सत्यवती गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
गुल्मी : सत्यवती गाउँपालिका गुल्मीमा नेकपा एमालेका टिकाराम पाण्डे र निरमाया तरामु विजयी भएका छन्।
यसअघि यस गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले र उपाध्यक्षमा एमालेले जितेको थियो। सोमवार आएको मतपरिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका पाण्डेले ६ हजार २६७ मत प्राप्त गर्दै विजयी भए।
उनका प्रतिस्पर्धी कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गरे। उनीहरुबीच ६५६ मतको अन्तर छ।
उपाध्यक्षमा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत प्राप्त गरेर निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी गठबन्धनकी उम्मेदवार तेजकुमारी थापाले ५ हजार ५६१ मत प्राप्त गरिन्।