शब्दचित्रमा डा. अञ्जनीकुमार
प्राध्यापक डा. अञ्जनीकुमार शर्मालाई यस कालखण्डमा बाँचिरहेका हामी नेपालीमध्ये अधिकांशले चिनेका छौं। कतिले समाजसेवीका रूपमा चिनेका होलान् भने कतिले उहाँको चिकित्सासेवाबाट पुनर्जीवन पाएकोमा। यिनै विषय र सन्दर्भलाई उहाँकै सुपुत्री अनिता ढुङ्गेलले तयार पारेको कृति हो, ‘नकोरिएका सन्दर्भहरू’ (प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित)’। पत्नी अन्नपूर्णा शर्माकै हातबाट हालै सार्वजनिक पनि भइसकेको छ। कृतिमा लेखकीय प्राक्कथनसहित ७ अध्यायमा डा. शर्माका जीवनचरितलाई वर्गीकरण गरिएको छ।
किताबको लेखनमा लेखकले ३० भन्दा बढी सन्दर्भ सामग्रीको उपयोग गरेको पाइन्छ। अध्यायगत् रूपमा पुस्तकले नेपालको शल्यचिकित्साका भीष्मपितामह डा. शर्माको जीवनीसहित देशको चिकित्सा क्षेत्रले कसरी विकास गर्यो भन्ने कुरा चित्रण छ। किताबको पहिलो अध्यायमा तत्कालीन रानी रत्नको शल्यक्रियालाई समेटिएको छ। तत्कालीन राजा महेन्द्र रानीसहित बेलाबखत शिकारमा गइरहन्थे। सुदूरपश्चिमको निकुञ्ज शाही शुक्लाफाँटामा शिकार गरिरहँदा आफैंले हानेको गोली उछिट्टिएर रानी रत्नको पेटमा लाग्यो। उक्त विषम परिस्थितिमा रानीको उपचारका लागि भारततर्फ लग्ने कुरा नउठेको होइन। तर, महेन्द्रले नेपालकै चिकित्सकलाई विश्वास गर्दै नजिकैको लखनउको साटो काठमाडौं फर्किने निधो गरे। खतरा मोल्दै काठको मसालको उज्यालोमा रानी रत्न चढेको प्लेनलाई त्रिभुवन विमानस्थलमा ओरालियो। महेन्द्रले डा. अञ्जनीसँग ‘तिमी उपचार गर्न सक्छौं ?’ भनी सोधेका रहेछन्। डा. शर्माले पनि ‘सक्छु’ भन्दै वीर अस्पतालमा भर्ना गरी अपरेसन गरेको र सात दिनमै डिस्चार्ज गरेको सन्दर्भ किताबमा उल्लेख छ।
यस घटनाले तत्कालीन राजा महेन्द्रलाई नेपाली चिकित्सकप्रति अगाध विश्वास भएको र डाक्टरहरूलाई कर्मप्रति उत्प्रेरित गरेको देखिन्छ। शर्माको जीवन लक्ष्य नै क्यान्सर रोगको उपचार गर्दै रोगसँग लड्नु थियो। लक्ष्यअनुरूप नै क्यान्सर रोगबाट पीडित बिरामीको उपचारकै निमित्त शर्मा जीवनभर खटिनु भयो। विडम्बनाको कुरा, जो व्यक्तिलाई चिकित्सावृत्तमा ‘फादर अफ अंकोलोजी’ भनेर सम्मान गरिन्छ, सोही सिपाहीको अन्त्य क्यान्सर रोगकै कारणबाट भएको र परिवारजनमा परेको पीडा दोस्रो अध्यायमा छ। आपूm हुर्की बढेको थलोको माटोले मानिसको जीवनको आकार निर्माण गर्छ। यसैबाट चेतनाको विकास हुन्छ भन्ने भावमा तेस्रो अध्यायले मातृथलोप्रतिको दृष्टिकोण, भावना र व्यवहारको आदर्श वर्णन गरिएको छ। तराईको प्राकृतिक छटा र सौन्दर्यमा लुटुपुटु गर्दै हुर्की बढेका शर्माको संयुक्त परिवारले जति रमाइलो कसले गरेको होला ? यस्तै घटना/परिघटनाले पाठकलाई तराईकै परिवेशमा डोर्याउन लेखक सफल भएकी छन्। करिब तीन सय वर्ष अघिदेखि बसोवास गरिआएका डा. शर्माका पुर्खाले सिँगारेको सिराहा भलुवाहीको भौतिक तथा अध्यात्मिक विकासबारे किताबको वर्णनले पाठकलाई नोस्टाल्जिक बनाउँछ।
चौथो अध्यायले डा. शर्माको शिक्षा–दीक्षाका बारेमा विषद् वर्णन गरेको छ। पुलपुलिएर हुर्केका उनी शिक्षा–दीक्षाका क्रममा घरबाहिर हुँदा मोटो चामल खान बाध्य भएको उल्लेख छ। त्यसैले अमुक ठाउँमा पढ्दिनँ भनी गाउँ फर्किन खोज्दा, जनकपुर रेल्वे स्टेसनमा माहिलो बुवाको चड्कन खाएको र त्यसले पढाइमा ठूलो परिवर्तन आएको रोचक प्रसंग छ। त्यो समयमा टुकीको उज्यालोमा पढेको, काठको पाटीमा लेखेको, खुट्टामा लगाउनुभन्दा चप्पल बोकेर धुले सडकमा हिँडेर आनन्द मानेकोजस्ता सन्दर्भ छन्। एफआरसीएसमा छनोट भई मातृथलो भलुवाहीबाट गुन्टापेटी बाँधेर जयनगर, दरभंगा रेलयात्रा गर्दै बम्बई पुगेको घटना पनि कृतिमा छ। पानीजहाजको बाटो एक महिना लगाएर बेलायत पुगेर उच्च शिक्षा हासिल गर्न थालेको क्षणले पाठकलाई प्रेरणा पनि दिएको छ। पढाइ सकिँदा बेलायतमै बस्न गरिएको आग्रहलाई नकार्दैै वीर अस्पतालमा डिपार्टमेन्ट अफ सर्जरी स्थापना गर्ने सपना लिएर डा. अञ्जनी नेपाल फर्किएको विषय झनै रोचक छ।
भनिन्छ, मानवताबिनाको शिक्षा उपयोगी हुँदैन। डा. अञ्जनी आफूले पढेको सबै कुरा मानव मात्रको सेवामा समर्पण गर्नुपर्छ भन्ने आदर्शबाट प्रेरित भएको पुस्तकले बताउँछ। स्वदेश फर्किउलगत्तै वीर अस्पतालमा गरेका उदाहरणीय कामको सविस्तार वर्णन पाँचौ अध्यायमा छ। पञ्चायतकालीन पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीले अस्पतालको अव्यवस्था र फोहोर चर्पी देखेरै ‘म त डाक्टरी गर्दिनँ’ भनेको रमाइलो प्रसंग पनि किताबमा छ। त्यस्तो दयनीय अवस्थामा पनि डा. शर्माले दिन–रात नभनी बिरामीको सेवा गरेको र लामो समयसम्म गरेको साधनाको फल आज पनि चिकित्सा क्षेत्रमा रहेको वर्णन पनि छ। त्यसैले सायद उहाँलाई ‘नेपाली शल्यचिकित्साका जननी’ पनि भन्ने गरिन्छ। छैटौं अध्यायमा उहाँको प्राज्ञिक क्रियाकलापको प्रसंग छ। आफूले जानेको कुरा अरूलाई पनि सिकाउनुपर्छ भन्ने धारणा उनमा
रहेको थाहा हुन्छ।
सातौं अध्यायमा सामाजिक पाटोलाई प्रष्टसँग देखाएको छ। चिकित्सा सेवाका अतिरिक्त २०२८/२९ सालदेखि नै उहाँले लायन्स क्लब इन्टरनेसनलसँग आवद्ध भएर परोपकारी कर्ममा लागिपरेको सन्दर्भ पनि चित्रण छ। उहाँको परोपकारी कर्मको कदर ‘फादर अफ लायनिज्म’ शब्दहरूले नै वर्णन गरेको छ। स्वर्गारोहण हुनुअघि आफूलाई भेट्न आएका सहकर्मीहरूसँग बोलेको उहाँको अन्तिम वाक्य पुस्तकमा यसरी उल्लेख गरिएको छ– ‘अब लायन्स क्लब तपाईंहरूको जिम्मामा छोड्दैछु। क्लबको नयाँ पिँढीलाई लायन्सको मूल मर्मसँग आत्मसात गर्न प्रोत्साहन गर्नुहोस्।’ अनिताले बुबा अञ्जनीको सम्पूर्ण योगदानलाई किताबमार्फत महत्त्वपूर्ण घटना र सन्दर्भलाई अभिलेखीकरण गरी सम्प्रेषण गर्ने काम गरेकी छन्। उनले बिचबिचमा स्वदेशी तथा विदेशी विद्वान्का नेपाली तथा अंग्रेजी कविता, कोटेसन र गीताको अंश पनि राखेकी छन्। पुस्तक सरल र सौम्य भाषामा छ।