आपत्तिजनक अभिव्यक्ति
निर्वाचनको प्रमुख सर्त हो, भयमुक्त वातावरण। दबाब र प्रभावबाट मुक्त भएर स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु हरेक मतदाताको अधिकार हो। राजा, महाराजाहरूले जसलाई चुन्यो उसैलाई जनताको प्रतिनिधि मान्नुपर्ने व्यवस्था होइन लोकतन्त्र। तर, राजतन्त्र फालेर गणतन्त्र स्थापना भएपछि पनि जनताको स्वतन्त्रतापूर्वक मत हाल्ने भयरहित वातावरण छैन। ठूलाबडा नेताहरू जबरजस्ती फलानालाई मतदान गर्नैपर्छ, नत्र भन्दै दाह्रा किटिरहेका छन्। तानाशाही व्यवस्थामा पनि निर्वाचन हुन्छ। त्यहाँका शासकहरूले चुनेका प्रतिनिधिलाई नै मतदान नगरे जनता तारो बन्छन्। जस्तो कि पञ्चायतकालमा पनि निर्वाचन हुन्थ्यो। पञ्चायतले चुनेर उठाएका उम्मेदवारले नै जित्ने वातावरण तत्कालीन सरकारले बनाउँथ्यो।
पञ्चायतका उम्मेदवारले नजिते देशै रहन्न जस्तो गरी आतंक सिर्जना गरेर मतदातालाई भड्काइन्थ्यो, धम्क्याइन्थ्यो, तर्साइन्थ्यो। त्योभन्दा अझै उग्रशैलीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका मतदातालाई धम्क्याएका छन्। उनले भनेको ठाउँमा भोट नदिए देश दुर्घटनामा जान्छ भनेका छन्। अर्थात्, उनकी छोरी रेणु दाहाललाई भरतपुरको मेयरमा निर्वाचित नगराए देश दुर्घटनामा जान्छ भन्ने धम्की मतदातालाई दिएका छन्। वैशाख २२ मा चितवनमा आयोजित सभामा प्रचण्डले भने, ‘कसैले ‘हँसिया–हथौडामा भोट हालिँदैन’ भन्यो भने देश दुर्घटनामा जान्छ।’ उनको अभिव्यक्ति हास्यास्पद पनि हुँदै हो, त्योभन्दा बढी निकै घोर आपत्तिजनक, लोकतन्त्र विरोधी र तानाशाही शैलीको हो।
प्रचण्डले यही भूमिमा १० वर्ष लामो सशस्त्र संघर्ष चलाए। त्यसको नेतृत्व गरे। त्यो बेलाको उनको पार्टीको शैली के थियो भने जसले माओवादीलाई समर्थन गर्दैन ऊ वर्ग शत्रु भइहाल्थ्यो। उनको विचारसँग असहमत हुनै पाइन्नथ्यो। फरक विचार भयो कि गोली खायो, ज्यान गयो। शान्ति प्रक्रियाको नेतृत्व आफैंले गरेको दाबी प्रचण्ड गरिरहन्छन्। फेरि त्रास सिर्जना गर्न पनि छोड्दैनन्। सशस्त्र संघर्षकै बेला ब्युँत्याए झैं गरी आगो ओकल्छन्। शान्ति भंग गर्ने, मुलुकलाई अस्थिरतापूर्ण दुष्चक्रमा धकेल्ने चेतावनी दिइरहन्छन्। त्यो शैली जिम्मेवार नेताको लक्षण होइन। अराजकतावाद हो।
लोकतन्त्रमा फरक विचारको सम्मान हुन्छ। फ्रान्सेली दार्शनिक भोल्तेयरले भनेका छन् कि, ‘म तिम्रो विचारसँग असहमत छु, तर तिमीले आफ्नो विचार राख्न पाउने अधिकारका लागि एक थोपा रगत रहुन्जेल लडिरहन्छु।’ प्रचण्ड साँच्चिकै शान्तिका हिमायती हुन्, लोकतन्त्रका पक्षधर हुन् भने जनताले जुनसुकै उम्मेदवारलाई जिताऊन्, जनताले मन पराएको उम्मेदवारले जित्ने व्यवस्थाका लागि कुनै कसर बाँकी राख्दिनँ भन्ने हिम्मत राख्नुपथ्र्यो। उनकी छोरीले जितेमात्रै लोकतन्त्र रहने नत्र नरहने होइन। राजनीतिको कखरा बुझेकालाई थाहा छ कि लोकतन्त्रमा व्यक्ति होइन, विधिप्रधान हुन्छ। लोकतन्त्र भनेकै व्यक्ति होइन, विधिको शासन हो। तसर्थ, प्रचण्डको अभिव्यक्ति घोर व्यक्तिवादी अनि लोकतन्त्र र शान्ति विरोधी छ। व्यक्तिगत स्वतन्त्रताको विपक्षमा छ। हाम्रो संविधानले ग्यारेन्टी गरेको व्यक्तिको राजनीतिक स्वतन्त्रतासम्बन्धी हकको विपरीत छ।
प्रचण्डको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत छ। निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम कारबाहीको भागीदारयोग्य पनि छ। किनभने उक्त ऐनमा भनिएजस्तै जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्याउने वा खलल पार्ने खालकै छ उनको अभिव्यक्ति। हाम्रो शासन व्यवस्था उनले अभिव्यक्त गरेजस्तो कुनै खास व्यक्तिले जित्नै पर्ने र जनताले चाहेको व्यक्ति जिताउन नपाउने होइन।
त्यही ऐनमा मतदातालाई धाक, धम्की र त्रास दिन नपाइने व्यवस्था पनि छ। तर, प्रचण्डले जे त्यो ऐनले गर्न नहुने भनेको छ, त्यसै गरेका छन्। तसर्थ, प्रचण्डको अभिव्यक्ति कानुनी हिसाबबाटै घोर आपत्तिजनक छ।