चुनावी मनोविश्लेषण
मुलुक चुनावमय छ अचेल ! गणतन्त्र नेपालको दोस्रो स्थानीय चुनाव हाम्रो घरदैलोमा नै आइसकेको छ। त्यसपछि प्रदेश अनि संघीय संसद्का लागि हुने चुनाव पनि करिब करिब सन्निकट नै छ। यस लेखको उद्देश्य भने राजनीतिक रूपमा त्यसको चर्चा गर्नु नभई चुनावका तीन प्रमुख पक्ष : ‘राजनीतिक दलका नेता, उम्मेदवार एवं मतदाता’को मनोवैज्ञानिक परिस्थितिको विश्लेषण गर्नु हो। आमजनताको मनोसामाजिक अवस्थाको यथार्थपरक चित्रण गर्नु हो।
‘राजनीतिक दलका नेता’ को मनस्थितिको आकलन गर्दा यस समय सब दल (चाहे ती पुराना वा स्थापित, नयाँ खुलेका, ठूला हुन् या साना, सत्तापक्ष हुन् या प्रतिपक्ष)को उद्देश्य ‘जित्नु’ नै हुन्छ। ‘जितको व्यग्र चाहना’ले तिनमा एकअर्काप्रति शंका–उपशंका जन्माउने त छँदैछ। त्यस्तै ‘हार’को डर पनि हुन्छ। आफ्नो हार प्रतिपक्षीको जित त हुँदै नै हो, पार्टीभित्रैका पनि समवयी नेतासँगको प्रतियोगी भावनाले अर्कोले पार्टीको शक्ति लिन सक्ला भन्ने त्रास हुन्छ। अतः ‘राजनीतिक दलका नेता’लाई आफ्नो पार्टीको जितमात्र नभई पार्टीका अन्य नेताभन्दा आफ्नो उत्कृष्टता कायम राख्ने चुनौतीसमेत विद्यमान रहन्छ।
अतः यस्ता चुनौती एवं जितको उत्कट उत्कण्ठाले गर्दा नेतृत्ववर्ग सधैं नै तनावमा रहेका हुन्छन्। त्यस्तो तनाव चुनावको समयमा अझै बढी हुने गर्छ। अतः ज्यादा दौडधुप, ज्यादा परिश्रम, अधिक भाषणबाजी, चर्काे नारा चुनावको समयमा नेताहरूको स्वास्थ्य क्षयीकरणका प्रमुख कारण हुन सक्छन्। आहार–बिहारमा सजगताको अभाव, व्यायाम आदिमा आउने सुस्तता, अनि धूमपान–मद्यपानमा हुन सक्ने वृद्धि आदिका कारण तिनको शारीरिकभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव पर्ने गर्छ। ज्यादा उत्तेजना, बोली व्यवहारमा हुने परिवर्तन, हिंसा–प्रतिहिंसाको भावना जाग्नु, विपक्षीको चरित्र हत्यातर्फ लाग्नु, यी सबै मनोवैज्ञानिक समस्याका द्योतक हुन सक्छन्।
‘उम्मेदवार’ले त झन् बढी तनाव महसुस गर्छन्। स्थानीयस्तरका राजनीतिक कार्यकर्ता प्रायः स्थानीय जनताको चिनजानकै रहन्छन्। ती उम्मेदवारले गर्ने भाषण, देखाउने व्यवहार, बाँड्ने आश्वासन आदि त भइनै हाले। पहिलेकै विजयी नेता भए तिनले पुर्याउन नसकेका वाचा, मिडियामा आएका तिनका नकारात्मक समाचारहरू (भ्रष्टाचार, पदलोलुपता, नातावाद–कृपावाद आदि) अनि तिनको जीवनस्तरमा देखिने गरी भएको परिवर्तन सबै जनता (मतदाता)ले अनुभव गरिरहेका हुन्छन्। अतः ‘उम्मेदवार’को मनस्थितिमा त्यस्ता कारणले असर पारिरहेका हुन्छन्। हीनताबोध, पश्चाताप आदिले दह्रो रूपमा जरा गाडिरहेकै हुन्छ। तर तिनले ती मनोविकारहरू प्रकट गर्न चाहँदैनन् या सक्दैनन्।
त्यस प्रकारको अवस्थाले ल्याउने उद्वेलन, उत्तेजना आदिका कारण मनोवैज्ञानिक रूपमा कमजोर भइसकेका हुन्छन्। त्यस्तो कमजोरीलाई ढाक्न, छोप्न या घटाउन (?)का लागि मद्यपानको सहारा लिने उम्मेदवार अत्यधिक मात्रामा हुन्छन्। जनतासँग घुलमिल भएको देखाउन भोजभतेरको आयोजना गर्न या नगदै बाँड्नसमेत पछि पर्दैनन् ती। आजकल मिडियामा देखिने तिनले जनताको खेत जोतिदिएको या तिनको सरसफाइको काम गरिदिएको आदि सबै तिनको मनोवैज्ञानिक अवस्थाका द्योतक हुन्।
माथि उल्लेख भएझैं तिनको खानपिनमा आउने परिवर्तन, निद्रामा हुने गडबडी, ज्यादा धपेडी आदिका कारण तिनको स्वास्थ्य (शारीरिक मात्र नभई मानसिकसमेत) मा हुने गिरावटको नजरअन्दाज गर्न सकिन्न।
‘मतदाता’हरू त चुनावका मेरुदण्ड नै भए। तिनको मनस्थितिमा पनि उल्लेखनीय परिवर्तन ल्याउँछ चुनावले। जागरुक मतदाताहरू राम्रा उम्मेदवारले जितुन् भन्ने चाहनामा हुन्छन्। तर, आफ्नै नातागोता या चिनजानका व्यक्ति आफूले नचाहेको दलका उम्मेदवार बनेर आइदिन्छन्। कसलाई जिताउने भन्ने दुविधामा रहन्छन्। थाहा नपाएका एवं राजनीतिक प्रणाली नबुझेका मतदाता भने ‘फेरि चुनाव ?’, ‘कत्ति भोट दिने ?’, ‘यिनलाई जिताएर के हुन्छ र ?’, ‘यसपालि त म नो भोट’, ‘कसलाई भोट दिने ?’, ‘तिनलाई जिताएर हामीले के पाउँछौं र ?’, ‘सबै उस्तै त हुन् नि !’, भन्नेजस्ता अनेक मनोवेगका कारण तनावमा रहन्छन्। अझ भोजभतेरद्वारा खुसी पारिएका या नगदैबाट किनिएका या धम्की–दबाबका कारण कमजोर पारिएका मतदाताको मनस्थिति त झन् कमजोर हुने नै भयो।
यी तीनबाहेक अन्य पक्ष पनि छन्। चुनावसँग प्रत्यक्ष जोडिएका, जस्तै ः सुरक्षाकर्मी, प्रशासनिक कर्मचारी आदि। मनोचिकित्सक या मनोविश्लेषकको नजरबाट हेर्दा या मसँग परामर्शमा आउने नेता, कार्यकर्ता, उम्मेदवार या आमजनता (मतदाता)मा पाइने गरेका मनोसामाजिक समस्याको विश्लेषणात्मक प्रस्तुति नै हो। आफ्नै सौर्य, ऊर्जा, स्वाभिमान या निष्कलंक सेवाका कारण जानिएका–चिनिएका–मानिएका, अनि अवश्य विजयी हुने या हारलाई पनि सहर्ष स्वीकार्न सक्ने सच्चा राजनेता पनि हामीकहाँ नभएका होइनन्। तिनको मनोविश्लेषण गर्नुपर्ने म देख्दिनँ।
जितको तीव्र चाहना बोकेका या जितका लागि साम, दाम, दण्ड, भेद, उचित या अनुचित जुनसुकै कदम उठाउन पछि नपर्नेहरूले कथंकदाचित हारे के होला ? तिनमा आउने व्यग्रता, रिस, आवेग आदिले तिनलाई मनोरोगी नै बनाउने अवस्था आई नपर्ला पनि भन्न सकिन्नँ। हुन त, सबै जितका लागि नै चुनावमा उठेका हुन्छन्। तर आत्मसंयमता, आहार–विहारमा सन्तुलन, सकारात्मक ऊर्जा कायम राख्न सकेमा तिनले जित या हारलाई समान रूपले स्वीकार्न सक्ने, पुराना गल्तीहरूलाई सुधार गर्न सक्ने अनि असल राजनीतिक संस्कार कायमै राखी स्वास्थ्य स्थितिलाई पनि सबल पारिराख्न सक्ने हुन्छन्। यसका लागि सबै राजनीतिक
दलमा नियमित परामर्श, छलफल, मनोविमर्श चलाउन जरुरी देखिन्छ। त्यस्तै, आम मतदातामा चेतनाको कमीका कारण या मतदान–शिक्षाको अभावका कारण देखा पर्न सक्ने तनावको उचित व्यवस्थापन गर्न पनि
सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ।
रिसाल मनोचिकित्सक हुन्।