वीरगन्जमा गठबन्धनको घोषणापत्र : अनियमितताको छानबिन गर्नेदेखि कर घटाउनेसम्म
वीरगन्ज : स्थानीय निर्वाचनलाइ लक्षितगरी सत्ता गबठन्धनले वीरगन्ज महानगरपालिकाको लागि चुनावी घोषणापत्र सार्वजनिक गरको छ। महानगरको मेयर र उपमेयर पदमा मात्रै सत्तारुढ पाँच दलले गठबन्धनका गरेका छन्। मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलम उम्मेदवार रहेका छन्।
वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर सत्तारुढ पाच दलले गठबन्धनका उम्मेदवारहरुको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। साझा प्रतिवद्धता शीर्षक दिइएको गठबन्धनको चुनावी घोषणापत्रमा विगतको नेतृत्वले गरेका अनियमितताको छानबिनगरी कारवाही गर्नेदेखि लिएर भ्रष्टाचार सम्बन्धी गुनासो सुन्न मेयरको प्रत्यक्ष निगरानीमा हेल्पलाईनको व्यवस्था गर्नेसम्मका बाचाहरु गरिएका छन्।
गरिब तथा विपन्न नागरिकको बिजुली र पानीको न्यूनतम शुल्क महानगरले व्यहोर्ने, महानगरमा व्यवसाय गरिरहेका विदेशी र स्वदेशी नागरिकलाई ‘डिजीटल आईडेन्टिफिकेसन’ कार्ड उपलब्ध गराउने, फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रण गर्न एक महिने ‘सरसफाइ घरदैलो अभियान’ चलाइने प्रतिबद्धता गठबन्धले गरेको छ।
नयाँ घरको नक्सा पास गर्दा १ घर बराबर कम्तीमा २ बिरुवा अनिवार्य, फुटपाथ व्यवस्थापन गरिने, महानगरलाइ ध्वनी प्रदूषणमुक्त बनाउने, ‘सबैका लागि सुलभ शिक्षा’ का लागि विद्यालय भर्ना अभियान चलाइने, सरकारी विद्यालयका बेथिती अन्त्य गर्ने, वीरगञ्ज विश्वविद्यालय निर्माणका लागि यसअघि नै उठेको रकमको खोजी गरी यथाशीघ्र विश्वविद्यालय निर्माणको काम अघि बढाउन पहल गरिने बुदाँ पनि गठबन्धनको घोषणपत्रमा उल्लेख छ।
प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी स्थापना, वीरगन्जलाई मेडिकल हबकोरुपमा विकास, चक्रपथ निर्माण गरी वीरगन्जको ३२ वटै वडालाई सडक सञ्जालमा, घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न ओभर ब्रिज निर्माण गरिने गठबन्धनले प्रतिबद्धता जनाएको छ।
छोरीहरूलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको संरचना विकास गर्दै गरीब तथा विपन्न परिवारका छोरीहरूलाई नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्था, महिलालाई पुरुष समान ज्याला उपलब्ध गराउन अभियान, खाना पकाउन दाउराको चुल्हो प्रयोग गर्ने परिवारका लागि निःशुल्क ग्यास चुल्हो वितरण, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था गरिने पनि गठबन्धनले जनाएको छ।
यस्तै कृषियोग्य जग्गामा मालपोत बाहेकको कर हटाइने, राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण संस्थान स्थापना, कमजोर आर्थिक अवस्थाका ज्येष्ठ नागरिकका लागि धार्मिक आस्थाअनुसार तिर्थयात्रा, हजयात्रा तथा अन्य धार्मिक भ्रमणको व्यवस्था गरिने पनि चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ।
चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनका मेयर उम्मेदवार राजेशमान सिंह, उपमेयरका उम्मेदवार इम्तियाज आलम, नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपा नेता एंव सांसद प्रदीप यादव, नेकपा माओवादी केन्द्र पर्साका संयोजक रामदरश कुशवाहा, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापालगायतको पनि सहभागीता थियो।