रसुवागढी नाका मंगलबारदेखि बन्द हुने
रसुवा : नेपाल चीनबीचको उत्तरी व्यापारिक नाका रसुवागढी मंगलबार रातिबाट बन्द गरिने भएको छ। आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि बन्द गर्न लागिएको हो।
निर्वाचन हुनु ४८ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नुपर्ने भएकाले बैशाख २७ गते राति १२ बजेबाट नाका बन्द गर्न लागिएको हो। नाका शनिबारबाट पुनः सञ्चालनमा आउने छ। नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ।
यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।
चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो।