सुस्तामा मतगणना सुस्त
परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मत गणना कार्य सुस्त भएको छ। शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ।
अन्य पालिकामा ७ हजार मत गन्दा त्यहाँ आइतबार दिउँसोसम्म २ हजार मत पनि गन्न सकिएको छैन। ५ वटा वडा रहेको गाउँपालिकामा कुल मतदाता संख्या २३ हजार ९ सय ५९ छ। जसमा १८ हजार ७ सय ५४ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए।
शनिबार बिहानदेखि वडा नं. १ र २ को मत गणना भइरहेको छ। वडा नं. १ मा ३६ सय ६४ र वडा नं. २ मा ३६ सय ९१ मत खसेको छ। आइतबार दिउँसो सम्म वडा नं. १ मा १७ सय र वडा नं. २ मा २ हजार मत गनिएको छ।
७ पालिका रहेको जिल्लामा आइतबार दिउँसोसम्म १४ वटा वडाको मतगणना सकिँदा सुस्तामा भने कुनै वडाको मत गणना सकिएको छैन।
सोमबार दिउँसोसम्म गणना भइरहेको २ वटा वडाको गणना सकिने र त्यसपछि अन्य वडाको शुरु गरिने निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले बताए। ‘खै किन ढिला भयो किन? गनिराखेका छौं। निर्वाचन जस्तो आत्तिएर पनि भएन। दलका प्रतिनिधिहरुले पनि केही भनेका छैनन्। सुस्त सुस्त आउँछ।’