नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर क्षेत्रमा रेशम चौधरीको विरासत जोगाउन चुनौती

नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर क्षेत्रमा रेशम चौधरीको विरासत जोगाउन चुनौती

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन संघारमा आउँदै गर्दा कैलालीको टीकापुर क्षेत्र फेरि चर्चाको विषय बनेको छ। थरुहट आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते घटेको 'टीकापुर घटना'का कारण उक्त क्षेत्र बेला-बेला चर्चामा आइरहन्छ। ठूला दलकै शीर्ष नेताहरुले 'टीकापुर घटना'लाई कोट्याएर चर्चामा ल्याउँछन्।

दुई हप्ताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कैलाली पुगेर उद्घोष गरे, 'मैले रेशम चौधरीलाई भेट्नै नहुने हो र? म दिल्लीमा पनि भेटेको हुँ। डिल्ली बजारस्थित जेलमा पनि भेटेको हुँ। तपाइँहरुलाई जानकारी गराउँ, सरकारसँग भोलि नै 'सिरियस' कुरा गर्दैछु।'

यतिबेला प्रचण्डले आफ्नै अभिव्यक्तिलाई पूरा गर्न सकेका छैनन्। उनले कैलाली पुगेर वाचा गरेको 'सिरियस' कुरा अहिलेसम्म सार्वजनिक गरेका छैनन्। टीकापुर घटना सम्बन्धनमा प्रचण्डको यो पहिलो वाचा भने होइन। यसअघि पटक-पटक रेशम चौधरी निर्दोष रहेको अभिव्यक्ति उनले दिँदै आएका छन्।

तीन दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि कैलाली पुगे। यसपटक ओलीले आफ्नो अभिव्यक्ति बदले। टीकापुर घटनाबारे केही गर्न नसक्ने भनेका तिनै ओली यतिबेला रेशम चौधरी निर्दोष रहेको अभिव्यक्ति दिए, 'यहाँका थारु नेता जेलमै छन्। अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाए। रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन।'

शीर्ष नेताहरुले रेशम चौधरीबारे अभिव्यक्ति दिँदा 'टीकापुर घटना' चर्चामा आउने गर्छ। तर यसपटक टीकापुरमा अर्को चर्चा पनि छ, जसको कारण हो- नागरिक उन्मुक्ति पार्टी। आफू आबद्ध पार्टीले आश्वानमात्र दिएको भन्दै रेशमले चुनावको मुखमै नयाँ दल दर्ता गराए। श्रीमती रन्जिता श्रेष्ठले बागडोर सम्हाल्नेगरी रेशमले जेलबाटै पार्टी दर्ता गराए।

टीकापुर क्षेत्रमा तिनै रेशम चौधरीको विरासत जोगाउन नागरिक उन्मुक्ति पार्टी लागिपरेको छ। २०७४ को प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र १ मा उनी स्पष्ट बहुमतका साथ विजयी भएका थिए। रेशम ३४ हजार ३४१ मतले विजयी हुँदा प्रदेशसभामा कृष्णकुमार चौधरी १२ हजार १८४ मतले विजयी भए। रेशम चौधरीका प्रतिद्वन्द्वी एमालेकी मदन कुमारी शाह १३ हजा ४०६ मतमा चित्त बुझाउँदा कांग्रेसका ईश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याएका थिए। 

'टीकापुर घटनापछि माओवादीमात्र होइन, मुख्य राजनीतिक पार्टी र तिनका नेताहरु देशको उच्च ओहोदामा पुगे। तर खोइ टीकापुरलाई न्याय दिलाएको? खोइ यहाँका पीडितको आवाज सुनेको?'

त्यही मतलाई जोगाउन आसन्न स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र १ का तीनवटै पालिकामा प्रमुखदेखि सदस्यमसम्मै उम्मेदवार खडा गरेको छ। नागरिक उन्मुक्ति पार्टीको मुख्य म्यान्डेड हो, 'टीकापुर घटना राजनीतिक हो, रेशम चौधरी निर्दोष छन्।'

पार्टीको म्यान्डेट पूरा गर्न टीकापुर नगरको नेतृत्व लिएका छन् रामलाल डंगौराले। उनी पूर्व माओवादी नेता हुन्। अघिल्लो स्थानीय चुनावमा माओवादीबाट टीकापुर-५ को वडाध्यक्षमा निर्वाचित भएका उनी रेशमको म्यान्डेड पूरा गर्न 'फिल्ड'मा उत्रिएका छन्।

माओवादी पार्टी पहिचान स्थापित गर्न, निम्न वर्गीय जनताको पक्षमा वकालत गर्न बनेको उनको बुझाइ थियो। तर पटक-पटक सरकारको नेतृत्व गर्दासमेत माओवादीले आफ्नो वाचा पूरा नगरेको आरोप उनको छ। पार्टीले टीकापुर घटनाबारे पनि केही नबोलेकोमा उनलाई पश्चताप छ।

'टीकापुर घटनापछि माओवादीमात्र होइन, मुख्य राजनीतिक पार्टी र तिनका नेताहरु देशको उच्च ओहोदामा पुगे। तर खोइ टीकापुरलाई न्याय दिलाएको? खोइ यहाँका पीडितको आवाज सुनेको? अरुको त छाडौं, पहिचानको कुरा गर्ने माओवादीले समेत हाम्रो आवाज सुनेन। बरु दबाउने प्रयास गर्‍यो,' उनी अन्नपूर्णसँग भन्छन्।

पार्टीले आफूहरुलाई लत्याएको र पछाडि पार्ने काम गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीमा लागेको उनले बताए। रेशमको पार्टीमा आउँदा उनी एक्लै आएनन्, टीकापुरका अन्य ४ वडाध्यक्षलाई सँगै लिएर आए। त्यही टिमले टीकापुरमा रेशमको विरासत जोगाउने उनले ठोकुवा गरे।

टीकापुरमा जित सुनिश्चित गर्ने ठोकुवा गरेका रामलालसँग त्यहाँको समुदायलाई 'ब्यालेन्स' गर्ने चुनौती छ। टीकापुर घटनाका कारण अझै पनि थारु समुदाय र पहाडी समुदायबीच 'भित्री मन'मा त्रास लुकेको छ। तर टीकापुरका पहाडी समुदायको पनि पूरा समर्थन रहेको रामलालको बुझाइ छ।

'टीकापुर घटनाका कारण यहाँका समुदायबीच फाटो ल्याउने काम राज्यले गरेको हो। टीकापुर घटनामा थारुको होइन, राज्यको दोष छ। थारुले पहिचानको माग उठाउँदा अखण्ड पक्षधर बनाउनु, उग्र पक्षधरको घुसपैठ गराउनु। सबै राज्यको कमजोरी हो,' रामलाल भन्छन्, 'यो कुरा यहाँका समुदायले बुझिसकेका छन्। पहाडी समुदायले पनि टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा समाधान गर्नुपर्छ भनिरहनुभएको छ। कसैलाई हसाउने र रुवाउने खेल नखेली पीडितलाई न्याय दिनुपर्छ भन्ने उहाँहरुको पनि भनाइ छ।'

टीकापुरलाई दीगो शान्ति बनाउनका लागि अन्यायमा परेकालाई भोट दिनुपर्छ भनेर स्वयम् गैर थारुहरु पनि लागेको उनको बुझाइ छ। 'टीकापुरमा अहिले पनि विभेद् कायम छ। जातका कारण होस् या वर्गका कारण होस्, राज्यले गरेको व्यवहारकै कारण भएको विभेद् किन नहोस्, त्यो विभेद् सदाका लागि अन्त्य गर्नुपर्छ। टीकापुरमा हामीले विभेदरहित समाज निर्माण गरेर देखाउछौं,' उनी प्रतिवद्धता गर्छन्।

टीकापुरसँगै रहेको अर्को पालिका हो जानकी। दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका गणेश चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षका आकांक्षी बनेका छन्। पत्रकारिताबाट पहिचानको मुद्दा स्थापित नहुने देखेरै उनले राजनीतिक दल रोजे। तर रेशम चौधरीको पार्टी नै किन? 'माओवादीले राम्रो काम गरिदिएको भए आज रेशम चौधरीले जेलबाट पार्टी खोल्न जरुरी थियो र? त्यही माओवादीले होइन, हिजोका दिनमा पहिचान र अधिकारका कुरा गरेको, थरुहट थारुवान भनेको?,' उनी प्रश्न गर्छन्, 'ती मुद्दा-एजेण्डाहरु कहाँ पुग्यो? उसले त बिर्सिसक्यो यी एजेण्डा। त्यो कुरा अब कसरी स्थापित गर्ने, कसले गर्ने? त्यसका लागि गणेश चौधरीहरु नलागे कसले गरिदिन्छ?' 

'यहाँ जित र हारको कुरामात्र छैन। मूल कुरा मुद्दाको छ। कथित टीकापुर घटनामा अहिले पनि ११ जना थारु जेलमा छन्। झुठा मुद्दा लगाइएका ५८ जना थारु अझै निर्वासन जीवन बिताउन बाध्य छन्।

कैलालीमा पहिचानका कुरा गर्नेहरु धेरै छन्, तर पछिल्लो समय पहिचानको मुद्दा बोक्ने रेशम चौधरीमात्रै भएको उनको बुझाइ छ। 'कैलालीमा पहिचानको कुरा गर्ने अरु पनि छन्। लक्ष्मण थारुहरुले पनि पहिचानका कुरा गर्लान्। तर पहिचानको नेतृत्व कसले गर्‍यो भन्ने मूल कुरा हो,' उनी थरुहट आन्दोलनताकाको कुरा स्मरण गर्छन्, 'हिजोको दिनमा टीकापुर क्षेत्रमा रेशम चौधरी पत्रकार भइरहँदा, एमालेका थारुले, कांग्रेसका थारुले, माओवादीका थारुले हात जोडेर भनेका छन्- रेशमजी हाम्रो नेता कोही भएनन्। नेता बनिदिनुपर्‍यो। उनैहरुले हो टीकापुर क्षेत्रको संयोजक बनाएको।'

रेशमको विरासत जोगाउन गणेश कतिको सफल बन्छन्? उनी भन्छन्, 'चुनाव भनेको राजनीतिक दल वा नेताको मात्र हुँदैन। उनीहरुमा गाउँ विकास गर्ने भिजन, मिसन र लक्ष्य पनि हुनुपर्छ। जुन अहिलेका नेताहरुमा छैन। उनीहरुले स्थानीय तहलाई विकासको मोडलमा होइन, विनासको मोडलतर्फ धकेलेको छ। हो, त्यही विनाश रोक्न स्थानीय तहमा हाम्रो जरुरत छ,' उनी भन्छन्। थारु बाहुल्य रहेको जानकीमा आफूले विजयको झन्डा फहराउने गणेशको दाबी छ।

गणेशजस्तै जोशीपुर गाउँपालिकाका आकांक्षी चित्रबहादुर चौधरीको पनि छ। टीकापुरसँगै जोडिएको जोशीपुरमा ७० प्रतिशत बढी थारुहरु छन्। गठबन्धनलाई बहुमतका साथ पराजित गर्ने उद्देश्यले आफूहरु होमिएको चित्रबहादुर बताउँछन्।

जोशीपुरमा जित र हारभन्दा पनि मुद्दाको बहस मूल कुरा भएको उनको बुझाइ छ। 'यहाँ जित र हारको कुरामात्र छैन। मूल कुरा मुद्दाको छ। कथित टीकापुर घटनामा अहिले पनि ११ जना थारु जेलमा छन्। झुठा मुद्दा लगाइएका ५८ जना थारु अझै निर्वासन जीवन बिताउन बाध्य छन्। घरमुली नहुँदा राजबन्दी परिवारहरुको कति बेहाल भएको छ। आएर हेर्नुस् तपाइँ,' उनी भन्छन्, 'त्यही भएर पनि हामी जित्नुपर्छ। हामी जिते हाम्रो मुद्दा जित्छ। रेशम चौधरीको मुद्दा जित्छ।'

जोशीपुरमा कडा प्रतस्पर्धीको रुपमा उत्रिएका उनी आफूले जिते पहिलो बैठकबाटै टीकापुर घटनालाई राजनीतिक घटना भनी निर्णय गर्ने बताउँछन्। 'मैले जितेपछि टीकापुर राजनीतिक घटनालाई राजनीतिक घटना हो भनी निर्णय गरेर प्रदेश र संघीय सरकारलाई परिपत्र गर्नेछु,' उनी भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.