नवलपरासीका वडा वडामा पुग्न थाले रक्सी-मासु

नवलपरासीका वडा वडामा पुग्न थाले रक्सी-मासु

परासी : स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पश्चिम नवलपरासीका वडा तहहरुमा उमेदवारहरुले रक्सी र मासु पुर्‍याउन थालेका छन्। अरु समयभन्दा चुनावको ४-५ दिनअघिबाट अन्य दलहरुले एक अर्काको चुनावी रणनीतिलाई नजिकबाट निहाल्ने भएकाले अहिलेदेखि नै स्टकका रुपमा रक्सी पठाउन थालिएको हो। 

चुनाव सुरु हुनुभन्दा ३ दिनअघि (७२ घण्टाअघि) बाट मौन अवधि सुरु हुन्छ। मासु भने कुपन काटेर दिन थालिएको छ। त्यसरी कुपन काटेर दिइएका मतदाताहरु अहिलेदेखि नै पसलमा पुगेर मासु लिने गरेको देखिएको छ। 

अधिकांश टोलमा अहिलेदेखि नै मासु-रक्सी खुवाएर मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास सुरु गरिएको छ। ‘कुपन ल्याएकालाई मासु दिनु भनेर नेताहरुले भनेका छन्। अहिलेबाटै कुपन ल्याएर मासु लैजान सुरु छ।’, कुखुरा मासु पसलका एक व्यवसायीले भने, 'कुपन लिएर आउनेले १ देखि ८ केजीसम्म लैजाने गरेका छन्।' पसलमा भएको कुपनको फोटो खिच्न माग्दा ती व्यवसायीले व्यवसायमा असर पर्ने भन्दै दिन मानेनन्। 

उमेदवारहरुले कार्यकर्तामाफर्त वडा तहका मतदातालाई प्रलोभनमा पार्न रक्सी र मासु पठाउन थालेका हुन्। त्यसरी रक्सी र मासु पठाउनेमा ठूला दलका उमेदवार बढी छन्। पठाइएका रक्सी कार्यकर्ताका घरमा राखिएको छ। एकै ठाउँमा राखे छापा मार्न सक्ने भएकाले ७/८ जना कार्यकर्ताको घरमा बाँडेर राखिएको बताइएको छ। पेटीका पेटी पुर्‍याइएका रक्सी महङ्गा नभइ ४० देखि ५० रुपैयाँका सिसीहरु छन्। 

पैसा हुने उमेदवारहरुले अहिलेदेखि धमाधम रक्सी-मासु पुर्‍याउन थालेपछि आर्थिक अवस्था कमजोर भएका उमेदवारहरुलाई दबाब थपिएको छ। त्यसको जोहोको लागि उनीहरु आफ्ना राजनीतिक दलका नेताहरुको घरमै पुगेर व्यवस्था गर्न अनुरोध गर्न थालेको पाइएको छ। 

निर्वाचन आचारसंहिता विपरीत हुने यस्ता कृयाकलापमा अनुगमन समिति भने मौन जस्तै छ। आचारसंहिता जिल्ला अनुगमन समितिका संयोजक एंव मुख्य निर्वाचन अधिकृत धु्रबकुमार शाहले अहिलेसम्म एउटा मात्र लिखित उजुरी परेको बताए। 

ठूला दलविरुद्ध उजुरी परेको हो। उजुरीमा धेरै गाडी प्रयोग भएको, तोकिएको भन्दा बढी झण्डा र माइक प्रयोग गरेको उजुरीमा उल्लेख छ। ठाउँ नतोकिकन आएको उजुरीविरुद्ध सम्बन्धित दललाई सजग र जवाफदेहिता बनाइएको शाहले बताए। अन्य कृयाकलापका उजुरी भने नआएको उनले बताए। अनुगमनका लागि टोली नै बनाएर बाहिर ननिस्के पनि नजिकबाट निहाली रहेको शाहको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.