धर्म–राजनीतिमा युवा नेता
२०६२/०६३ को आन्दोलनपछि धर्म सामाजिक बहसको विषय बन्यो। बहसको विषय बन्दै जाँदा सबैको बुझाइ आआफ्नो भएको छ। विघटन भइसकेको प्रतिनिधिसभा पुनस्र्थापित भएको खुसीमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर नेपाली जनता धर्ममा आस्था राख्दैनन् भन्ने सन्देश दिन खोजियो। बीचका तानाबानाको व्याख्या नगरी सत्य भन्नुपर्दा त्यतिखेर माओवादीले जे भन्छन्, त्यही मानेर माओवादीकै बुइँ चढेर स्वार्थ पूरा गर्न सबै दल लागे। २०७२ असोज ३ गते धर्म निरपेक्ष शब्द राखेर संविधान जारी भएको थियो।
नेपाली समाजमा धर्मसापेक्ष र निरपेक्षको शाब्दिक बुझाइमा ठूलो भ्रम छ। अझ नेपालको संविधानमा धर्म निरपेक्षको व्याख्या गलत छ भन्ने धेरैलाई थाहा छैन। जहाँ धर्म निरपेक्ष भनेको सनातनदेखि चलिआएको धर्मसंस्कृतिको रक्षा गर्ने भन्ने बुझ्नुपर्छ भनिएको छ जो सरासर गलत छ। धर्म निरपेक्ष भनेको धर्ममा अपेक्षा नराख्नु भन्ने बुझिन्छ। सापेक्ष र निरपेक्षको अर्थ शब्दकोषमा नेपाली समाज हेर्न चाहँदैन। किनकि आफैंले जिताएर पठाएको नेताको कुरा नपत्याएर विरुद्धमा सोच्नुभन्दा जे भन्छन् त्यही मानेर हिँड्दा कार्यकर्तालाई सजिलो हुन्छ। १ सय २५ थरी नेपालीको धर्ममा विश्वास नगर्नु हो। धर्मसापेक्ष भनेको धर्ममा अपेक्षा राख्नु हो। १ सय २५ थरी नेपालीको धर्म संस्कृति र पहिचानमा विश्वास छ भन्नु हो। त्यसैले संविधानमा धर्मसापेक्ष लेखाउनु भनेको १ सय २५ थरी नेपालीको अस्तित्व जोगाउनु हो। जसका लागि पुनः आन्दोलनको आवश्यकता भएको छ।
२०६२/०६३ पछि कांग्रेस र कम्युनिस्टको विकल्प बनेर २०७० सालसम्ममा देशको चौथौ शक्ति बनेको राप्रपा नेपाल २०७४ सालमा आउँदा पुरानै अवस्थामा पुग्यो। हामीले देखेबुझेअनुसार राप्रपाले धर्मको एजेन्डा हरेक बेला उठाएर नै अगाडि बढ्यो। संसद्बाट धार्मिक क्षेत्रको पक्षमा उभिएको घटनाहरू इतिहास बनेर बसेका छन्। बिर्सन त सकिन्न तर आन्तरिक पार्टी व्यवस्थापन, एकता र फुटको मारबाट सम्हालिन नपाउँदै आएका दुई चुनावमा पार्टीले राम्रो जनमत ल्याउन सकेन। यसरी पार्टी पुरानै अवस्थामा पुग्यो। सरकारमा गएको रिससँगै विरोधीसँगको तालमेल, सरकार गठन र निरपेक्ष पक्षसँगको गठबन्धन, नागरिकलाई धर्मका लागि नै हो भन्ने विश्वास गर्ने वातावरण बनेन। बेलैमा राप्रपा सार्थक वैकल्पिक राष्ट्रप्रेमी धार्मिक पार्टी हो भन्ने प्रमाणित नहुनु समस्या बन्यो। राप्रपालाई विश्वास गर्न नसकिरहेको अवस्थामा अर्कोतिर धार्मिक क्षेत्रलाई आफ्नो कुरा उठाउन बलियो राजनीतिक पार्टी र नेतृत्वको आवश्यकता थियो। यसबीच २०७८ सालमा भएको राप्रपाको अधिवेशनमा नयाँ नेतृत्व राजेन्द्र लिङ्देनको उदय भयो। यसपछि राप्रपाले फेरि राजनीतिक विश्वास प्राप्त गरेको छ। अब राप्रपाले १ सय २५ थरी नेपालीको मर्म बुझेर सबैको स्थानीय स्वधर्मको रक्षा गर्दै नेपालीको मूलधारको पार्टी बन्नेछ। नेपालको राजनीतिमा आज लिङ्देनले पाएको साथ र समर्थन विरलै कुनै नेपाली नेताले पाए होला।
राजासहितको धर्मसापेक्ष प्रजातन्त्रको माग गर्ने पनि नेपालमा टुक्रिएको जमात ठूलै छ। कांग्रेस र कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ता पार्टी छोडेर राप्रपा प्रवेश गरिरहेका छन्। विचार कमजोर भएको बेला आएको लहरलाई देश र धर्मको लागि बिनासर्त समर्थनका साथ योगदान गर्दै सबैसँग सहकार्य गर्नुपर्ने बेला छ। तर, सहकार्यको सोच त परै जाओस्, पुरानै स्वार्थी शैली र आडम्बर देखाएर गैरधार्मिक मान्छे राजाको नामको आडमा अभियन्ता र नेता बनेका छन्। यसले देशभक्त धार्मिक आन्दोलन बदनाम गराउन सहयोग पुगेको छ। फुटेर होस् वा जुटेर, धर्मको पक्षमा कार्यक्रम बनाएर गुटको उपस्थिति देखाउनु धर्म र देशको पक्षमा राम्रो नै मान्नुपर्छ।
सबैभन्दा ठूलो धर्मको सरोकारवाला समाज धार्मिक समाज हो। यो क्षेत्रलाई नै २०६२/०६३ पछि बनेको संविधान र व्यवस्था मन परेको छैन। २०४६ सालपछि नेतृत्वमा रहेको कांग्रेस र एमालेले धर्मको एजेन्डा पनि माओवादीको बुइँ चढाइदिन्छ भन्ने विश्वास थिएन। एक्लाएक्लै भए पनि कोही रत्नपार्कमा धर्ना दिने त कोही खुलामञ्चमा अनशन बस्ने देखिन्छ। कोही विशाल धार्मिक सभा गर्ने त कोही पूर्व कोही पश्चिममा सकेको काम गर्ने चरित्र छ। आजको दिनसम्म यही विधि विधान र संगठनबाट यो देशलाई सनातन हिन्दु राष्ट्र कायम गर्छौं भन्ने हैसियत र दृष्टिकोण दिन सक्ने नेपाली साधु–सन्त, गुरु वा धार्मिक व्यक्ति भेटिएको छैन। एकता र गठबन्धनको लागि नेपाल सन्त समाजको संरक्षणमा ‘विश्व ओमकार एकता महाभियान’ बनेर कार्य सञ्चालन सुरु भएको छ। यो अभियानले देशमा फरकफरक धारमा कार्य गरिरहेका प्रायः सबै पन्थ र सम्प्रदायलाई सहकार्य गर्ने संस्कारको थालनी गराएको छ। नीतिमा राज गरे राजनीति हुन्छ नीति छोड्नेबित्तिकै राजनीति हुँदैन। कुनीति हुन्छ। कुनीतिलाई राजनीतिमा रूपान्तरण गर्नु ज्ञानी गुरुहरूको पहिलो राष्ट्रधर्म हो। जनताले सुख र समृद्धिका लागि कांग्रेस र कम्युनिस्टलाई स्वीकारेका हुन्। तसर्थ धार्मिक समाजले अब पुनः राष्ट्रिय बहस गरेर शक्ति केन्द्र खोज्नुपर्छ। धार्मिक समाज आफैं उभिने हिम्मत जुटाउनु पर्छ। गलत राजनीति सच्याउन निर्देशन दिन सक्ने चरित्र र सोच बनाएर धार्मिक क्षेत्र बस्नुपर्छ। सबै धार्मिक संघसंस्था सम्प्रदाय अट्ने विधिविधानको संयोजन गरी नीति र नेतृत्व हुनुपर्छ।
देशैभरका धार्मिक मठमन्दिर, गुम्बा, गुरु, पुरोहित, ज्योतिष, संघसंस्था र संगठनहरूको राष्ट्रिय सम्मेलन गर्नुपर्छ। त्यसले स्वतन्त्र धार्मिक शक्ति केन्द्र वा महासभा बनाउनुपर्छ। धार्मिक आचरण र चरित्र भएका व्यक्तिहरूलाई प्रतिनिधि बनाएर धर्म राजनीति गर्ने पार्टीमा पठाउनुपर्छ। अर्थात्, धार्मिक राजनीतिक शक्ति केन्द्र बनाउनुपर्छ। अनि नीति र नेतृत्व बनाएर कार्ययोजना तयार पार्नुपर्छ। यसरी स्थानीय चुनावलाई प्रयोग गर्ने हो भने धार्मिक भोट बाँडिने छैन। हिन्दुको भोट एकै पार्टी र चिह्नमा हाल्न सुरु भएपछि धार्मिक राजनीतिक शक्ति केन्द्रीकृत हुनेछ। पछिल्लो पुस्ताले आफ्नो धर्म संस्कृति र पहिचान जोगाउन अर्को राजेन्द्र लिङ्देनहरू कुर्नु पर्दैन।
लेखक नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख हुन्।