नवलपरासीमा बागी उम्मेदवारको साँठगाँठ
परासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका बागी उमेदवारले साँठगाँठ गरेर चुनावी प्रचारमा लागेका छन्। अध्यक्ष पदका राधेश्याम चौधरी र उपाध्यक्ष पदका प्रदिपकुमार अग्रहरीले नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उमेदवारी दिएका हुन्।
कांग्रेसका जिल्ला सदस्यसमेत रहेका अध्यक्ष चौधरी निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षका उमेदवार अग्रहरी कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन्। चुनाव प्रचार प्रसार र मतदाताहरुसँग मत माग्नका लागि सहज हुने भन्दै उनीहरु दुबैले खानेपानीको ‘धारा’ चुनाव चिन्ह लिएका छन्। चुनाव जितेपछि गाउँपालिकाका सबै घरमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्घोषका साथ ‘धारा’ चिन्ह रोजेको उनीहरुको भनाई छ।
चौधरी र अग्रहरी दुवै जना अध्यक्षका आकांक्षी थिए। पार्टीले टिकट नदिएपछि उनीहरु सल्लाह गरेर पद बाँडफाँड गरेर बागी उठेको बताइएको छ। कांग्रेसले अध्यक्षमा पार्टी जिल्ला उपसभापति अनिल कुमार गौंड र उत्तमा रायलाई उपाध्यक्षको उमेदवार उठाएको छ। कांग्रेसकी जिल्ला कोषाध्यक्षसमेत रहेकी रायलाई फेरि उपाध्यक्षमै दोहोराइएको हो।