एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वारलाई स्थानीयले घेरे : हाल सशस्त्रको पहरामा
इलाम : नेकपा एमालेको तर्फबाट सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार उदय राईलाई गाडीसहित मतदाता प्रभावित गर्न गाउँ पसेको भन्दै स्थानीयले घेराबन्दी गरेपछि सशस्त्र प्रहरी बलको स्थानीय इकाइमा राखिएको छ।
सन्दकपुर गाउँपालिका ५ जमुनामा राती पुगेका उनलाई स्थानीयले घेराउ गरेर सशस्त्रको जिम्मा लगाएको नेपाली काङ्ग्रेस जिल्ला सदस्य प्रकाश भट्टराईले जानकारी दिए। उनले भने, 'गाडीसहित गाउँमा आएका उनलाई अहिले सशस्त्र प्रहरीको पहरामा राखिएको छ।'
अध्यक्षका उम्मेदवार राईसहित वडा सदस्य सिता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। ससस्त्र प्रहरी बलले राईलाई सुरक्षाका लागि राखेको बताएको छ। राई निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।
मौन अवधिमा पनि इलाममा आज दिनभरि उम्मेदवारहरू नागरिकको घर दैलोमा पुग्ने क्रम रोकिएको छैन । सामाजिक सञ्जालमा समेत उम्मेदवारको पक्षमा सामग्री शेयर गर्ने क्रम चलिरहेको छ।