बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका ५ विजयी

बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका ५ विजयी

लन्डन : बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना उम्मेदवार विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए। त्यसमध्ये लक्ष्य गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित बनेका हुन्। 

उनीहरूमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलरमा विजयी भएका हुन्। निर्वाचित हुनेमा दुई जना सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार छन् भने तीन जना लेबर पार्टीका हुन्। देशभरको पूर्ण नतिजा भने अझै आउन बाँकी नै छ। समाचार तयार पार्दा सम्ममा प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ पार्टीले विगतमा जितेका सयौं ठाउँ गुमाएको छ। विपक्षी लेबर र लिबेरल डेमोक्र्याटले भने आफ्नो सिट संख्या बढाएका छन्। 

मेयर गुरुङको ह्याट्रिक 

लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बने। लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। सोही वडाकै अर्को काउन्सिलरमा लेबर पार्टीकै उम्मेदवार विजयी भएकी छन्। पराजित सत्तारुढ कन्जरभेटिभ उम्मेदवारले विजयी गुरुङले भन्दा २ सय ६८ मत कम अर्थात् ७ सय ६९ मत मात्रै पाएका छन्। 

सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित भएका थिए। उनले डेपुटी मेयर र मेयरका रूपमा समेत एक/एक कार्यकाल काम गरिसकेका छन्। 

पूर्वउपमेयर लक्ष्य गुरुङ पुनः निर्वाचित

लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा निर्वाचित भएका छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार बनेका गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्। दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भए। उनीसँग पराजित उम्मेदवारसँग उनको मात्र ४२ मतको फरक छ। भूतपूर्व गोर्खा गुरुङ यसअघि सोही क्षेत्रको उपमेयर भइसकेका छन्। कन्जरभेटिभ पार्टीबाट आगामी मेयरका प्रमुख दाबेदार रहेका उनलाई बरोमा लेबर पार्टीको बहुमत आएपछि भने धक्का लागेको छ। 

रोयल बरोमा नेपालीमूलबाट पहिलोपटक निर्वाचित 

बेलायतको रोयल बरोबाट पहिलो पटक नेपालीमूलका उम्मेदवार काउन्सिलरमा निर्वाचित भएका छन्। रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका रानाभाट विजयी भएका हुन्। उक्त वडामा तीन काउन्सिलरका लागि १० उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसँगै अन्य दुई वना पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन्। 

मत परिणामअनुसार रानाभाटले २ हजार ३ सय १९ मत प्राप्त गरे। उनीसँगै विजयी हुने अन्य दुई लेबर उम्मेदवारले २४ सय बढी मत पाएका छन्। पराजित उम्मेदवार मध्ये एक जनाबाहेक कसैले पनिले भने ५ सय मत पनि कटाएका छैनन्। बेलायतमा पछिल्लो केही वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपालीमूलका उम्मेदवारहरू निर्वाचित हुँदै आएका छन्। तर, लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपालीमूलबाट निर्वाचित हुने रानाभाट नै पहिलो बनेका छन्। 

बरोमा पुनः निर्वाचित डा. शर्मा काउन्टी काउन्सिलमा पराजित

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्। कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए। 
उनले ५ सय ५१ मत प्राप्त गरेका थिए। ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका छन्। 

कोलबर्न टाउनका पूर्वमेयर एवं काउन्सिलर शर्मा दुईतिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए। बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन्। शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचार–प्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए। 

नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ। शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए। अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन्।

पूर्वगोर्खा गुरुङ दोब्बर मतसहित निर्वाचित

लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट पूर्वगोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्। लेबर पार्टीका उम्मेदवार उनले २ हजार तीन सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे। सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए। पराजित कन्जरभेटिभ पार्टीका दुई उम्मेदवारहरूले भने आधा थोरै ९ सय ६२ र ८ सय ६१ मत मात्रै प्राप्त गरे। 

को–को भए पराजित ?

यसपटकको निर्वाचनमा नेपालीमूलका पाँच उम्मेदवार भने पराजित बनेका छन्। वकिङ बरोमा पूर्वगोर्खा मेजर चित्रबहादुर राना पराजित भए। कन्जरभेटिभ पार्टीबाट यसअघि तीन पटक काउन्सिलर निर्वाचित उनी चौथो पटक असफल बने। रानालाई पराजित गर्ने लिबेरल डेमोक्र्याट उम्मेदवारले दोब्बर बढी मत पाए। सन् २०१५ मा पहिलोपटक काउन्सिलरमा निर्वाचित उनी सन् २०१६ र सन् २०१८ मा पनि काउन्सिलर निर्वाचित भएका थिए। 

रश्मोर बरोको चेरीउड वडामा कन्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेकी सुमन पुन ७ सय ३० मत ल्याएर पराजित भइन्। उनका प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले १ हजार ८ मतसहित विजयी भए।
त्यस्तै, बेडवर्थ एन्ड ननिटन बरोमा पहिलो पटक काउन्सिलर पदमा निर्वाचन लडेका पूर्वगोर्खा भीम सारु पनि पराजित भए। लेबर पार्टीका उम्मेदवार सारुले ५ सय ६६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका उम्मेदवार ६ सय ५२ मतसहित निर्वाचित भए। उता, स्विन्डनको मेनिंगटन एन्ड वेस्टर्नमा पहिलोपटक उम्मेदवार बनेका पूर्वगोर्खा ज्ञानप्रसाद गुरुङ पनि जितबाट चुकेका छन्। कन्जरभेटिभ पार्टीका उम्मेदवार गुरुङले ६ सय ६५ मत पाउँदा विजयी लेबर पार्टीका उम्मेदवारले १३ सय ६४ मत पाए। 

लन्डनको वाटफोर्डमा सञ्जय पन्त काउन्सिलरमा पराजित भएका छन्। वाटफोर्ड बरोको होलीवेल वडामा कन्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेका पन्त ४ सय २६ मत प्राप्त गरी पराजित भएका हुन्। विजयी लेबर उम्मेदवारले ९ सय ४९ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.