने प्रवृत्ति जागेर आउँछ। यो यदि पाप हो भने यस्तो पाप जीवनमा रोज गर्ने सौभाग्य मलाई प्राप्त होओस् (लामिछाने, गोधूलि संसार)।
शंकरको जीवनमा घटित उल्लिखित विविधतापूर्ण संघटनाहरू नै उनको निबन्धमा जीवन दर्शनको मौलिक स्रोत भएर आएका देखिन्छन्। उनको बौद्धिक चिन्तनमा जीवनको आत्मपरक अनुभवले यथार्थको नजिक र व्यावहारिक सत्यको नजिक पुर्याउन सहयोग गरेको छ। आफूले गरेका र अरूले आफूप्रति गरेका कैयन् कार्यको नापजोख गर्नु उनको जीवन दर्शन हो। जीवनसँग केन्द्रीय वा परिधीय रूपमा सम्बद्ध रहेका ससाना घटनाहरूलाई समेत चिन्तनको विषयका रूपमा ग्रहण गर्थे उनी। त्यसले उनको जीवन दर्शनको स्वरूप निर्धारण गरेको देखिन्छ। उनको चेतना यसरी दृश्यमा ओर्लेको छ :
उसका आँखा फोर डाइमेन्सन गुणले युक्त छन्। ऊ आफूलाई मनले रुचाएको स्वरूपबाट ट्युनिङ गर्न सक्छ रे ! ...पिता बिरामी हुँदा उसले पिताको मृत्यु र त्यसपछि आफ्नो जीवनको फिल्म स्पष्ट बनाइसकेको थियो। ...उसमा फिल्म निर्माण गर्न चाहिने सबै गुण छ; ऊ राम्रो लेखक, कवि, संवादकार, नायक, निर्देशक र प्रस्तुतकर्ता, सबै हो (रूपरेखा, २०३३)।
व्यक्ति एउटा जीवनमा उल्लिखित विविध पाटाबाट जीवनलाई अनुभव गर्न सक्छ। त्यो अनुभवलाई चिन्तन र तर्कले मथेर बौद्धिकताको उच्च स्वाद दिनसक्छ। त्यसलाई चित्तबुझ्दो गरी बिनासंकोच, बिनाछल र बिनाक्लिष्टता पाठकसामु राखिदिन सक्छ। त्यो साहस आफैंमा दर्शनको अन्तर्विकास हो। अत: भोक्ता शंकर नै स्रष्टा शंकर हुन्, स्रष्टा शंकरमै द्रष्टा शंकर पनि छ र द्रष्टा शंकरभित्र जीवन दर्शनको फराकिलो चौआयामिक दृष्टिकोण छ।