सप्तरीको रुपनीमा प्रहरीद्वारा पाँच राउन्ड हवाइ फायर
राजविराज : सप्तरीको रुपनी गाउँपालिका-५ बसविट्टीस्थित वडा कार्यालय भवनको मतदानस्थलमा शुक्रबार राति पाँच राउन्ड हवाइ फायर भएको छ। रोकिँदै सुचारु भएको मतदानस्थलमा अबेर राति उत्पन्न विवादले झडपको रुप लिएकाले हवाइ फायर गरिएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
दिउँसो सवा ४ बजे वर्षाले केहीबेर मतदान कार्य प्रभावित भएको थियो। मतदान कार्य पुनः सुरु भएपछि केहीले रुजु भइसकेर पनि अकस्मातको वर्षाले मत खसाउन नपाएको गुनासो गरे। केहीले रुजु गरिसकेर मत खसालेका व्यक्तिले पुनः मतदान गरेको भन्दै विरोध गरे। दुई पक्षबीच विवादले झडपको रुप लिएपछि अवस्था नियन्त्रणमा लिन राजविराजबाट ठूलो सङ्ख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ।
नेपाली कांग्रेसका सन्तोष यादवका अनुसार अर्काको नाममा मत खसाउन आएका व्यक्ति दिउँसै पक्राउ परेपछि एउटै व्यक्तिले धेरै पटक बोकस मत खसाएको भन्दै विवाद सुरु भएको थियो। विवादका बीच पुनः सुरु भएको मतदानमा हवाइ फायरपछि भागाभाग भएकाले मतदाताहरु डरले आउन नसकेको बताए।
अर्कोतिर जसपाबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरेराम यादवले शान्तिपूर्ण तरिकाले भएको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुले बीचबीचमा निहुँ खोजेर स्थगन गर्न चाहेको र कांग्रेसको इशारामा मतदान स्थगित गर्न खोजिएको बताए। निर्वाचन स्थगित गर्ने वा कायम राख्ने विषयमा दलहरुबीच विवाद रहेको छ।
रुपनी गाउँपालिकाका निर्वाचन अधिकृत कुमार मास्केले हवाइ फायर भएकोले सो केन्द्रको निर्वाचन स्थगित गर्नुपर्ने भन्दै आएका छन्। जसपा पक्षबाट भने स्थगन गर्न नपाइने भन्दै नाराबाजी भइरहेको छ।
मतदान केन्द्र ‘क’ मा ७५६ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका थिए भने केन्द्र ‘ख’ ७६७ मतदाता रहेकोमा ५६२ जनाको मत खसेको निर्वाचन अधिकृत मास्केले बताए।