अन्न दान, प्राण दान

अन्न दान, प्राण दान

शुष्क कण्ठमा मेलम्चीको सर्वत, उर्फ सर्वत पानी पिउने मौलिक संस्कृतिको पर्व घरआँगनमा आएको छ। आज वैशाख २० गते, परशुराम जयन्ती पनि। संस्कृतको श्लोकअनुसार अपूर्व पुण्य प्राप्त गर्ने दिन हो अक्षय तृतीया। यस दिनलाई शिव पार्वतीको बिहेको दिनको रूपमा लिइन्छ। ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रूपमा समेत हेरिन्छ। अक्षय तृतीयालाई त्रेतायुग आरम्भको दिन मानिन्छ। हिन्दू धर्मसंस्कृतिमा यस दिनलाई विशेष पर्वको रूपमा मान्ने चलन छ। वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएका साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुन्छ। त्यसैले अक्षय तृतीया भनिएको हो।

यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुन्छ। ब्रह्मा, विष्णु, महेश्वर तीनै देवता प्रसन्न रहन्छन्। यस्तै मिश्रित अन्न, जल, घडा दानले स्वर्गीय पितृहरू बढी खुसी रहन्छन्। दातालाई अक्षय पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ। जौको सातु अनि सर्वत पानीको विशेष महत्त्व रहेको यसदिन श्रीविष्णुको विशेष पूजा हुन्छ। सार्वजनिक कार्य, दान, होम, जप, तप, योग, पूजा आदि सत्कर्म गरेर अक्षय पुण्य प्राप्ति गर्न चाहनेले वसन्त ऋतुको यस पर्वलाई बढी रुचाउँछन्। अक्षय तृतीयाको महत्त्वका बारेमा मत्स्यपुराणमा धेरै चर्चा गरिएको छ। वैशाख मासका सबै दिन पावन छन्, विशेष दिनको रूपमा यसलाई लिइएको छ।

ईश्वरीय विधानमा सबै ऋतु समान छन्। तथापि शुष्क कण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौ, सात्तु सेवन गरिन्छ। जसले शरीरलाई निरोगी राख्न यस पर्वले प्रेरित गर्छ। उखरमाउलो गर्मी होस् वा अति चिसो वातावरण, तन र मन सन्तुलन हुन कठिन हुन्छ। वसन्त ऋतुमा पर्ने विभिन्न चाडपर्वले ती सबैको सन्तुलन ल्याउन सहयोग गर्छन्। ऋतुमध्ये वसन्त एवं शरद ऋतुलाई काव्यकारहरूले विशेष प्राथमिकता दिएका छन्। शरदको उल्लास पूmलहरूको सजावट र वसन्तको उल्लास पल्लवीहरूको उद्गार हुन्छ। तिनले नवजीवन, नवीन उत्साह, नवीनतम ऊर्जाबाट मानवजीवन परिपूर्णतम बन्न प्रेरित गर्छन्। जीवनको उद्देश्य सिर्जना र संरक्षण पनि हो।

पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ। स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ। स्वस्थ र सन्तुलित सभ्य नागरिक समाजबाट देश प्रेम, ईश्वरीय चिन्तनसमेत हुन पुग्छ। अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीय दर्शनले परोपकारको अक्षुष्णतालाई संकेत गरेको छ। समयमा रहेका धार्मिकजनहरू, साधु, सन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्मालाई आफ्नो सेवाबाट, समयबाट, श्रमबाट, दानबाट खुसी गराउनुपर्ने कुरा दर्शनशास्त्रमा छ। मानवजीवन भन्नु परोपकारको लागि हो।

दानमध्ये अन्न दान प्राण दानसरह हो। सबै प्राणी जल, अन्न र वायुमा निहित छन्। वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ। हाम्रो मुलुक कृषिप्रधान मुलुक हो। प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ। तिल, जौद्वारा भगवान्को पूजा हुने गर्छ। जौ, गहँुलाई शीतलताको प्रतीक मानिन्छ। अस्पतालका बिरामीहरूलाई जौ, चनाको सातु खान प्रेरित गरिन्छ। रोग निरोधक शक्ति भएको, पाचनमा सजिलो भएको जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका बिकारहरू सजिलै निष्कासन हुन्छ। रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुने गर्छ। शरीरमा मलभित्र रहन पाउँदैन। प्रदूषित वस्तुहरू तुरुन्तै बाहिर निष्कासन हुन्छ। यस अर्थमा जौ, गहुँ, मकैका च्याख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ।

अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्त्व छ। सम्पूर्ण सृष्टि जलमै भएको हो। संरक्षण पनि जलसहितको भूमिमा हुन्छ। जलबिना अन्नको पनि सिर्जना हुँदैन। जललाई जीवन भनिएको छ। जलदान भन्नु जीवनदान नै हो। अक्षय तृतीयाको दिन जलदानको संकेतले मानव जातिले हरदिन पानीलाई पवित्र राख्नुपर्ने बोध गराउँछ। जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घिउ, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तीको प्रतीक जुत्ता दानले सम्पूर्ण जीवन र जीवन संरक्षण एवं यी वस्तुहरू अरूको हितमा प्रयोग गर्न संकेत प्राप्त हुन्छ। यो निस्वार्थ दान हो।

मनुस्मृति, विष्णुधर्मोत्तर ग्रन्थ, विष्णुपुराण, गीताजस्ता पावन ग्रन्थ एवं महाभारत आदि ग्रन्थले जीवन दानका बारेमा विशद् चर्चा गरेका छन्। अक्षय तृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै। पारलौकिक पुण्यात्मा पितृहरू पनि खुसी हुन्छन्, तृप्त हुन्छन्। अक्षय तृतीयालाई परशुराम जयन्तीका रूपमा पनि मानिन्छ। परशुराम अष्टचिरञ्जीवीमध्ये एक हुन्। वर्षवृद्धि हुने दिन जन्मोत्सव पर्वहरूमा आयु र आरोग्य वृद्धि गर्न अष्ट चिरञ्जीवीलाई विशेष आराधना गर्ने चलन छ। परशुरामलाई श्रीविष्णुको १० अवतारमध्ये छैटौं अवतारमा लिइएको छ। भारतका चारधाममध्ये बद्रीनाथधामको ढोका अक्षय तृतीयाकै दिनदेखि खुल्ने गर्छ।

नेपालमा अक्षय तृतीयाका दिन पशुपति क्षेत्र, बूढानीलकण्ठ क्षेत्र तथा अन्य धेरै मठमन्दिरमा विशेष पर्व, पूजा, मेला, जात्रा हुने गरेको छ। काठमाडौं उपत्यका, ललितपुर क्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरूलाई सक्खरपानी यसैदिन वितरण गर्ने चलन छ। मत्स्येन्द्रनाथ देवता सहकालका रूपमा चिनिन्छन्। अन्नबाली संरक्षणका रूपमा पनि चिनिन्छन्। बिरामीहरू खासगरी उच्च रक्तचाप र मधुमेहका लागि जौ र यसका परिकार विशेष खानाका रूपमा लिइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.