बढेको बढ्यै पेट्रोलियम मूल्य

बढेको बढ्यै पेट्रोलियम मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो। अब उपभोक्ताले पेट्रोल प्रलिलिटर १ सय ७० रुपैयाँ र डिजेल/मट्टितेल १ सय ५३ रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य बढाए पनि अझै घाटा भएको बताए। अझै १५ दिनमा ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने उनको तर्क छ। घाटा भए पनि निगमले एलपी ग्यास, हवाई इन्धन (बाह्य र आन्तरिक) कोे मूल्य भने यसपटक यथावत् राखेको छ। ती वस्तुको मूल्य गत चैत २२ गते नै बढाएको थियो। त्यस समय ग्यासको मूल्य बढाएर १ हजार ६ सय, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १ सय ५६ र हवाई इन्धन (बाह्य)अमेरिकी डलर १.५४५ बनाइएको थियो। 

इन्डियन आयल कर्पोरेसनबाट वैशाख १८ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको थियो। उक्त मूल्य सूचीबाट निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड रुपैयाँ घाटा हुने भएकाले घाटा केही कम गर्न मूल्य बढाइएको सह–प्रवक्ता पुष्कर कार्कीले बताए। 

रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेपछि निगमले मूल्य बढाएको बताउँदै आएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट घाटा बढ्दै गएपछि निगम भाउ बढाउन बाध्य भएको प्रवक्ता उपाध्यायले बताए। निगमले पेट्रोलको खपत घटाउन जेठ १ गतेदेखि आइतबार बिदा दिने सरकारलाई गरेको सिफारिससमेत कार्यान्वयनमा आइसकेको छ। यसबाट दैनिक ७० करोड जोगिने अनुमान निगमको छ। 
पेट्रोलमा १४.३६, डिजेल ३१.४४ र मट्टीतेलमा १२.६४, हवाई इन्धन आन्तरिकमा १२.६४ र हवाई इन्धन बाह्यमा ६४.६९ रुपैयाँ र एलपी ग्यासमा १ हजार ५० रुपैयाँ निगमले घाटा बेहोर्दै आएको छ। 

यसैबीच पेट्रोलको मूल्य वृद्धिका कारण व्यापारघाटा उच्च हुनुका साथै विदेशी मुद्रा सञ्चितिमा कमी आउन देखिएको छ। यसले भुक्तानी सन्तुलनमा असर पुर्‍याउने अर्थविद्को आँकलन छ। अर्थविद् केशव आचार्यले मूल्य वृद्धिले उपभोक्तालाई प्रत्यक्ष असर पुग्ने बताए। ‘पेट्रोल, डिजेलको मूल्य बढ्दा चौतर्फी प्रभाव पर्छ’, उनले भने, ‘यसले उपभोक्ता मूल्य र उत्पादक मूल्यमा चाप पर्छ।’ अर्थविद् आचार्यले मूल्य वृद्धिले धेरै प्रभाव मुद्रास्फीतिमा पर्ने बताए। ‘पेट्रोल बढाउँदा निजी गाडीमा मात्रै प्रभाव पथ्र्यो’, उनले भने, ‘डिजेल बढ्दा चौतर्फी असर पर्छ।’

डिजेल, पेट्रोलको भाउ बढेपछि वस्तु तथा सेवाको मूल्य बढ्ने, खाद्यान्न, लत्ताकपडा बढ्ने भएकाले सबभन्दा मारमा निम्न वर्गीय पर्ने अर्थविद् आचार्य बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले भाउ बढाउनुको विकल्प छैन। अहिले पनि यहाँभन्दा भारतीय सीमामा महँगो छ’, अर्थविद् आचार्य भन्छन्,‘ भारतको मूल्यभन्दा तल राख्न सक्दैनौं। १, २ रुपैयाँ कम पर्ने बित्तिकै भारतका सवारी साधनले यहाँबाट फाइदा लिन्छन्। कर घटाएर कम गर्दा पनि यहाँबाट इन्धन तस्करी हुन्छ।’

पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाले अन्तर्राष्ट्रिय जगतमै भाउ बढेका कारण भारतबाट बढेको मूल्यसूची आएपछि यहाँ बढ्नु स्वाभाविक भएको बताए। रूस–युक्रेनको युद्धले खाद्यान्न, पेट्रोल, खाने तेलको भाउ बढेको उनले बताए। ‘तत्कालको विकल्प खपत कम गर्ने नै हो,’ बाँस्कोटा भन्छन्, ‘मोटर एक्लैले नहिँडी लिफ्ट दिने, जोरबिजोर प्रणाली अपनाउने, डिजेल, पेट्रोलमा कोटाको व्यवस्था गर्नुपर्छ।’ सार्वजनिक सवारी साधनको व्यवस्था गर्नुका साथै मालवाहक ट्रक रित्तै नहिँडाउने व्यवस्था गर्दा पनि खपत कम हुने बास्कोटा बताउँछन्। महँगा र धेरै तेल खाने गाडी निरुत्साहित गर्न सके पनि पेट्रोल खपत कम गर्न सकिने उनको भनाइ छ।  नेपालले कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थको आयात गर्छ। गत वर्ष २ खर्बको आयात गरेको थियो। यस वर्ष सोही मात्रामा पेट्रोल खरिद गर्दा साढे २ खर्बदेखि ३ खर्बसम्म बाहिरिने देखिएको छ। 

पछिल्लो समयमा नेपाल जलविद्युत्मा आत्मनिर्भर हुनै लागे पनि विद्युतीय गाडीमा जोड दिन सकेको छैन। अर्थविद् बास्कोटाले आउँदो बजेटबाट विद्युतीय गाडीमा हदैसम्मको छुट दिनुको विकल्प नभएको बताए। ‘अहिले ३ हजार पेट्रोलपम्प छन्, अब सरकारले आउने वर्षभित्रै ३ हजार चार्जिङ स्टेसन बनाउनुपर्छ,’ उनले भने। पेट्रोलको खपत कम गर्न निगम तथा सरकारले मात्रै नसक्ने भन्दै निजी क्षेत्र र आम जनताले पनि ध्यान दिनुपर्ने पूर्वअर्थसचिव बाँस्कोटा बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.