कांग्रेसप्रति खनिए ओली

कांग्रेसप्रति खनिए ओली

काठमाडौं / चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीको अधिकांश अभिव्यक्ति माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति लक्षित हुन्थ्यो। तर, आइतबार उनी कांग्रेसप्रति बढी आक्रामक देखिए। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको खासै आलोचना नगर्ने उनले आइतबार बिहान पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनदेखि चितवनमा आयोजित चुनावी सभासम्म कांग्रेसलाई प्रहार गरे। गठबन्धनको सक्दो आलोचना गरे।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई कमजोर बनाउने मुख्य योजनाकार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा नै भएको दाबी गर्ने अध्यक्ष ओलीले गठबन्धन असार १७ पछि नरहने उद्घोष गरे। ‘राष्ट्रका प्रमुख अंग त देउवाजीले कमजोर पार्नुभयो नै, अहिले प्रचण्डको डरले काम्दै माओवादीले भन्ने कुरा भन्न थाल्नु भएछ,’ उनले प्रसंग कोट्याउँदै आइतबार बिहानको पत्रकार सम्मेलनमा भने, ‘रेणुलाई भरतपुरमा प्रचण्डले होइन मैले उठ भनेको हुँसमेत भन्न भ्याउनु भएछ।’ 

कांग्रेसले २७ वर्ष शासन गर्दा देशलाई दूरगतितिर पुर्‍याएको आरोप ओलीको थियो। ‘संसदीय राजनीतिमा विकृति विसंगति भित्र्याउनमा पनि कांग्रेस नै मुख्य योजनाकार बन्यो,’ उनले भने, ‘अहिले राज्यलाई भड्खालोमा हाल्ने योजना पनि कांग्रेसले बनाइरहेको छ।’ उनले अपिलमा नै कांग्रेसको आलोचना गरेर लेखेका छन्। ‘२७ वर्ष सरकारमा रहँदा संसद्मा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने, बिना कारण अन्य दलका सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने, सांसदलाई विदेशसमेत लगी बन्धक बनाउने काम कांग्रेसले गरेको छ,’ उनले अपिलमा लेखेका छन्। 

संसद् भंग गरी राजालाई सत्ता सुम्पिनेसमेत कार्य कांग्रेसले नै गरेको अपिलमा उल्लेख गरेका उनले पछिल्लो समय संविधानबमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयमा मुद्दा मामिला गर्न पछि नपरेको बताए। ‘सरकारले सही काम गर्दा पनि पटक–पटक अदालत जाने, महाभियोगको डर, त्रास देखाइ अदालतको स्वतन्त्रता हनन् गर्ने काममा कांग्रेस सक्रिय बन्यो,’ अपिलमा ओलीले लेखेका छन्। देश, जनता र राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्गप्रशस्त गर्ने काम कांग्रेसले नै गरेको बताएका ओलीले निजामती सेवा नै खल्बलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गरेको आरोप लगाए। 
‘राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लंघन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने, आधारभूत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने काममा कांग्रेस सक्रिय छ,’ अपिलमा भनिएको छ। 

कर फछ्र्योटको बहानामा सरकारलाई तिर्नु÷बुझाउनुपर्ने एकिन भइसकेको राजस्व मिलेमतोमा छुट माफी गरी देश र जनताको सम्पत्ति÷राजस्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने कार्य सभापति देउवाकै पालामा भएको उनले बताए। अपिलको अधिकांश बुँदामा कांग्रेसको आलोचना गरिएको छ। बहुदलीय शासन व्यवस्था पछिको ३२ वर्षको अवधिमा एमाले करिब ७ वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ३ वर्ष संयुक्त सरकारमा सहभागी भएको थियो। कांग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ७ वर्ष संयुक्त सरकारमा सहभागी भई करिब २७ वर्ष सत्ता सञ्चालन गरेको इतिहास छ । यो अवधिमा कांग्रेस नै सबैभन्दा बढी आलोचनाको सिकार बनेको ओली बताउँछन्। राणा, राजा र कांग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि नबढाएको उनको आरोप छ। 

‘कांग्रेस सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन । नेपाल जस्तो धर्तीको स्वर्गलाई संसारकै उत्कृष्ट राष्ट्र बनाउने अवसरलाई साकार पार्न कहिल्यै ध्यान दिएनन्,’ ओलीले भने, ‘बरू देशलाई संसारकै गरिब, विपन्न, अभावग्रस्त र असमानताको देश बनाइराखे ।’ कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहने बताएका उनले भने, ‘कांग्रेसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । कांग्रेसले निरङ्कुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ।’ अपिलमा भनिएको छ। 

उनले एमालेका लागि जनताभन्दा ठूलो कोही नरहेको बताए। ‘जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो । तसर्थ, हामी जनताका बीचमा रहन चाहन्छौं, उनले भने, ‘जनादेशबाट मात्र जनताको सेवा गर्ने अवसरका लागि प्रयत्नशील रहन्छौं । जनताको आदेश मान्छौं । यसपटक पनि जनताबाट जनताको सेवा गर्ने अवसर हामीलाई प्राप्त हुनेमा विश्वस्त छौं ।’ एमालेले करिब १० वर्ष सरकारमा रहँदा कृषि, रोजगार र उद्योगको क्षेत्रमा व्यापाक सुधार गरेको अध्यक्ष ओलीद्वारा जारी गरिएको अपिलमा भनिएको छ। 

‘औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिवृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोच एमालेकै पालामा आएको हो,’ अपिलमा भनिएको छ। 

अध्यक्ष ओलीले राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयका लागि संविधानसभाको निर्वाचन तथा संविधान लेखन र जारी गर्नका लागि तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नका लागि एमालेले साहसिक र निर्णायक भूमिका खेलेको बताए। ‘संविधान जारी भएको बखत कांग्रेसको आन्तरिक घेराबन्दी मात्र होइन, नाकाबन्दीसम्म व्यहोर्नुपर्‍यो । तर, सार्वभौम नेपाली जनताको अभूतपूर्व साथ र समर्थनबाट राष्ट्रिय जिम्मेवारी पूरा गर्न तथा महान् सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न हामी सफल भयौं’, उनले भने।

अपिल वाचन गर्दै ओलीले नयाँ मतदातको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘क्षमता विकास गरी तपाईंहरूलाई अद्वितीय उपलब्धि हासिल गर्न सक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ ।’ उनले भने, ‘तसर्थ, आउनुहोस्, जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरौं र विकासको नयाँ युगमा प्रवेश गरौं ।’ 

‘महासंकटमा गठबन्धन’

एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई अपराधिक गठबन्धनको संज्ञा दिएका छन्। उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो खड्गो रहेको बताए। राजनीतिक र ग्रहदशा हेर्ने दुवैथरी ज्योतिषीले यस्तो बताएको उल्लेख गर्दै उनले असार १७ पछि गठबन्धन नरहने जिकिर गरे। ‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ’, उनले भने, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? 

यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी। यो मैले होइन ज्योतिषीले नै भनेका हुन्।’ ओलीले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनका नेताका गतिविधिप्रति ध्यान नदिएको आरोप लगाए। ‘सत्तारुढ गठबन्धनका नेताहरूका गतिविधिप्रति आयोगले आँखामा कालोपट्टी बाँधेको छ,’ उनले भने, ‘निर्वाचन आयोगले जुन घोषणा गरेको छ त्यसलाई कार्यान्वयन गरोस्, एउटा दलले अर्को दलको प्रचार गर्न पाइँदैन। तर, शेरबहादुरले अर्काको भोट माग्न हुने तल कार्यकर्ताले नहुने भन्ने के हो त्यो ?,’ उनले सत्तारुढ दलका नेतालाई कारबाही गरेर देखाउन पनि आयोगलाई चुनौती दिए। 

आयोगले बारम्बार गठबन्धनलाई सहयोग हुने निर्णय गर्नु आपतिजनक कुरो भएको उनको भनाइ थियो। ‘एकातिर गठबन्धन हामी चिन्दैनौं भन्ने। गठबन्धन त निर्वाचन आयोगले चिन्दैन भन्यो नि त। किनभने त्यहाँ गठबन्धन गरेर उम्मेदवार उठाउँदा एउटा महिला एउटा पुरुष हुनुपर्नेमा त महिला उठाउनुपर्‍यो नि ! स्वतन्त्र ढंगले त उठाएको होइन। त्यो कुरा नजरअन्दाज गर्नका लागि गठबन्धन नचिन्ने अनि चिह्न बोकेर हिँड्न चिह्नको प्रचार गर्न मत मागेर हिँड्न गठबन्धन मान्य हुने,’ उनले भने। 

धम्काएर भोट आउँदैन 

आइतबार दिउँसो चुनावी सभालाई सम्बोधन गर्न पुगेका एमालेका अध्यक्ष ओलीले धम्क्याउने र तर्साउनेलाई भोट नहाल्न आग्रह गरे। केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुरमा गरेको सम्बोधनको विषय निकाल्दै उनले धम्कीको भरमा भोट नहाल्न आग्रह गरेका हुन्। ‘माओवादीको धम्क्याउने बानी अझै गएको छैन। प्रचण्डको छोरीलाई भोट नदिए कुनै दुर्घटना हुँदैन गठबन्धन मात्र हार्ने हो,’ उनले भने।

कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको भन्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे। जिन्दगीभर कांग्रेस भनेर हिँडेका कार्यकर्ताहरूको मन रोएको भन्दै ओलीले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे। गठबन्धन गरेर कांग्रेसले आफ्नो भविष्य खेर फालेको ओलीको भनाइ छ। उनले भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार बोकेर कांग्रेसले आफ्नो राजनीति सकेको दाबी गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.