धरानमा कांग्रेसको अग्रता कायमै, स्वतन्त्रलाई पछि पार्दै एमाले दोस्रो स्थानमा
धरान : धरान उपमहानगरपालिकाको निर्वाचनमा गठबन्दका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
गठबन्दनको तर्फबाट मेयरका प्रत्यासी कांग्रेसका किशोर राईले ३३२२ मत प्राप्त गरी अग्रस्थान कायम गरेका हुन्।
यता एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।
भण्डारीले २५०३ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र उम्मेदवार धरानका सामाजिक अभियन्ता हर्क साम्पाङले २३२५ मत प्राप्त गरी दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् ।
उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाले ३५९१ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले ३००० मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन् ।
धरानमा वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ । वडानम्बर १ मा कांग्रेसका यज्ञमणि आचार्य र ३ मा विध्या शाक्यको प्यानल विजयी बनेको छ । वडा नम्बर २ मा एमालेका रमेश राई वडाअध्यक्ष र एक खुल्ला सदस्य र वडा नम्बर ४ मा धनबहादुर राईको प्यानल विजयी भएको छ ।
धरानमा १०१४८ मत गणना गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले बताएका छन् । अहिले धरान ५,६ र ७ नम्बर वडाको मतगणना भइरहेको छ । मतदानमा खटिएका कर्मचारीले मत गणना अत्यन्तै ढिलो गनेको भन्दै धरानवासीले छिटो मत गन्न अनुरोध गरेका छन् ।