सप्तरीको स्थगित निर्वाचन आइतबार हुने
राजविराज : मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको दुई वटा मतदान केन्द्रको निर्वाचन आइतबार हुने भएको छ। डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितीमा मतदानस्थलमै बसेको वैठकले स्थगित डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहाको २ वटा मतदान केन्द्रमा आइतबार विहान ७ बजेदेखि पुनः मतदान गर्ने निर्णय भएको हो।
अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिन्हमा छाप लगाउनु पर्नेमा मतदान अधिकृत विपिन यादवले कांग्रेसको चुनाव चिन्हमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित भएको थियो।
मतदान केन्द्र ‘क’ का मतदान अधिकृत राजविराज नगरपालिका स्वास्थ्य शाखामा कार्यरत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, सप्तरीका डीएसपी माधवप्रसाद काफ्ले, सशस्त्र डीएसपी श्याम शर्मा पौडेल घटनास्थल पुगेका छन्।
उनीहरुको उपस्थितिमा मतदानस्थलमै बसेको सर्वदलीय बैठकले कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय गरेको हो। बैठकमा जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’ का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवको उपस्थिति रहेको छ।
त्यस्तै उक्त निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्र उम्मेदवार सहभागी छन्।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत घाइते मतदान अधिकृत यादवले उम्मेदवारका प्रतिनिधिहरुको निर्णयअनुसार नै आफूले अशक्त महिलाको मतदान गरेको र उनले औँलाले देखाएकै रुख चिन्हमा छाप लगाएको बताए।
कूल जनसंख्या ४८ हजार ३१४ रहेको डाक्नेश्वरी नगरपालिकामा १५ हजार २३ पुरुष र १३ हजार ४१२ महिला गरी कूल मतदाता २८ हजार ४३५ रहेको छ। जम्मा १० वडा रहेको नगरपालिकामा २१ मतदानस्थल र ३७ मतदान केन्द्र छन्। आइतबार पुनः मतदान भएपछि मात्र डाक्नेश्वरी नगरपालिकाको मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए।