त्रियुगा-१२ मा मतगणना गर्न एमाले र कांग्रेसको माग
उदयपुर : मतगणना गर्ने वा निर्वाचन गर्ने भन्ने विषयमा निर्वाचन आयोगले समयमा निर्णय दिन नसक्दा उदयपुरको त्रियुगा नगरपालिका-१२ निर्वाचन प्रकृया झन पेचिलो बन्दै गएको छ।
आयोगको निर्णयको प्रतिक्षामा रहेका दलहरुले उक्त वडालाई आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। दलहरुबीच मिश्रित प्रतिकृया आएपनि प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले मतगणना गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन्।
एमालेका मेयर पदका उमेदवार भागवत राउत भन्छन्, ‘झरेको मतलाई सदर गरी मतगणना गर्नुपर्छ, हाम्रो आधिकारिक धारणा यहीँ हो।’ मतगणना कार्य संचलान गर्न लिखित निवेदनसहित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरिसकेको उनले बताए।
नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बसन्त बस्नेतले मतगणना कार्यको माग गर्दै लिखित निवेदनसहित डेलिकेसन जाने तयारी भैरहेको बताए। उनले भने, ‘सर्वदलिय बैठकमा जेठ १ गते निर्वाचन गर्ने सो दिन नभए मतगणना गर्ने भन्ने सैद्धान्तिक सहमति भएको छ, तोकिएको दिनमा निर्वाचन नभएकाले अब गणना गर्नुको विकल्प छैन्।’
नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरेले मतगणना कार्य अघि बढाउनु पर्ने बताए। उनले भने, ‘एउटा पार्टीले धाँधली गर्ने त्यसमा सबैले समर्थन गर्नुपर्छ भन्ने छैन्, त्यसैले मतगणना कार्यलाई निरन्तरता दिनुपर्छ।’ नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीले आयोगको निर्णय प्रतिक्षामा रहेको बताए।
१२ नम्बर वडाका स्वतन्त्र नागरिकले मतगणना कार्यलाई अघि बढाउनु पर्ने धारणा व्यक्त गरेका छन्। निर्वाचनगर्दा निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढ्ने, आर्थिक चलखेल, झडप, दल र कार्यकर्ताबीच तिक्तता बढ्ने देखिएकाले गणना नै उपयुक्त विकल्प भएको स्थानीय बताउँछन्।
उक्त वडामा ३ हजार १९२ मतदाता रहेका छन् त्यसमध्ये १ हजार ७१५ मत खसेको छ। ५३ दशमलव ७२ प्रतिशत मत अर्थात आधाभन्दा बढी मत खसिसकेकाले त्यसैले आधार मानेर गणना गर्नुपर्ने स्थानीयको भनाई छ।
शुक्रबार दिउँसो मतदान कार्य जारी रहँदा विवाद सृजना भएपछि मतदान कार्य स्थगित भएको हो। स्थगित मतदान प्रकृयाको विषयमा निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेको मुख्यनिर्वाचन अधिकृत दिपक खनालले बताए।
जनप्रेमी माध्यमिक विद्यालयमा निर्वाचन प्रकृया चलिरहँदा वर्षात भएपछि मतदान प्रकृया अवरुद्ध भएको थियो। वर्षातका कारण मतपत्र सुरक्षित गरी मतदान प्रकृया अगाडि बढाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए।
त्रियुगा नगरपालिकामा वडा नं १२ बाहेक ३८ हजार ४५८ मत अर्थात ६७ दशमलव ८४ प्रतिशत मतदान भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।