एमालेको पोखरा घोषणापत्र : मोनोरेल र मेट्रोरेल चलाउन सम्भाव्यता अध्ययन गर्ने (पूर्ण पाठ)
पोखरा : स्थानीय निर्वाचन लक्ष्य गरी नेकपा एमालेले पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ लगायतले शनिबार घोषणापत्र सार्वजनिक गरे।
एमालेले घोषणापत्रमा पोखरामा मेट्रो रेल चलाउन सम्भाव्यता अघि बढाउने योजना राखेको छ। ‘पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नको लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘पोखरा महानगरभित्र प्रदूषणलाई न्युनीकरण गर्ने उद्देश्यले विद्युतीय सवारी साधन सञ्चालन गर्नको लागि सहजीकरण गर्दै महानगरकै स्वामित्वमा विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसनको व्यवस्था गरिनेछ। महानगरभित्र निर्माण गरिने भौतिक पूर्वाधारहरु अपाङ्मैत्री बनाइनेछ।’
आगामी तीन वर्षभित्र जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापना गर्ने योजना एमालेले अघि सारेको छ। ‘नगर प्रमुखको संयोजनमा महानगरभित्र एउटा सामाजिक सेवा प्रदायक संयन्त्र गठन गरी संघ तथा प्रदेशसँगको सहकार्यमा सडक, खानेपानी, बिजुली, दूरसञ्चार, फोहोर व्यवस्थापन, ढल निकास आदिको एकीकृत सेवा र सुविधा प्रदान गरिनेछ,’ एमाले घोषणापत्रमा भनिएको छ।
सहरका विभिन्न स्थानमा आवश्यकताअनुसार बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन गरिने एमाले घोषणापत्रमा उल्लेख गरेको छ।
‘सहरी सुरक्षा जोखिम न्यून गर्न मुख्य सहरी क्षेत्रभित्रका टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गरिने छ भने बिजुलीका तारहरुलाई अन्डरग्राउन्डेड गर्ने गरी सुरु गरिएको कामलाई द्रुतगतिका साथ अगाडि बढाइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘महानगरमा पर्ने मध्य पहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला- भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गरिने छ।