भोजुपुरमा वडा सदस्यकी उम्मेदवारमाथि खुकुरी प्रहार
भोजपुर : चुनावी गतिविधि बढिरहेका बेला भोजपुरमा अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट एक उम्मेदवार घाइते भएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङको नेकपा एमालेबाट वडा सदस्य उम्मेदवार बनेकी अमिता तामाङलाई अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब १० बजेतिर वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकावधारी व्यक्तिले कुटपिट गरी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
राति परिवारसँग खाना खाइ गफ गर्दै बसिरहेकी तामाङमाथि ति व्यक्तिले सांघातिक हमला गरेको प्रहरीको भनाइ छ । स्थानीय शालिक तामाङका अनुसार उपचाररत घाइते तामाङको टाउकोमा चार टाँका लागेको छ । उनको अवस्था अहिले सामान्य रहेको जनाएको छ ।
खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको डीएसपी राईको भनाइ छ ।