राष्ट्र बैंकद्वारा क्रेडिट कार्ड प्रयोगमा कडाइ
काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोगमा कडाइ गरेको छ। प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो।
सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन। तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न पाइन्छ। यस्तो सीमा हुँदाहुँदै पनि क्रेडिट कार्ड प्रयोगकर्ताले सतप्रतिशत नगद झिक्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न कडाइ गरेको हो।
ग्राहकहरुले कार्डको रकम वालेटमा लोड गर्दै आफ्नै बैंक खातामा पठाउने गरेको पाइएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७८ संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको छ।
क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवा विद्युतीय भुक्तानीका लागिमात्र प्रयोग गर्नुपर्ने छ। उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने जारी विज्ञप्तिमा भनिएको छ।