मानेभञ्ज्याङमा कांग्रेस र स्वतन्त्रको गठबन्धन विजयी
ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन्। रुम्दाली अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर उम्मेदवार बनेका थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भए। अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन्।
रुम्दाली ५ हजार २१ मत प्राप्त गर्दा उनका निटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाए।
मानेभञ्ज्याङका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ। नेपाली काँग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, वडा नं.२ मा राममणी राई, वडा नं.४ विष्णु तामाङ्ग, वडा नं. ५ मा रामकुमार राई, वडा नं. ६ मा हेमराज राई, वडा नं.७ विष्णु प्रसाद गौतम, वडा नं. ८ मा भिमबहादु बलाम्पाखी मगर विजयी भए।
नेकपा एमालेबाट वडा नं. ९ मा पूर्णबहादुर मगर र वडा नं.३ मा जितेन्द्र राईले जित निकालेका छन्। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ७ वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए।