माओवादीका निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश
उदयपुर : उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। पार्टीले टिकट वितरणमा नातावाद कृपावाद, गुटगत प्रवृति हावी हुँदै गएको भन्दै चरम असन्तुष्ट पोख्दै आएका वडानम्बर २ का वडाध्यक्ष भविन्द्र राई र महिला नेतृ गंगा राई एमालेमा प्रवेश गरेका हुन्। वडाध्यक्ष राई गाउँपालिका कमिटीका सचिवालय सदस्य हुन् भने महिला नेतृ राई सकृय कार्यकर्ता हुन् ।
उनलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी, प्रदेश कमिटी सचिवालयद्धय सदस्य बेदप्रसाद पोखरेल, अम्बरबहादु रायमाझी, देवराज राई, गाउँपालिका कमिटीका अध्यक्ष भलराज राई, पालिका अध्यक्षका उम्मेदवार राजकुमार राईलगायतले स्वागत गरेका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ताम्लिछामा निकै लोकपृय मत लिएर वडाध्यक्ष बनेका राई पुनः वडाध्यक्ष पदकै आकांक्षी थिए। एमालेमा प्रवेश गरेका राईले निर्वाचित भएयता निकै राम्रा कामहरु गरेका थिए।
जनतासँग रिझाउने काम गर्दा गर्दै अन्तिममा आएर नातावाद कृपावाद र गुटगत हावी हुँदा आफूलाई पार्टीले अन्याय गरेको उनले बताए। एमालेमा प्रवेश गराउँदै पोलिटव्युरो सदस्य चौधरीले नेकपा माओबादी सिद्धान्त र विचारले स्खलित हुँदै गएकाले एमाले प्रति जनताको आकर्षण बढ्दै गएको बताए। उनले मुलुकको विकास एमालेबाट मात्र सम्भंव भएकाले गोलबन्दि हुन् आग्रह गरिन्।