कसले चलायो विमानस्थलमा बम राखेको हल्ला ?

कसले चलायो विमानस्थलमा बम राखेको हल्ला ?

 काठमाडौं : बुधबार बिहान १० बज्न लागेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका लागि यात्रु भरिभराउ थिए। कोही विमान उड्ने समयको प्रतीक्षामा थिए त, कोही टिकट मिलाउँदै। अवस्था सामान्य नै थियो। तर, एक्कासि विमानस्थलको सुरक्षामा खटिएका प्रहरीबाट यात्रुलाई बाहिर निस्कन अनुरोध आयो।

विमानस्थल परिसरमा बम भएको हल्ला फैलियो। यात्रु त्रसित बने। एक घण्टा आन्तरिक उडान रोकियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको ठूलो समूह परिचालन भयो। तर, कुनै स्थानमा बम नभेटिएपछि करिब ११ बजेबाट सेवा सञ्चालनमा आयो। 

नेपाल बाहिरको जस्तो देखिने नम्बरबाट आएको दुई कलले कडा सुरक्षामा सञ्चालन हुने देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिनमा हल्लिखल्ली मच्चायो। यात्रुको यात्रा समय फेरियो। सुरक्षा निकायलाई चुनौती थपियो।  

यसरी आएको थियो फोन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा बुधबार बिहान ९ः४० बजेतिर नेपाल बाहिरको नम्बरबाट फोन आयो। अफिसको एक्सचेन्ज नम्बरमा एकपटक मात्रै नभई दुईपटक फोन आयो। कुरा उही दोहोरियो। नम्बर नेपाल बाहिरको जस्तो देखिए पनि फोनमा बोल्नेले नेपालीमा बोले। भने, ‘सलाम वालेकुम। तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ। दुई घण्टाभित्र बिस्फोट हुन्छ।’ टर्मिनल ड्युटी अफिसरले फोन उठाएका थिए। पहिलो कललाई बेवास्था गरेका ती कर्मचारीले दोस्रोपटक पनि उही कुरा दोहोर्‍याउँदै फोन आएपछि नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई जानकारी गराए। कुरा संवेदनशील थियो। 

सातवटा बम राखेको र दुई घन्टाभित्र बिस्फोट हुने जानकारी आएको कुरा ती अधिकारीले सुरक्षा निकायलाई जानकारी गराउँदासम्ममा १० बजिसकेको थियो। फोन आएको नै १५ मिनेट कटेकाले सुरक्षा निकाय एकै छिनमा तैनाथ भए। फोन कसले गरेको भन्ने विषयभन्दा पनि बम निश्क्रिय पार्नु पहिलो काम थियो। किनभने विमानस्थलभित्र सुन तस्करीदेखि विमानस्थलको तारजालिबाट छिरेर विमानभित्र पुग्ने र ठूलो परिमाणमा सुन र विदेशी मुद्रा भेटिने घटना केही दिनअघि मात्रै भएका थिए। फ्रि कल एप ‘डिङटोन’बाट आएको कल कसले गरेको भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए।

बम पत्ता लगाउने कुकुरदेखि सेनासम्म परिचालन 

दैनिक लाखौं यात्रु आवत–जावत गर्ने विमानस्थलमा सातवटा बम राखेको फोन आएपछि सुरक्षाका तीनवटै निकाय तैनाथ भए। सँुघेर बम पत्ता लगाउने कुकुरदेखि अत्याधुनिक उपकरणका साथमा प्रहरी र सेना परिचालन भयो। बम डिस्पोज गर्ने सेना तयारीका साथ पुग्यो। विमानस्थलका कुना–कुना जाँच भयो। शौचालयदेखि विमानका सबै ठाउँ खानतलासी भयो। उडानका सेवा रोकिए। अवतरण प्राथमिकतामा नै थियो। एक घन्टासम्म विमानस्थलको जाँचपछि सुरक्षा निकायले केही फेला पारेन। अचानक आएको फोनले यात्रुदेखि सुरक्षा निकाय एक घन्टा हैरान भए। ‘कुनै पनि शंकास्पद वस्तु भेटिएन। हामीले संवेदनशील भएर यात्रुलाई सुरक्षित बाहिर निकालेका थियांै। सुरक्षा निकायले पनि गम्भीर भएर अनुसन्धान गरिरहेको छ,’ नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने। बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरेको प्रवक्ता सिटौलाले बताए।

सर्च अपरेसन सुरु गर्नुअघि एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकाल्दा केही यात्रु त्रसित थिए भने केही सुरक्षा व्यवस्था कमजोर भएको भन्दै आक्रोशितसमेत भेटिन्थे। बम बिस्फोटको ‘थ्रेट’ दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान अघि बढाइसकेको सिटौलाले बताए। 

विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अपरेसन गर्नुपर्ने उनी बताउँछन्। ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साँच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौं’, उनले भने, ‘किनभने त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन। त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ।’

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको जानकारी दिएका छन्। भने, ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं। अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्।’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यो घटना गम्भीर भएकाले यस्ता घटना हुन नदिन सुरक्षा निकाय सचेत बन्नुपर्ने बताए। ‘कहिलेकाहीँ यहाँ सामान्य घटना पनि भए। ती सबैलाई जोडेर विमानस्थलकै सुरक्षाको विषयमा सवाल गरिनु आवश्यक त छैन। तर, सचेत भने हुनुपर्छ,’ उनले भने। एक घण्टाभित्रै सर्च अपरेसन सकिएकाले डिले भएका सबै उडान रातिसम्ममा गन्तव्यमा पुर्‍याएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.