आफैं कोरौं उज्ज्वल भविष्य

आफैं कोरौं उज्ज्वल भविष्य

निर्वाचन लोकतान्त्रिक पद्धति हो। लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो। लोकतन्त्रले विधि माग्छ। विद्यमान पद्धतिहरूमध्ये निर्वाचनभन्दा सर्वाेत्तम विधि अर्को भेटिएको छैन। नेपालका ७ सय ५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधिको चयन लोकतान्त्रिक विधिबाट गर्न आज मतदान हुँदैछ। निर्वाचनका अनेक स्वरूपमध्ये सबैभन्दा महत्त्वपूर्ण मतदान हो। पूर्वतयारी र परिणाम मतदान अघि र पछिका प्रक्रिया हुन्। उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धा भई मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु लोकतन्त्रको आधारभूत सर्त हो। मतदानको अघिल्लो साँझसम्म देशभर छिटफुटबाहेक अप्रिय घटना नहुनु सुखद संकेत छ। निर्वाचनको चरण र प्रक्रियाका धेरै काम निर्वाचन आयोग, सरकार, दलहरूले गरेका छन्। मतदाताले अब असल उम्मेदवारलाई मत दिने प्रमुख काम आज गर्नुछ। 

देशभरका १ करोड ७७ लाख मतदाता सबैले मतदान गरे भने यो निर्वाचन सार्थक हुन्छ। जहाँसम्म अहिलेसम्मका निर्वाचनमा शतप्रतिशत मतदाताले मतदान गरेको रेकर्ड छैन। देशबाहिर भएर वा विविध कारणले सबै मतदाता मतदानमा सहभागी हुन सक्दैनन्। तर निर्वाचनको मर्म के हुनुपर्छ भने धेरैभन्दा धेरै मतदाताले यसमा सहभागिता जनाऊन्। मतदाताको उत्साहपूर्ण सहभागिताले नै निर्वाचनलाई सार्थक बनाउँछ। निर्वाचनमा भाग लिनु मतदाताको अधिकार र कर्तव्य दुवै हो। आफ्नो जनप्रतिनिधि आफैं चुन्ने व्यवस्था ल्याउन धेरै नेपालीले त्याग, तपस्या, संघर्ष र बलिदान गर्नु परेको छ। साना संघर्षले नेपाली नागरिकलाई मतदानको अधिकार प्राप्त भएको होइन। मतदानमार्फत असल जनप्रतिनिधि चुनेर राज्य सञ्चालनलाई उत्तरदायी र विधिसम्म बनाउने मतदाताको कर्तव्य हो। 

यो निर्वाचनबाट ३५ हजार जनप्रतिनिधि चुनिने छन्। स्थानीय तह भनेको जनताको सबैभन्दा नजिकको सरकार हो। स्थानीय सरकारहरूको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कोभिड महामारीका बेला जनताले अनुभूति गरेका छन्। थुप्रै कमी, कमजोरीका बाबजुद स्थानीय सरकारले विकासका पूर्वाधार तयार पारेका छन्। जनताले छुँदा छोइने र हेर्दा देखिने रूपमा स्थानीय सरकारको उपस्थिति भएको छ। यसै पनि २०७४ सालमा पहिलोचोटि आएका जनप्रतिनिधिले कानुन, पूर्वाधार, मानव संसाधनलगायत अभाव झेले। अब भने यसको जग बसिसकेको छ। आगामी दिनमा झन् धेरै उपस्थिति देखाउने आधार तयार भइसकेको छ। 

बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था भएको हुँदा उत्तम दलको उत्तम प्रतिनिधि छान्ने मौका मतदातालाई छ। दलबाहेक स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। उम्मेदवारको विगत र वर्तमान मात्रै नहेरी उसको भविष्यको आकलन पनि जनताले गर्न सक्नुपर्छ। सोही आधारमा भविष्यका लागि जनप्रतिनिधि चुन्नुपर्छ। विगतमा थुप्रै कमी, कमजोरीसहितका जनप्रतिनिधि चुनिएको पनि देखियो। थुप्रैलाई भ्रष्टाचारदेखि बलात्कारसम्मका जघन्य अपराधका मुद्दा लागेका छन्। त्यो हाम्रो लोकतन्त्रका लागि बेइज्जत हो। जनताका लागिभन्दा आफ्ना लागि मरिमेटेर लाग्ने, स्रोतको दोहन गर्ने, राज्यकोषमा अनियमितता गर्नेलगायत काममा जनप्रतिनिधि मुछिए। आउँदा जनप्रतिनिधिबारे त्यस्तो सुन्न र देख्न नपरोस्। 

जनीतिलाई सेवा मानेर कर्तव्यमा लाग्ने जनप्रतिनिधि नै असल जनप्रतिनिधि हो। निर्वाचन जित्न पैसाको खोलो बगाउने, बल प्रयोग गर्ने वा अनेक हतकण्डा अपनाउने उम्मेदवारलाई जनताले चिन्न सक्नुपर्छ। मतदाताले कुनै डर, धाक, धम्कीका अघि सम्झौता गर्नुपर्ने कुनै कारण छैन। यो मतदान गोप्य हुन्छ। गोप्य मतदानको तात्पर्य नै मतदाताले कसैसँग सम्झौता गर्नु नपरोस् भन्ने नै हो। तसर्थ आफ्नो भविष्य सुन्दर बनाउने उम्मेदवार रोजेर ढुक्कले मतदान गरौं। ता कि भोलिको दिन उज्ज्वल होऊन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.