एटलान्टिकमा मालिकार्जुनको जात्रा

एटलान्टिकमा मालिकार्जुनको जात्रा

सुदूरपश्चिमको दार्चुला, पारी भारतको धार्चुला। मालिकार्जुन गाउँपालिकाको शंकरापुर पस्तिकामा जन्मिएका किसनसिंह धामी सन् २०१४ देखि अमेरिकामा छन्। २०४८ सालमा ‘सवारीचालक र तिनका व्यथाहरू’ नामक पहिलो कृति प्रकाशित गरेका उनका कविता, संस्मरण र उपन्यास गरी आठ कृति छन्। स्नातकोत्तर तहमा २०७३ सालमै ‘किसनसिंह धामीको जीवनी, व्यक्तित्व र कृतित्व’ विषयक शोधपत्र लेखिएको छ भने हालै दुई लामा कविताको अंग्रेजी पुस्तक ‘एटलान्टिक’ अमेजनले विश्वबजारमा ल्याएको छ।

तारा–किसन फाउन्डेसनको आयोजनामा ‘दार्चुला बृहत् साहित्य महोत्सव’का लागि नेपाल आएका साहित्यकार धामीसँग अन्नपूर्ण पोस्ट्का गोपीकृष्ण ढुंगानाले गरेको वार्ता :

एटलान्टिकको प्रकाशन कसरी भयो ?

केही वर्षअघि अमेरिका बसाइकै क्रममा ‘एटलान्टिकका भँगालाहरू’ नामक कविता संग्रह तयार पारेको थिएँ। नेपाल आएर विमोचन गरें। चर्चा चुलियो। सोही क्रममा अमेरिका बस्ने नेपाली प्राध्यापक राजन थपलियाले उक्त संग्रहका दुई लामा कविता ‘एटलान्टिकका भँगालाहरू’ र ‘महाकाली गाड’ को अंग्रेजीमा अनुवाद गर्नुभयो।

त्यसको सम्पादन पनि उहाँले नै गर्नुभयो। त्यसपछि अमेजनका तर्फबाट निस्बत सव र जेम्स क्रिस्टोफरले अन्तिम सम्पादन गर्नुभयो। दुर्गम दार्चुलाको ठिटो किसनको अमेरिकाबाट अंग्रेजीमा कृति प्रकाशन हुनुमा मन खुसी हुनु स्वाभाविकै हो।

कसरी रचना गर्नुभयो यो कविता ?

सञ्चारको अत्यधिक विकास, औद्योगिक विकास र विश्व जलवायु प्रदूषणले मान्छेका चाहनाहरूको वृद्धि असीमित रूपमा हुन थाल्यो। यस्ता चाहना पूर्तिका लागि गाउँ गाउँबाट टाढा हुन थाल्यो, प्राणी प्राणीबाट अलग हुन थाल्यो। आवश्यकता पूर्तिका लागि संभाव्य स्थलको खोजीतिर लागे। खोज्दाखोज्दै बचपन गयो। जवानी गयो अनि जोवन गयो। हँुदाहुँदा भौतिक शरीर पनि गयोजस्तो लाग्छ। कतै छियाछिया परेर गयो, बिलायो। कतै त्यतै हरायो तैपनि विकास गतिशील छ र मानव कुदिरहेछ, निरन्तर कुदिरहेछ। जीवनको यही कुदाइका क्रममा जन्मेको कविता हो यो एटलान्टिकका भंगालाहरू।

के छ एटलान्टिकका भँगालाहरू कविताभित्र त्यस्तो ?

अंग्रेजी भाषामा हालै आएको ‘एटलान्टिक’ ८६ पृष्ठको कृति हो। पृष्ठ १ देखि ४९ सम्म ‘एटलान्टिक’ कविता छ जुन यो ४ हजार २ सय ५६ शब्दको छ। ५० देखि ६७ पृष्ठसम्म ‘द गाड अफ महाकाली’ शीर्षकमा कविता छ जुन एक हजार ६ सय ३५ शब्दको छ। अमेरिकाको न्युयोर्क सहर विश्वकै ठूलो सहरमध्ये पर्छ। महाकालीका भंगालाहरूमा हुर्किएको म न्युयोर्कको एटलान्टिक छेउछाउमा बस्न पुगेँ। सहरहरूको विकास हुनुमा एटलान्टिक महासागरको भूमिका छ। भंगालाहरूले समुद्र बनाएको छ त्यहाँ। समुद्र सतहमै रहेको न्युयोर्क सहरका विविध सन्दर्भ र त्यससँग नेपालको सुदूरपश्चिममा पर्ने दुर्गम दार्चुलाका भंगालाहरूलाई जोड्ने प्रयास हो यो कविता।

‘द गाड अफ महाकाली’ नामको कवितामा नि !

यो कविता एकदर्म मर्मस्पर्शी छ त्यसैले सायद यो पनि अनुवादका लागि चुनिएको हो। गाड अर्थात् नदी। महाकाली नदी सभ्यताको वरिपरि फन्को मारेको छ कविताले। यसले महाकालीको विकटता जहाँ विकासको खोजीमा जीवन बितेका छन् त्यससँग जोडिएको जनजीवनलाई प्रतिनिधित्व गरेको छ। इमान्दार र साधारण जीवन जिइरहेका मान्छे ‘आमा... आमा...’ भन्दै अर्को ठाउँ पुग्छन्, सुखको खोजीमा। अर्थात्, बसाइँसराइका क्रममा जोडिएका सुखद्सँगै दुखद् घटना र सन्दर्भलाई यसमा समेटेको छु। 

त्यहाँको जनजीवन, रहनसहन, तिनका चाहना, आवश्यकता र पीडा, संस्कृति, परम्परा र समग्र समाजलाई कवितामा उतारेको छु। अनुवादक थपलिया कविता पढ्दा पढ्दै रोएको देख्दा त्यो चित्रण राम्रैसँग उतारें कि भन्ने लागेको छ।

युवामा सबै कवि बन्छन्, कविता लेख्छन् भनिन्छ। कवितामा यति धेरै ताकत हुन्छ भनेर पुष्टि गरिदिनुभयो नि।

जन्मभूमिलाई सपनाको देश अमेरिकाको विश्वप्रसिद्ध सहर न्युयोर्कसँग जोडेर कविता लेखें। कलात्मक, रागात्मक र काव्यात्मक प्रस्तुति त्यो पनि यथार्थ भोगाइलाई न्युयोर्कको सहरिया र दार्चुलाको ग्रामीण परिवेशको सङ्गमस्थलका रूपमा चित्रित गर्नुले बताउला कविताले कसरी पाठकलाई जोड्न सकिन्छ भनेर। जीवन र जगत्लाई यथार्थ ढंगबाट पनि कवितामा पाठकलाई पुगेघुमेजस्तै बनाउन सकिन्छ भन्ने प्रयास हुन् यी दुई कविता। महाकालीको गाड शीर्षक कवितामा त नेपालको दुर्गम ग्रामीण जनजीवनको अनुभूतिजन्य अभिव्यक्ति छ। कविले अभावजन्य जीवन भोगाइका सकस, जीवनका विभिन्न उतारचढाव, विविध सामाजिक, सांस्कृतिक, आर्थिक एवं पारिवारिक सन्दर्भलाई काव्यात्मक प्रस्तुति दिएको हुँ।

यहाँको कविताप्रतिको दृष्टिकोण के छ ?

कवितामा कल्पनाभन्दा यथार्थ बढी आयो भने दसकौं वा शताब्दीसम्म जीवन्त रहन्छ। कविताले विगत–भविष्य जोड्न सक्नुपर्छ। गाउँ–सहर, देश–विदेश, जीवन–जगत्, पृथ्वी–आकाश आदि जोड्न सक्नुपर्छ र त्यसभित्र पाठकलाई सँगै राखेर दौडाउन सक्नुपर्छ। ‘अन्धकारको अनुसन्धानमा’, ‘राजभक्तिमाला’, ‘शान्ति खोज्दै’ र ‘गजबार नभएको सहर’ गरी चार कविता संग्रह लेखें। ‘कलेज गर्ललाई इमेल’ उपन्यास हो भने निबन्ध÷संस्मरणका रूपमा ‘सवारीचालक र तिनका व्यथाहरू’ र ‘फ्रन्टसिट’ नामक कृति लेखें। यी सबैमा यही दिएको छु। स्थानीय सन्दर्भ र परिवेशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सके समग्र नेपाली साहित्यले शिर ठाडो पार्नेछ भन्ने लाग्छ।

कवितांश–

एटलान्टिकका भँगालाहरू

... सहरको अन्तिम किनारा
एटलान्टिक महासागरको 
नजिक एउटा ठूलो ब्याट्री पार्क
ब्याट्रीजस्तै ब्याट्री पार्क
र पार्कभित्र असंख्य फूलहरू
तारबार लगाएको 
न्याउरीहरू खेल्ने खेलमैदान
हजारौं योद्धाका स्तम्भहरू
राष्ट्रिय चराले प्वाँख ओढेको छ
ठूलठूला स्तम्भहरू
प्रत्येक योद्धाको नामसँग जोडिएको छ
त्यहाँ आउने पर्यटकको घुइँचोमा
मालिकार्जुनको जात्रा हेर्छु ...।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.