उहिलेका मतदाताले हुलाक माग्थे

उहिलेका मतदाताले हुलाक माग्थे

मतदातादेखि उम्मेदवारसम्म। पत्रकारदेखि लेखकसम्म। २००४ सालको चुनाव सुनेका, २०१५ सालमा भोट हालेका र २०४८ सालमा उम्मेदवार भएका वरिष्ठ पत्रकार भैरव रिसाल सँगको कुराकानी

२००४ सालको चुनाव कस्तो थियो ? 

त्यतिबेला म करिब १९ वर्षको थिएँ। भक्तपुरको दधिकोटबाट पढ्न काठमाडौंको प्रधान पाठशाला रानीपोखरी आउँथेँ। चुनाव भन्ने सुनेको थिएँ। चुनावमा खासै चासो थिएन। स्कुल जान्थेँ। परिवर्तन 

चाहन्थेँ। तर, चुनावी नारा र जुलुसमा सहभागी हुन डराउँथेँ।

किन डराउनुहुन्थ्यो ?

पुलिसले पक्रन्छ भनेर। अहिले जस्तो ‘प्रहरी मेरो साथी कहाँ हुन्थ्यो र !’ त्यो बेला त पुलिसले खुब कुट्थ्यो नि। पहिला त पुलिसको बर्दी देखेर मान्छेहरू थर्कमान हुन्थे। 

चुनाव आएको कसरी थाहा हुन्थ्यो ?

कुपण्डोलमा डेरा थियो । पढेर घर जान भ्याउँदैनथ्यो। चुनावको र्‍यालि पनि सानो हुन्थ्यो। त्यो देखेपछि चुनाव आएको थाहा पाइन्थ्यो। अहिलेजस्तो रेडियो, टिभी र अखबार कहाँ थियो र ? २००४ मा चुनावी र्‍याली हुनु त गाह्रो थियो। त्यो बेलामा चुनाव आएको गएको थाहै हुँदैनथ्यो। मैले त सुने, अलिअलि देखें। अहिले जस्तो चुनाव बुझ्ने मान्छे नै कहाँ थियो र ? 

त्यो बेला भोट माग्ने चलन कस्तो थियो ?

घर–घरमा उम्मेदवार जान्थे। खुसुखुसु भोट माग्थे। चुनावको दिन सबै जम्मा हुन्थे। अनि चुनाव सकिन्थ्यो। काठमाडौंबाटै स्थानीय चुनाव देशैभर फैलिएको हो।

पहिला मतदान केन्द्र कति टाढा हुन्थे ? 

३–४ घण्टा लाग्थ्यो। बिहान भात खाएर मतदाता भोट हाल्न बुथमा पुग्थे। बाटामा खाजा खाने चलन थिएन।

चुनावमा क–कसले मतदान गर्न पाउँथे ? 

२००४ मा महिलालाई भोट हाल्ने अधिकार थिएन। प्रजातन्त्र आएपछि पहिलोपटक २०१० सालमा काठमाडौं नगरपालिकाकोे चुनावमा महिलाले भोट हालेका हुन्। 

राणाहरूले महिलाहरूलाई  भोट हाल्न किन नदिएको होला ? 

राणाहरूले महिलालाई मान्छे नै गन्दैनथे। हुन त त्यतिबेला महिलाले भोट हाल्ने चलन अन्यत्र पनि थिएन। स्वीटरल्यान्डमा पनि महिलाहरूले मतदान गर्न थालेको धेरै भएको छैन। 

२००४ सालमा काठमाडौं कस्तो थियो ?

काठमाडौं धोबीखोला पश्चिम थियो। बस्ती नै थिएन। कोटेश्वर चोकमा पहिला दिउँसै स्याल कराउँथ्यो। त्यहाँ नर्कट र सिस्नुघारी थियो। सहर भनेको त असन्नको गल्ली र इन्द्रचोक मात्रै थियो।

के–के पाइन्थ्यो त्यहाँ ?

काठमाडौंमा पुस्तक पसल जम्मा दुइटा थिए। पुस्तक बनारसमा छापिन्थे। कपि, कलम पनि उतैबाट ल्याइन्थे। २००४ सालमा संस्कृति प्रधानपाठशाला रानीपोखरीमा कक्षा ८ पास गरेँ। अनि के पढ्ने भन्दाखेरी ? किताब जे पायो त्यही पढ्ने। अघिल्लो पुस्ताले पढेको किताब हुन्थ्यो। किताब जोगाएर पढ्ने चलन थियो। अनि मैले साहित्यको किताब पाएँ। त्यसपछि म साहित्यमै रमाएँ।

त्यतिबेला मतपत्र कहाँ छापिन्थे होलान् ?

ठ्याक्कै भन्न सकिनँ। सायद इन्डिया (भारत)बाट छापेरर ल्याए होलान्। इन्द्रचोकमा साँझतिर चारै गाउँका मान्छेहरू जम्मा हुन्थे।  गाउँमा ढ्वाङ (माइक) राखेर प्रचार हुन्थ्यो। माइकलाई पहिला गाउँमा ढ्वाङ भन्ने चलन थियो।

मतदाताले के माग्थे ? 

२०१४ सालमा राजा महेन्द्रको सुदूरपश्चिम भ्रमणमा म गएको थिएँ। त्यतिबेला जनताले हुलाक माग्थे। स्कुल नमाग्ने। पुल नमाग्ने। खानेपानी नमाग्ने। मात्रै हुलाक माग्ने। 

किन हुलाक माग्थे ?

विकास के हो ? जनतालाई पत्तै थिएन। हुलाक माग्नुको कारण त्यताका मान्छे काम गर्न भारत जान्थे। चिठ्ठीपत्रका लागि हुलाक माग्थे। त्यो समाजका लागि हुलाकै ठूलो थियो। म राजा सवारी हुनुभन्दा अगाडि नै गएको थिएँ। त्यहाँका जनतालाई मैले सरकारसँग स्कुल, पुल, बाटो माग्नुस् भन्थें। तर, धेरैले हुलाक मागे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.