उम्मेदवारको भड्किलो प्रचारले वीरगन्जबासी तनावमा

उम्मेदवारको भड्किलो प्रचारले वीरगन्जबासी तनावमा

वीरगन्ज : वीरगन्जका अधिवक्ता रामनारायण कुर्मीले फेसबुकमा लेखेका छन्- चर्को आवाजमा लाउड स्पीकर बजाउँदै भोट माग्ने उम्मेदवारलाई मत नदिने मेरो विचार।

उनको स्टाट्समा प्रदीप साहले कमेन्ट गर्छन्, 'चर्को लाउड स्पीकर बजाएर भोट माग्ने काम गलत भइरहेको छ, सीडीओले यसलाई तुरुन्तै रोक्नुपर्छ।'

सोमबार बिहान वीरगन्ज १० घडीहर्वामा भेटिएका नरेन्द्र प्रताप साहले थपे, ‘उम्मेदवारहरुको भोट माग्ने यो भड्किलो शैलीले जनता आजित भइसकेका छन्। यसले भोट बढाउने होइन, बरु भोट काटिरहेको छ।'

अधिवक्ता कुर्मी र युवा साहले जस्तै वीरगन्जबासी यतिबेला चुनावी प्रचारका लागि भइरहेको ध्वनी प्रदुषणले आजित भएका छन्। निर्वाचन अचारसंहिता ठाडै उल्लंघन गरेर राजनीतिक दल र उम्मेदवारहरुले रिक्सा र अटोमा आफ्नो चुनावी पोष्टर र ब्यानर टाँसेर ठूल्ठूला लाउडस्पीकर बजाएर घुमाइरहे पनि न निर्वाचन कार्यालयले रोकटोक गरेको छ, न स्थानीय प्रशासनले नै कुनै कदम उठाएको छ।

बैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयन दर्ता हुनुभन्दा दुई हप्ता पहिलेदेखि नै दल र उम्मेदवारहरुले रिक्सा र अटोमा ठूल्ठूला लाउड स्पीकर र हर्नबाट चुनावी गीत र नारा बजाएर भोट मागिरहेका छन्।

एउटै वडामा दलगत र स्वतन्त्र गरी आधा दर्जन उम्मेदवार छन्। हरेक उम्मेदवारले कम्तिमा ५-६ वटा रिक्सा र अटोबाट चर्को ध्वनी बजाएर प्रचार गरिरहेका छन्। वीरगन्जमा करिब २ हजार रिक्सा र अटोमा यस्तैखाले भड्किलो प्रचार भइरहेको छ।

वीरगन्ज-३ का एक उम्मेदवार भन्छन्, ‘एउटा टाटासुमो वा स्कार्पियो एक दिनका लागि भाडामा लियो भने तेलसमेत गरेर कम्तीमा १० हजार रुपैँया लिन्छ। रिक्साले १५ देखि १७ सयमात्र लिन्छ। त्यसैले मैले ६ वटा रिक्सामा चुनावी प्रचार गरिरहेको छु।'

अटो-रिक्साहरु बिहानदेखि अबेर रातमसम् वीरगन्जका टोल र गल्लीहरुमा घन्काउँदै हिँडिरहेका हुन्छन्। जसका कारण चर्को ध्वनी प्रदुषण भएको वीरगन्जबासीहरुको भनाइ छ।

‘बिहान ७ नबज्दै बेडरुमसम्म कानै फुट्नेगरी चुनावी प्रचारको गीत बज्छ। सबैभन्दा बढी यसले केटाकेटीको पढाइमा डिस्टर्ब गरिरहेको छ,' नरेन्द्र भन्छन्।  

अर्का स्थानीय सुरेश थप्छन्, ‘सानो स्वरमा बजाइदिए आपति हुन्थेन। तर प्रत्येक दस मिनेटमा यस्तै घन्किरहेका अटोरिक्सा आउँछन्। जसका कारण पूरै टोलबासी हैरान छौं।'

वीरगन्ज महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले ध्वनी प्रदुषणबारे मौखिक गुनासो आएको बताए। ‘एक ध्वनी प्रदुषण गर्नै पाइँदैन। अर्को कुरा यसरी प्रचार गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन पनि हो।' आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनले बताए।

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ध्वनी प्रदुषण गरेका दल वा उम्मेदवारविरुद्ध कसैले लिखित जाहेरी दिए प्रहरीले तुरुन्तै मुद्दा चलाउने बताए। ‘ध्वनी प्रदुषण गर्नु फौज्दारी संहिताविरुद्ध हो। कसैले जाहेरी दिए प्रहरीले मुद्दा चलाउँछ,' ढकालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.