समाजवादीका नेता खनालको क्षेत्रमा कांग्रेस र एमाले जित्दै
इलाम : स्थानीय तह निर्वाचनको परिणामसंगै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको संघिय निर्वाचन क्षेत्र नं १ का पालिकाको प्रारम्भिक परिणामले उनको वर्चस्व कमजोड हुँदै गएको संकेत गरेको छ।
क्षेत्र नं १ को केन्द्रको रुपमा रहेको सूर्योदय नगरपालिकाको-१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। रोङ गाउँपालिका र माइजोगमाई गाउँपालिका एक एक वडामा पनि कांग्रेसको नेतृत्व विजय भएको छ। सन्दकपुर गाउँपालिका र माइ नगरपालिकामा नेकपा एमालेले एक एक वडा जितेको छ।
सुर्योदय नगरपालिका-१ वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा राजकुमार लिम्बू(८७३) विजयी भएका छन। निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दिपेश राई ८४७ मत प्राप्त गरेका छन।
इलामको रोङ गाउँपालिका-१ मा नेपाली कांग्रेसका मनोहरी खड्का विजयी भएका छन्। नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले उछिन्दै उनी विजयी भएका हुन्। मनोहरीले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत पाएका छन्।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ। वडा सदस्यमा नेपाली कांग्रेसको उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा विजयी भएका हुन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ।
माइजोगमाई गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका डम्बर बहादुर सुवेदी निर्वाचित भएका छन्। १ हजार २९ मत ल्याउँदै उनी दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन्। सुवेदीले नेकपा एमालेका गणेश बहादुर सुवेदीलाई ५०६ मतान्तरले हराउँदै वडाध्यक्ष निर्वाचित भएका छन्। गणेशले ५२३ मत पाएका थिए।
सदस्यमा ८४६ मतका साथ माओवादी केन्द्रका हस्त बहादुर राई निर्वाचित भए। उनी गठबन्धनबाट रुख चिन्ह लिएर उम्मेदवारी दिएका थिए। अर्का सदस्यमा एकीकृत समाजवादीका रमेश राई निर्वाचित भए। ८१५ मत ल्याएर विजयी उनी इलाममा समाजवादीले पहिलो जनप्रतिनिधि पाएको छ।
महिला सदस्यमा नेपाली कांग्रेसकी पुनम खड्का ९७८ मत ल्याएर विजयी भइन्। दलित महिलामा यसअघि नै कांग्रेसकी रुपादेवी दियाली निर्वाचित भइसकेकी छन्। गाउँपालिका नेकपा (एस) का अध्यक्षमा जीतबहादुर राई र नेपाली कांग्रेसकी प्रविना राईले अग्रता लिएका छन्।