धुर्कोटमा एमाले माओवादीबीच लिखित तालमेल
गुल्मी : धुर्कोट गाउँपालिका गुल्मीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच लिखित रुपमै चुनावी तालमेल भएको छ। संयूक्त प्रेस विज्ञप्ती सार्वजनिक गरी चुनावी तालमेल गरिएको दुवै दलले जानकारी गराएका छन्।
नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष र एमालेलाई उपाध्यक्ष दिने सहमती भएको छ। अध्यक्षमा पूनः माओवादीका भूपालसिँह पोखरेल उम्मेदवार छन् भने एमालेबाट सिता गिरी उपाध्यक्ष उम्मेदवार छिन्। सात वटै वडामा सूर्य चिन्हबाट चुनाव लड्ने सहमती भएको छ।
मुलुकलाई समृद्धको बाटोमा लैजानका लागि बामपन्थी एकताको अपरिहार्य भएकाले बामशक्तिबीच तालमेल गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ। धुर्कोटलाई नेपालकै नमुना गाउँपालिका बनाउने समेत विज्ञप्तीमा उल्लेख छ।
चरणचरणमा भएका विभिन्न छलफलले निष्कर्ष निकाल्न नसकेपछि अन्ततः एमाले र माओवादीबीच तालमेल भएको हो। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा समाजवादीको छुट्टै गठबन्धन भएको छ।