उम्मेदवार हात जोड्दै घर-घरमा : 'नमस्ते फर्काउन भ्याउँदै हुनुहुन्छ कि नाइँ ?'
इलाम : ‘आज छुट्टीको दिन, साथीहरु नमस्ते फर्काउन भ्याउँदै हुनुहुन्छ कि नाइँ ?’ मंगलबारको बिदा सदुपयोग गर्दै सूर्यादय नगरपालिका ११ का भवानी आधारभुत विद्यालयकी प्रधानअध्यापक रचना देवानले निर्वाचन केन्द्रित व्यङ्ग सामाजिक सञ्जालमा पोष्ट गरिन्। जवाफमा धेरैले उनकै लयमा उम्मेदवारहरुलाई गिज्याए।
देवानले भने जस्तै अहिले गाउँमा जनताको घरघरमा उम्मेदवारको लर्को लागेको छ। कोभिड १९ को त्रास पछि गाउँमा दसैं आए जस्तै भएको ठान्छन् मतदाताहरु। ‘गाउँ पुग्दा जनताका मनमा विकासको आशा पाएँ।’, माईजोगमाई गाउँपालिका ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुरेश भट्टराईले सुनाए,‘घरमै पुग्ने सडक होस्, आधारभुत स्वास्य, शिक्षाको आवश्यकता पूरा होस् भन्ने चाहना छ गाउँमा।’ पहिलो पटक चुनावी मैदानमा उत्रिएका ३२ वर्षीय भट्टराईले भने, ‘ठुलो अपेक्षा छैन नागरिकमा तर सानो अपेक्षा पनि अघिल्लो नेतृत्वले पूरा गर्न सकेको रहेनछ।’
अहिले चुनावी मैदानमा उनी जस्ता नौजवानदेखि उमेर ढल्केका पुस्तासमेत जनताको घरघरमा पुग्दै छन्। पाँच वर्ष सूर्योदय नगरपालिकाको मेयरको अनुभव लिएका रणबहादुर राई र उपमेयरको अनुभव लिएकी दुर्गा देवी भट्टराई पनि जनताको घरदैलोमा छन्। नेकपा एमालेबाट अघिल्लोपटक चुनाव जितेका उनीहरु यसपटक भने दुई दलका उम्मेदार भएका छन्। राई नेकपा एकीकृत समाजवादीबाट मेयरमा भिड्दै छन् भने भट्टराई नेकपा एमालेबाट उपमेयरमा भिड्दै छन्। मेयरका प्रत्यासी राई भन्छन्, ‘धेरै काम सुरु गरेका छौं, पूरा गर्न बाँकी छ, त्यही भएर जनताको घर घरमा पुग्दै छु। ’
प्रदेश सांसदबाट राजीनाम दिएर सूर्योदय नगरपालिकामा मेयरका लागि प्रतिष्पर्धामा उत्रिएका काजिमान कागते पनि नागरिकका आशा र गुनासा सुन्दै गाउँ घरमै व्यस्त छन्। उनी भन्छन्, ‘जनताका आवशयकता बुझ्दै अघि बढेको छु, नागरिकमा उत्साह देख्दा हौसला जागेको छ।’
उपमेयरकी प्रत्यासी भट्टराई पनि समृद्ध नगरको सपना लिएर गाउँमा छन्। उनले भनिन्, ‘अझै नगरमा मेरो आवश्यकता नागरिकले महसुस गरेकाले जनताको माग अनुसार नै चुनावी मैदानमा छु।’उनले गठबन्धनका नाममा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उभ्याएकाले पनि समावेसी सिद्धान्तको रक्षाका लागि आफू जनता माझ गएको बताइन्।
देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल पनि पदबाट राजीनाम दिएर नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा होमिएका छन्। उनले यसपटक सडक चौडा बनाउनेदेखि डिजिटल नगर बनाउने लगायतका नयाँ योजना थपेर घोषणा पत्र सार्वजनिक गरेका छन्। उनीसँग नेपाली कांग्रेसका नेता होम दुलाल प्रतिष्प्रधार्मा छन्। दुलाललाई नेकपा माओवादीको साथ रहेको छ।
इलाम नगरपालिकामा गठबन्धनबाट मेयरका प्रत्यासी नेपाली कांगेसका केदार थापा र नेकपा एमालेको तर्फबाट धिरेन चेम्जोङसहित चुनावी मैदानमा छन्। थापा भष्ट्राचार मुक्त नगर बनाउने घोषणासहित चुनावी मैदानमा छन्। उनी भन्छन्,‘अघिल्लो पाँच वर्ष नगरको नेतृत्वले करको बोझ दियो, हामी त्यसलाई अन्त्य गर्ने छौं। जनताको अपेक्षा पनि त्यही छ।’
एमालेका चेम्जोङ पनि संवृद्ध नगरका योजनासहित जनताको घर-घरमा पुगिरहेको बताउँछन्। उनले जनताको चाहना अनुसार योजनवद्ध विकासलाई अघि बढाउने उद्घोषका साथ जनताको घरमा पुगिरहेका छन्। मांसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगो चुनावी मैदानमा छन्। जनचाहाना अनुसारका योजना सम्पन्न गर्ने लक्षसहित उनी चुनावी मैदानमा छन्। बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलाममा एक हजार तीन सय २० उम्मेदार चुनावी मैदानमा छन्। यीमध्ये जिल्लाका १० वटै पालिका गरी ४ सय २० उम्मेदवार निर्वाचित हुने छन्।