मुस्ताङमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम
जोमसोम : स्थानीय तह निर्वाचनको पूर्व तयारीका लागि मुस्ताङमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई शुक्रबार तालिम दिईएको छ। जिल्ला निर्वाचन कार्यालय मुस्ताङको आयोजनामा भएको निर्वाचन/मतदान सम्वन्धी तालिममा ८१ जना कर्मचारीको सहभागी रहेको जनाईएको छ।
जिल्लाको ५ वटै स्थानीय तहको ३८ मतदान केन्द्रका लागि मतदान अधिकृत ३८ जना, सहायक मतदान अधिकृत ३८ जना र ५ जना जगेडा मतदान अधिकृतको व्यवस्था गरिएको निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए। उनीहरुलाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित वातावारणमा सम्पन्न गर्नका लागि सम्बन्धीत सरोकारवाला निकायले तालिम प्रशिक्षण दिईएको उनले बताए।
स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको तालिममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश रोमाकान्त ज्ञवारी, प्रजिअ नेत्र प्रसाद शर्मा, निर्वाचनमा खटिने विभिन्न कार्यालयका कर्मचारी र सुरक्षा निकायको उपस्थिती रहेको थियो। निर्वाचन तथा मतदान सम्वन्धी तालिममा मतगणना सम्वन्धी प्रारम्भिक कार्य र मतगणना प्रकृयाको विषयमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश रोमाकान्त ज्ञवाली र मतगणना कार्य सम्वन्धी व्यवस्थापकीय पक्ष र मतदान प्रकृयाको बिषयमा प्रजिअ नेत्रप्रसाद शर्माले सहजीकरण गरेका थिए।