धुर्कोटमा एमाले र माओवादीको अघोषित तालमेल
गुल्मी : गुल्मीको धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रबीच अघोषित चुनावी तालमेल भएको छ। स्थानीय तहको अध्यक्ष पदका लागि एमालेले उम्मेदवारी फिर्ता लिएको छ। एमालेले अध्यक्ष र माओवादीले उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएसंगै धुर्कोटमा एमाले र माओवादीबीचको अघोषित तालमेल भएको स्पष्ट भएको छ।
नेकपा एमालेबाट अध्यक्ष पदका लागि गोपाल कुवँरले मनोनयन दर्ता गराएका थिए। उनले शुक्रबार एमालेबाट दिएको अध्यक्ष पदको मनोनयन फिर्ता लिएका छन्। एमालेबाट उपाध्यक्ष पदका लागि सिता गिरीले उम्मेदवारी दिएकी छन्।
यस्तै माओवादी केन्द्रले पनि उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी धमकला पोखरेलले पनि शुक्रबारनै उम्मेदवारी फिर्ता लिएकी छिन्। माओवादी केन्द्रबाट अध्यक्ष पदमा भुपाल पोखरेलले उम्मेदवारी दिएका छन्।