इलाममा ६५ प्रतिशत मतदान, गणनाको तयारी सुरु
इलाम : स्थानीय तहको दोस्रो निर्वाचनको क्रममा इलाममा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक बिवरण छ। जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा शुक्रबार बिहानदेखि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।
इलामका १० पालिकामा १५१ वटा मतदानस्थल मा रहेका २८५ मतदान केन्द्रबाट मतदानको व्यवस्था गरिएको थियो। इलामका मतदाताले १ हजार ३ सय १९ जना प्रतिस्पर्धिलाई मतदान गरेका थिए।
बिहान सात बजेदेखि सुरु भएको मतदान सकिएपछि शुक्रबार रातिदेखि नै मतगणना सुरु गर्ने प्रमुख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए।
इलाममा स्थानीय तह निर्वाचनका लागि २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन्। इलामका ४ नगरपालिका, ६ गाउँपालिकाका ८१ वटा वडामा चार सय २५ जनप्रतिनिधि निर्वाचित गर्न मतदान सम्पन्न भएको छ। ५ जना जनप्रतिनिधि निर्विरोध भएका छन्।
जिल्लाभर मतदान सम्पन्न गरी मत पेटिका मतगणना स्थलमा ल्याउन थालिएको छ। निर्वाचन व्यवस्थापन समितिको बैठक बसी मतगणना गर्ने बारे छलफल गर्न लागिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्खनामले बताए।
जिल्लाको चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका केही वडाको मतपेटिका संकलनमा ढिलाई हुने देखिएको छ। अन्य पालिकामा भने ९ बजेसम्म मतपेटिका गणनास्थलसम्म पुर्याइने जनाइएको छ।