सम्झनामा उसबेलाका निर्वाचन

सम्झनामा उसबेलाका निर्वाचन

भोट खेर जान दिनु हुन्न, जित्नेलाई दिनुपर्छ भन्थे

२०१५ सालको निर्वाचनको परिवेश अहिलेभन्दा एकदमै फरक थियो। अर्कै बेला थियो त्यो। पार्टी पनि थोरै थिए। उम्मेदवार पनि थोरै। निर्वाचनका कर्मचारी काममा खटिँदा घरघरमै बास बस्थे। हामीले पनि घरमै बास बसायौं खाना खुवायौं। इष्टमित्र राजावादी गोर्खा परिषद्तिर लागेका थिए। उनीहरूलाई नेताले पैसा ल्याएका छन्, बाँड्छन् तर नभ्याएर नदिनु भएको होला भनेर लगायौं।

पैसा नदिएको भनेर परिषद्मा भोट हालेनन्। त्यतिबेला पार्टीका नेता चाहिँ इमानदार थिए। जनताले तिनलाई पत्याउँथे। अहिले सबै उम्मेदवारलाई जनताले पत्याउँदैनन्। पार्टी पैसा बाँड्यो र जनताले खाए भने पनि इच्छाअनुसार भोट दिन्थे।

 भैरव रिसाल (९३ वर्ष), काठमाडौं मनप–२९, अनामनगर, काठमाडौं 

राणाकाल सकिएर मुलुकमा प्रजातन्त्र आएको समय थियो। त्यसबेलाको मतदाताको मानसिकता नै ‘निर्वाचन जित्नेलाई मात्र भोट दिनुपर्छ, भोट खेर जान दिनु हुन्न’ भन्ने थियो। त्यसबेला कांग्रेसले जित्यो। कसरी जित्यो भने निर्वाचनको मिति २०१५ फागुन ७ देखि २०१६ वैशाख २१ सम्म भयो। निर्वाचन भएकै ठाउँमा मतगणना पनि भयो। कांग्रेसले जित्यो जुन कुरो प्रचार भयो। त्यसले प्रभाव के पा¥यो भने जित्नेलाई भोट दिनुपर्छ भोट खेर फाल्नु हुन्न भन्ने देशभर आमबुझाइ बन्यो।

त्यसैले कांग्रेसले मत बढी पाएको हो। एकैपटक निर्वाचन भएको थियो भने कांग्रेसले त्यति मत ल्याउँदैनथियो। भोट हाल्न जाँदा काका पर्नेलाई जिस्क्याएँ, कम्युनिस्ट भएर भोट दिनुपर्छ भनें। उनी गोर्खा परिषद्मै भोट दिने मानसिकतामा थिए। मानेनन्। ‘अहिले यसमै दिन्छु अर्को पल्ट जहाँ भने पनि दिन्छु’ काकाको यो उदाहरण किनभने त्यसबेला फकाउँदा मान्छे म कांग्रेस वा म कम्युनिस्ट नै भन्ने अडान थिएन।

बुवा पुरोहित। राजनीतिसँग चासो नभएको मान्छे। त्यसमाथि त्यतिबेला कम्युनिस्टले बूढापाकालाई मार्छ भन्ने बुझाइ थियो। सबै पार्टीका नेता भोट माग्दै आउँथे, बुवाले कम्युनिस्टलाई त भोट दिने कुरै भएन। तुल्सीलाल अमात्य र पुष्पलाल श्रेष्ठ भोट माग्दै गाउँ पस्दा छिमेकमा बास बसेछन्। बुवासँग पनि तिनको कुराकानी भएछ। खै के कुराले चित्तबुझ्यो कुन्नि ? बुवा त ‘म कमिस्टी, कमिस्टीलाई भोट हाल्छु’ भन्दै आउनुभयो। बूढालाई चित्त बुझ्ने गरी सम्झाएछन्। राजा पनि पूर्वाग्रही भए। पार्टी पनि आलाकाचा भए। २०१५ सालको निर्वाचन खेर गयो। कांग्रेस बढी आत्मविश्वासी भयो। भोट मजाले पाएपछि सबै हाम्रा मान्छे भन्ठानेर मक्ख प¥यो। राजाले संसद् विघटन गर्दा कति ठाउँमा त दीपावली नै गरे। २०१९ सालमा पञ्चायती निर्वाचन भयो। पार्टी प्रतिबन्धित भए पनि पञ्चायतलाई नै भोट हाल्ने माहोल बन्यो। तर, पञ्चायतविरोधी मानसिकताले आममानिसले भोट हालेनन्। मैले पनि हालिनँ।

वडाले गाउँ पञ्चायत चुन्ने, गाउँ पञ्चायतले जिल्ला पञ्चायत चुन्ने, जिल्ला पञ्चायतले अञ्चल पञ्चायत अनि अञ्चल पञ्चायतले राष्ट्रिय पञ्चायत चुन्ने काम भयो। भोट माग्ने कामै भएन। एउटा जिल्लामा दुई जना छानिन्थे। दुवैमा लाउनुपर्ने हो। निर्दलीय व्यवस्थामा पनि गोप्य रूपमा दल चलिरहेको थियो। त्यसैले दुईछापे लाउनुपर्ने भोट एउटा मात्र लाउने चलन भयो। फटाइ गर्ने चलन आयो। पञ्चायतकालमा अलिअलि विकास हुँदै गयो। २०३६ सालमा जनमतसंग्रह अलि खुकुलो भयो। प्रतिबन्धित पार्टीहरूले पनि निर्वाचन लड्न पाए। त्यसबेला अलि प्रजातन्त्रिक समय थियो। मैले नि भोट दिएँ। परिणाम घोषणा चाहिँ जिल्लाजिल्लामा फरक भयो। मतदान चाहिँ एकै दिन भयो। बहुदलले जित्छ भन्ने थियो। 

भोट भइसकेपछि समय रह्यो भने त्यहीँ मतगणना हुन्थ्यो। नत्र जिल्ला लगिन्थ्यो। बाँसको ढुंग्रोमा लगाएको मतलाई गणना गर्ने बेलामा भने सबैलाई देखाएर फुटाइन्थ्यो। 

तर, राजाले ज्योतिष प्रयोग गरेर निर्दलले जित्छ भन्न लाएर फट्याइँ गरे। निर्दलमा व्यापार गर्न र पैसा कमाउन सकिने भएर होला राजपरिवारलाई बहुदल मन परेको रहेनछ। ज्योतिषलाई प्रयोग गरेर ‘यति मतले निर्दलले जित्छ’ भनेर निर्वाचनअघि होहल्ला फैलाए। राजाले भनेकाले पत्याउँथे। बहुदलवाला बीपी कोइराला र मनमोहन अधिकारीले भाषण गर्थे। जनताको पक्षमा बोल्थे। पञ्चायतले जनताको विपक्षमा बोल्थ्यो। जनमतमा निर्दल वा बहुदलमा भोट हाल्ने भन्ने थियो। निर्वाचनमा बढी मान्छेले भाग लिन्थे त्यसबेला। निर्दल चित्त बुझेन मलाई। बहुदललाई जिताउन कोसिस गरें। भक्तपुरमा बहुदलले जित्यो। फट्याइँ गर्न झन् अप्ठ्यारो तर विभिन्न दाउपेच गरे। मतगणनामा झन्झट गर्ने काम भयो, धाँधली गर्न रहेछ। साम, दाम, दण्ड, भेद सबै अँगाले। अन्ततः राजाले जिते, जनता हारे। अचेल नेता ठाडै ढाँट्छन् ।

उम्मेदवारहरू नाताका र पैसावाल हुँदैनथे

२०१५ सालमा पहिलो संसदीय निर्वाचन हुँदा २४ वर्षको थिएँ। निर्वाचन राणाविरुद्ध र प्रजातन्त्र केन्द्रित थियो। हामी युवा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा थियौं। ठुल्दाइ होमनाथ प्रजातान्त्रिक आन्दोलनको मोर्चामा हुनुहुन्थ्यो। त्यसैको प्रभावमा म पनि राणाविरोधी आन्दोलन र प्रजातन्त्रको पक्षमा लागेको थिएँ। त्यतिबेला अहिले जस्तो उम्मेदवार चयन गर्दा नातावाद र पैसावाल खोजिँदैनथियो। आन्दोलनले जन्माएका युवा जनताको घरदैलो गएर विचार राख्न सक्थे। तिनै युवालाई प्रतिबन्धित पार्टीहरूले उम्मेदवार चुन्थे। त्यो निर्वाचन गोर्खा परिषद् र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा थियो। 

– अग्निलाल बराल (९८ वर्ष), पोखरा ७ नुवारथोक, कास्की

कास्कीबाट नेपाली कांग्रेसका मीनबहादुर गुरुङ उठेका थिए। उनैले निर्वाचन जिते। त्यतिबेला पोखराको जनसंख्या र मतदान केन्द्र नै थोरै थियो। पोखरा— ७ नुवारथोकको मान्छे पोखरा—५ मालेपाटनको वाराही स्कुलमा गएर मतदान गरें। कास्कीमा एक मात्र सांसद चयन गर्नुपथ्र्यो। अहिले तीन जना संघीय सांसद छन्। निर्वाचनमा कुनै अशान्ति भएन। विभिन्न चरणका आन्दोलनबाट राणाशासन ढल्यो। राजा फालिए, प्रजातन्त्र हुँदै गणतन्त्र आयो। अचेल निर्वाचनमा विकृति भित्रिएको देखिरहेको छु। यो ऊ पार्टी भन्ने नै छैन सबैमा उस्तै प्रवृत्ति छ, धेरथोर मात्र हो। जनताका दुःख बुझेको मात्र होइन त्यसैअनुसार काम गर्न सक्ने सक्षम उम्मेदवार खोजी हुनुपर्ने हो। पार्टीमा निरन्तर लागेकै भित्रबाट उम्मेदवार खोजिनुपर्छ। आन्दोलनले प्रजातन्त्र, गणतन्त्र पायो तर पनि जनताको मन जित्ने नेतृत्व देशले पाएन। अहिलेको अवस्था झन् निराशलाग्दो छ। निर्वाचनमा जित्नैकै लागि पैसा भएकालाई पार्टीमा प्रवेश गराउने र उम्मेदवार बनाउने चलन सबै पार्टीमा छ।

बाँसको ढुंग्रोमा भोट खसाल्थ्यौं

पहिलोपटक २०२६ सालमा उपप्रधानपञ्चमा निर्वाचित भएँ। त्यतिबेला निर्वाचन लड्दा अहिलेको जस्तो खर्च गर्नु पर्दैनथ्यो। मैले त्यतिबेला जितेपछि चाहिँ एउटा खसी काटेर गाउँलेलाई खुवाएँ। अचेल पो मान्छेहरू धेरै पैसा खर्च गर्छन् त। हामीले निर्वाचनमा उम्मेदवार बन्न चाहिँ गाउँलेसँग सल्लाह गथ्र्यौं। निर्वाचन भनेपछि सबैजना भेला भएर भोट दिने चलन थियो। सबैजनाको उपस्थिति हुन्थ्यो। निर्वाचन गराउन जिल्लाबाटै आउँथे। भालुबाँसको ढुंग्रो काट्थ्यौं। त्यसैमा सानो दुलो बनाएर भोट खसाल्थ्यौं। 

– हर्कजंग घिसिङ (९८ वर्ष), फुङ्लिङ–८ ताप्लेजुङ

बाँसको ढुंग्रोमा झन्डै एक सय भोट अट्थ्यो। मतदानका लागि मान्द्रोले बेरेर बुथ बनाउने गरिन्थ्यो।भोटको दिन उम्मेदवारलाई समयसमयमा बाँसको ढुंग्रो हेर्न दिइन्थ्यो। तर, पुलिससँग जानुपथ्र्यो। अन्तिममा भोट भइसकेपछि समय रह्यो भने त्यहीँ मतगणना हुन्थ्यो। नत्र जिल्ला लगिन्थ्यो। बाँसको ढुंग्रोमा लगाएको मतलाई गणना गर्ने बेलामा भने सबैलाई देखाएर फुटाइन्थ्यो। मतदानमा पुरुष महिला दुवैको सहभागिता हुन्थ्यो। त्यतिबेला वडा र अञ्चल छुट्टिएको थिएन। अब ९८ वर्षको भैयो बाँचिएकै छ। हिँड्नु नसके पनि गाडी आएको नै छ। हिँड्न सक्दिनँ भन्न पनि पाइएन। एउटा भोट त दिनुपर्ला हो। भोट चाहिँ पक्षपात नगर्ने, छलढाँट नगर्नेलाई नै दिनुपर्ला। उहिलेको जस्तो समाजसेवा गर्दैनन् अहिले।

हामी त जितेर पनि बस्ने कुर्सीको त के कुरा पिरासमेत हुँदैनथ्यो। हामी आफैं काठको पिरा बनाएर बस्थ्यौं। अहिले त सबैलाई गाडी चाहिएको छ। मान्छेहरू पनि सबै स्वार्थी भए। भोट दिन पनि बोलाउनुपर्ने। कताकता भको आफन्तलाई पनि टिकट काटेर भए पनि भोट हाल्न ल्याउने भन्छन्। तर सबैले सही ढंगमा विकास गर्ने, निष्पक्ष दुष्कर्म नगर्ने व्यक्तिलाई भोट दिनुपर्छ। अहिले जस्तै उहिले पनि उम्मेदवार त धेरै नै हुन्थे। तर महिलाहरू उम्मेदवार चाहिँ हुँदैनथे। पछि नापी पछाडि मात्रै महिला उम्मेदवार हुन थाले। त्योभन्दा अघि महिला त निर्वाचन नै लड्दैनथे।

एकहाथको घुम्टो गरेर भोट हाल्न जान्थें

भारतको बिहार राज्यको सहसराम मेरो माइत हो। निकै सानो उमेरमा बिहे भयो। हामी मुसहरहरूको बच्चा उमेरमै बिहे हुन्छ। बिहे हुँदा मेरो उमेर १३ वर्ष जति थियो होला, श्रीमान् १५। पछि घरमै ठूलो हुँदै गएपछि निर्वाचन, निर्वाचन जस्ता कुराहरू सुनें। २०४९ सालतिरको कुरा होला गाउँ विकास समिति, नगरपालिकाहरूको निर्वाचन थियो। त्यो बेला राजाको शासन थियो। निर्वाचनमा भोट हाल्नुपर्छ भनेर हाम्रो बस्तीहरूमा पनि खुब चर्चा हुन्थ्यो।

– शनिश्चरीदेवी सदा (८५ वर्ष), जनकपुरधाम उपमहानगरपालिका–४, धनुषा

पहिलो पटक राम्ररी निर्वाचन बुझेको पनि त्यही बेला हो मैले। त्यसअघि मेरो नेपाली नागरिकता पनि थिएन। पछि ससुराहरूले नागरिकता बनाउन लगाए। त्यत्तिखेर कुन कुन पार्टीहरू थिए कुन्नि ? कसकसले निर्वाचन लडेका थिए त्यो पनि खासै याद छैन। हामी त घरकोे बुहारी थियौं। झन् म पढेलेखेको पनि छैन। मेरो श्रीमान् पनि अनपढ नै हुन्। हाम्रो समाजमा छोरीबुहारीहरू पढ्ने खासै हुँदैनन्। मर्दहरू पनि त अहिले आएर पढ्न थालेका हुन्। अहिले त छोरीबुहारीहरू अलिअलि पढ्ने भएका छन्। घर बाहिर, हाट बजार जाने पनि छन्। तर, हाम्रो पालामा त्यस्तो थिएन। ससुरा, जेठाजु र घरका पुरुषहरूकै शासनमा बस्नुपर्ने हुन्थ्यो।

बुहारी भएपछि झन् घरको ढोकामा पनि बिनाघुम्टो जान नहुने थियो। अनि भोटको बेला आउँदा घरमा भोट माग्न आउने नेताहरू घरका पुरुष सदस्यसँगै कुरा गर्थे। पछि घरबाट जहाँ भोट हाल्न भन्यो मैले पनि त्यहीं भोट हालें।

पहिलो पटक यत्रो एक हातको घुम्टो तानेर श्रीमान्सँग भोट हाल्न गएको थिएँ। त्यत्ति बेला त्यो मतपत्रमा राम्ररी भोट हाले कि हालिनँ त्यो पनि याद छैन। पछि त थुप्रै निर्वाचनमा भोट हालेको छु। यसअघि २०७४ मा पनि यो वार्डहरू, नगरपालिकाहरूको प्रमुखका लागि निर्वाचन हुँदा भोट खसाएँ। तर, यतिका उमेरसम्म भोट हाल्दा पनि खाली नेताहरू मोटाएका छन्। हामी त उस्ताको उस्तै। गरिब, दलितहरूलाई हेर्ने कोही सरकार आएको छैन।

कटुवालले हाँक हालेजस्तै गरी गाउँमाथिको डाँडाबाट भोट हाल्ने है भन्दै चिच्याउँथे। बुवाले जेमा भन्नुभयो, त्यहीँ भोट हाल्यौं। निर्वाचन कस्तो हुन्छ भन्ने हेर्नकै लागि मान्छेहरू थुप्रिन्थे।

नेता फेरिन्छन्। आज एउटा त भोलि अर्को आउँछ। जितेर गएपछि मुख पनि देखाउँदैन्। अहिले निर्वाचन लागेको छ। दिनरात हात जोरेर मान्छेहरू घरघर पस्छन्। म त चुपचाप सबैको कुरा सुनिरहेको हुन्छु। यस्तो कुराहरू कति सुन्यो यो कानले। तर, भोट नहाल्दासम्म मात्रै हो, हामीलाई सोधपुछ गरेको पछि त्यो पनि हुँदैन।म यति बूढो भइसके पनि वृद्धाभत्ता पाउन सकेको छैन। कहिले के कागज नमिलेको कहिले के नमिलेको भन्छन्। अनि पेन्सन दिलाउन कसैले सहयोग गरिदिँदैनन्। बिरामी परे भने कसैले एकसुको दिँदैन तर भोट माग्न सब आउँछन्।


डाँडाबाट भोट हाल्ने है भन्दै चिच्याउँथे

२००८ सालमा लाहुर पसें। लाहुर गएर जागिर गरिरहेको थिएँ। त्यसपछि दुई÷तीन पटक घर फर्किए हुँला। २०१५ सालमा निर्वाचन हुने भयो भन्ने खबर उहीँ (भारत) मै थाहा पायौं। निर्वाचनमा घर जानुपर्छ भन्दै काकाहरूले भन्नुभयो। फागुनमा निर्वाचन हुन्छ भन्ने खबरले हामी पनि पहिलो पटक भोट हाल्न घर (नेपाल) फर्कियौं।

अर्घाखाँचीको धरमपानी (बामरुक) मा दाजुभाइको बाक्लो बस्ती छ। निर्वाचनमा भोट हाल्न पाइन्छ भन्ने कुराले खुसी थियौं। २१ वर्ष पुगेकाले मात्रै त्यतिबेला भोट खसाल्न पाइन्थ्यो। मतदाता परिचयपत्र त केही थिएन। चेकजाँच गर्नेले कति वर्षका भयौं भनेर सोध्थे। २१ वर्ष पुगे भन्नेले भोट हाल्न पाउँथे।

– टीकाराम उपाध्याय (८८ वर्ष), बुटवल उपमहानगरपालिका–१४, सेमलार, रूपन्देही

भोट हाल्ने के मा ? भन्दा ‘लालटिन’मा भनेजस्तै लाग्छ। ठ्याक्कै के चिह्नमा भोट हानियो सम्झना छैन। अहिलेजस्तो लहरै धेरै चिह्न त्यतिबेला थिएनन्। मान्छे भने लाइन लागेरै बसेर भोट हाल्नुपथ्र्याे। रसी (पाटाको डोरी) टाँगेर लाइन लाग्ने ठाउँ बनाएका हुन्थे। ठाँटिएर कुर्चीमा बसेकाहरूले उमेर सोध्थे। सर्कारी कर्मचारी होलान् उनीहरू। हामीले उमेर भन्दै भोट हाल्दै गथ्र्याैं। निर्वाचन सुरु भएको धेरै दिनपछि हाम्रो पालो आएको थियो। भोट हाल्ने स्थान भने अरूले देख्न नसक्ने थिए। पुलिसहरू भने देखिन्नथे। मान्छेहरू भोट माग्न आएको मलाई याद छैन। सायद आएनन् होला। कि हामी लाहुरबाट नफर्किंदै आए कि ?
कटुवालले हाँक हालेजस्तै गरी गाउँमाथिको डाँडाबाट भोट हाल्ने है भन्दै चिच्याउँथे। हामी त केटाकेटी बुद्धिकै थियौं। बुवाले जे भन्नुभयो, त्यहीँ भोट हाल्यौं। त्यतिबेला कसले जित्यो भन्ने पनि सम्झना छैन। निर्वाचन कस्तो हुन्छ भन्ने हेर्नकै लागि मान्छेहरू थुप्रिन्थे।

निर्वाचनअघि निर्वाचन गरेजस्तो नाटक गरेका थिए रे। हामीले त त्यो पनि देख्न पाएनौं। भोट कसरी हाल्ने भनेर सिकाएका होलान्। भारतको इन्टलिजेन्समा काम गर्न थालें। बीचका निर्वाचनको धेरै ख्याल छैन। एकैचोटी २०४८ सालमा अर्काे निर्वाचन भयो क्यारे। त्यतिबेला त मान्छेहरू झन्डा बोकेर भोट माग्नै आएका देखिन्थे। निर्वाचन चिह्न अलि धेरै देखिए। त्यसपछि २०६४ मा भोट दिएँ। बीचका निर्वाचनमा आउन सकिएन। त्यतिबेला त मान्छे घरमै आएर ढोगेरै भोट माग्न थालेका थिए। म बूढो भएर पनि होला, कानमै आएर चिच्याउँथे। आशीर्वाद दिनुस् भन्थे।

२०७४ मा गाउँको निर्वाचनमा बुहारी लडेकी थिइन् तर मत पुगेनछ हारिन्। अहिले त आफैं भोट दिन सक्दिनँ। हात काप्छन्। छोराबुहारीले भोट हाल्ने स्थानमा लान्छन्। भोट दिएपछि सुविधा हुन्छ भन्थे उहिले। अहिले पनि त्यही सुनाउँछन्। २०२४ सालमा तराई झरेपछि यतै बसेका छौं। भोट पनि यतै हालियो। अहिले बाटा पिच भएका छन्। घरमा धारा आउँछन। सुविस्तै छ। हामी बूढाबूढीले भत्ता पाएका छौं। अहिले पनि बा 
आशीर्वाद दिनुस् भन्दै भोट माग्न आउन थालेका छन्। म त चिन्दिनँ। झन्डा बोकेर आउँछन्।

विरोध हुन्थ्यो तर पनि भोट सबैको सल्लाहमै हाल्थ्यौं

दाङको सोनपुरमा निर्वाचनको चर्चा चल्यो। हामी २९÷३० वर्षका अल्लारे थियौं। गाउँमा मान्छेहरू आउने जाने गर्थे। चौघार पूर्वको लक्ष्मणपुर पञ्चायतमा निर्वाचन हुने सुनेका थियौं। एकपटक गाउँको दोहोरु भन्ने ठालुको घरमा सबैलाई जम्मा हुन हाँक आयो। अहिले बडघर भनिने त्यतिबेलाका महतवाले दोहोरुको घरमा जम्मा हुन आदेश दिए। हामी सबै भेला भयौं। यस्तो तीन पटकसम्म भयो। फरकफरक नेता आउँदा रहेछन्। नेता आउँदा गाउँमा महतवाले गाउँलेलाई भेला गर्थे।

नेताले यो राम्रो, त्यो फटाहा हो जस्ता कुरा गर्थे। हामीलाई त्यो अनौठो लाग्थ्यो। दोहोरुले एक दिन सबै गाउँलेलाई जम्मा गर्दै गाउँमा ठूला नेता आउने खबर सुनायो। दुई दिनसम्म जंगल गएर ल्याएको घाँस र स्याउला लगाएर बाटोमा गेट बनाएका थियौं। गेट बनाउन गाउँलेहरू सबै लागे। त्यही बाटो भएर केही दलबलसहित एक नेता आए। गाउँमा सबै मान्छे जम्मा भए। रातमा छलफल भयो। गाउँमा पहिलो पटक आएका ती नेताले भाषण गरे। उनले के भने याद छैन, तर उनको नाम परशुराम थारू रहेछ।

– तौला डगौरा थारू (९३ वर्ष), टीकापुर नगरपालिका–१, बनगाउँ, कैलाली

नेपाली कांग्रेसका नेता रहेछन् थारू। उनको ठूलो स्वागत भयो। उनले नै रुखमा भोट हाल्न सबै गाउँलेलाई भने। ती नेता गएपछि अर्को दिन फेरि महतवा घरमा सबै गाउँले जम्मा भयौं। वादविवाद भयो। को राम्रो को नराम्रो ? भनेर आपसमा छलफल भयो। पहिलो पटक भोट हालेकोले निकै खुसी लागेको थियो। मान्छे कम हुन्थे, अहिलेजस्तो धेरै पार्टी नभएकाले प्रचारप्रसारबारे त्यति धेरै हुन्थेन। निर्वाचनको दिन गाउँका सबै गयौं। लाइन लाग्यौं, अगाडि बसेको अलि बूढो मान्छेले एउटा कागज दियो। केही परतिर छाप र सानासाना डब्बा थिए। छाप लगाएर त्यसमै राखेको याद आउँछ। 

साँझ परेपछि महतवाले सबैलाई घर फर्काए। माथि पहाडी बस्ती थियो। तल थारू गाउँ। त्यो बेला थारु गाउँ बलियो थियो। एउटै महतवाको कुरा पूरै गाउँले मान्नु पथ्र्यो। छलफलमा कतिपयले विरोध पनि गर्थे तर भोट सबैको सल्लाहमै हाल्थे। अहिले धेरै नेता भएकाले गाउँ बिग्रिएको हो कि जस्तो पनि लाग्छ। सबै मिलेर एक भए पो गाउँमा विकास हुन्थ्यो। घरघरमा नेता छन्। अब भोट हाल्न खासै जाँगर छैन। खासै विकास पनि भएको जस्तो लाग्दैन।

- गोपीकृष्ण ढुंगाना/काठमाडौं, कृष्णमणि बराल/पोखरा, लक्ष्मण पोखरेल/बुटवल, मनिका झा/जनकपुरधाम, परमानन्द पाण्डे/टीकापुर, बसन्त लिम्बू/ताप्लेजुङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.