‘महिला मेयरलाई होच्याउनुको तुक छैन’
काठमाडौं : पाँच दलीय गठबन्धनले शुक्रबार राजधानीमा आमसभा गरेका छन्। सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले शक्तिशाली दुवै महानगर काठमाडौं र भरतपुरमा महिला उम्मेदवार उठाएको बताए। उनले भने, ‘सिंगो गठबन्धनले गर्व गरिराख्दा प्रतिपक्षले महिला भन्दै होच्याउनुको कुनै तुक छैन।’
‘प्रचण्डकी छोरी भएर जन्मिनु रेणु दाहालको गल्ती हो ? प्रकाशमानकी श्रीमती हुनु उनको दोष हो ? आमाबाबुले बिहे गरेर दिइहाले, गर्ने के ?’, प्रधानमन्त्री देउवाले प्रतिपक्षलाई इंगित गर्दै भने, ‘गणेशमान र मंगलादेवीको बुहारी हुनु उनको गल्ती हो ? उनी आफैंमा सक्षम र क्षमतावान् महिला हुन्।’
महिला जनप्रतिनिधि हुँदाको सकारात्मक प्रभाव भरतपुरमा हेर्न उनले आग्रह गरे। उनले थपे, ‘अब नेपालमा मेयर भनेको महिला नै हुनुपर्छ भन्ने दिन आउँछ। अब नेपालका हरेक महिला सक्षम र दक्ष बन्दैछन्। पुरुषमात्र अघि आउनुपर्छ र उनीहरूले मात्र गर्न सक्छन् भन्ने मानसिकता त्यागिदिनुस्।’
देउवाले विदेशी नियोगहरू राजधानीमै भएकाले महानगरको मेयरमा महिला हार्दा अन्तर्राष्ट्रिय समुदायमा कस्तो सन्देश जान्छ भनी प्रश्न गरेका थिए। ‘सतिले सरापेको देश भन्ने सुन्नुभएकै होला। अफवाहमा लागेर महिलालाई अगाडि आउनबाट नरोक्नुहोस्’, उनले भने, ‘काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेणु दाहाल अहिले समाजका लागि चाहिने नेतृत्व हुन्।’ उनले गठबन्धनका विषयमा ‘गठबन्धन गर्ने कि के गर्ने’ भन्ने बिषयमा कांग्रेसको महाधिवेशनमा कसैले विरोध नगरेको बताए। केन्द्रीय समितिमा पनि गठबन्धन गर्न हुने नहुने भन्ने कसैले प्रसंगै ननिकालेको उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षले महिला उम्मेदवारमाथि अपमान गर्ने काम गरेको आरोप लगाए। ‘हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटिप्पणी भइरहेका छन्’, प्रचण्डले भने, ‘म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु। जहाँ–जहाँ कार्यकारी भूमिकामा महिला रहेका छन्, त्यहाँ राम्रो काम भएको छ।’
उनले काठमाडौं महानगरमा सिर्जना सिंह मेयरमा उठ्नु सबैका निम्ति खुसी र गर्वको कुरा भएको बताए। ‘युद्ध, शान्ति र संविधान निर्माणका बेला महिलालाई प्रवद्र्धन गर्ने विषयमा निकै ठूलो छलफल भएको थियो। व्यवहारमा लागू गर्ने कुरामा कहीँ नै कहीँ चुकेका थियौं’, उनले भने। महिलाहरू कार्यकारी भूमिकामा भएका ठाउँमा राम्रो काम भएको उनको भनाइ छ। ‘परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि यो पक्षलाई विशेष रूपले नेपालको पहिचान दिलाउन पनि सक्छौं’, प्रचण्डले भने।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरतातर्फ मोड्ने बताए। देशमा आर्थिक उन्नति र राजनीतिक स्थिरताका लागि अहिले महिला नेतृत्व आवश्यक भएकामा उनले जोड दिए। रेणु र सिर्जना राजनीतिक पृष्ठभूमिबाट आउनु संयोग भएको उनले बताए। उनले भने, ‘दक्षता र क्षमताका कुरामा महिलाले प्राथमिकता नपाउने ? नेपालले स्थायित्व नपाउने ? किन अवसर नपाउने ? केही समय मात्र भए पनि हामीले काम गर्न पायौं भने राजनीतिक स्थिरता कायम गर्न सक्छौं।’ उनले केपी ओली मुलुक अस्थिरताको कारक बनेको बताउँदै उनले गठबन्धन भित्रकालाई पनि उक्साउने काम गरिरहेको आरोप लगाए। उनले भने, ‘गठबन्धन कमजोर पार्नु भनेको अस्थिरताको शक्ति देखा पर्नु हो। बाहिर राष्ट्रवादको खोल ओडेर भित्र लम्पसारबाद भित्र्याउने प्रयास भएको छ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको बताए। ‘महिला नेतृत्व दुई शक्तिशाली महानगरमा क्षमतावान् महिला पाएका छौं’, नेपालले भने, ‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ। केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तन विरोधी, संविधान विरोधीसँग गठबन्धन गरेका छन्।’ प्राप्त उपलब्धिको रक्षा गर्ने, संविधान जोगाउने, समाजवाद र सुशासनको पक्षधर, गणतन्त्रका हिमायती यो गठबन्धनमा रहेकोे नेपालको भनाइ छ। उनले थपे, ‘नेपालको राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्न थालेका छन्। दम्भ गर्नेहरूलाई जनताले तह लगाउँछन्।’ गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसैले नसोचे हुने उनको भनाइ छ। पाँचदलीय र दक्षिणपन्थी प्रतिगामी गरी नेपालमा दुइटा गठबन्धन भएको उनले बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन हम्मेहम्मे परेको बताए। विगतमा प्रजातन्त्र मास्न खोज्नेहरूले अहिले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको उनको भनाइ छ। ‘गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे–हम्मे परेको छ’, उनले भने, ‘गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन।’ उनले पाँच दलभित्रै मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउन मिलेर जानुपर्ने अवस्था रहेको बताए। ‘हिजो प्रजातन्त्र मास्न खोस्नेहरूले यो गठबन्धनको विरोध गरिरहेका छन्’, केसीले भने। गठबन्धनले उठाएका उम्मेदवारप्रतिको सोच्ने र हेर्ने दृष्टिकोण फराकिलो पार्न उनले आग्रह गरे।
कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा उठेकी सिर्जना सिंहले आफूलाई प्रकाशमानको श्रीमती अनि गणेशमान र मंगलादेवीको बुहारीको पहिचान नदिन आग्रह गरिन्। उनले भनिन्, ‘महिला अघि बढ्दा किन परिवारवादमा जोडिन्छ ? राजनीतिको लामो अनुभव र क्षमता भएरै अघि बढेकी हुँ।’ उनले महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन्। ‘मतदाताको शिर निहुरिन दिन्नँ, महानगरलाई महान् घर बनाउँछु’, उनले भनिन्।