पाँचथर फाल्गुनन्दको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित
फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्वे फराकिलो मतान्तरका साथ विजयी भएका छन्। कांग्रेस पाँचथरका उपसभापतिसमेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेद्वार वीरबहादुर कुरुम्वाङलाई एक हजार ९६ मत अन्तरले पराजित गरेका हुन्।
आङदेम्वेले पाँच हजार सात सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले चार हजार चार सय ४३ मत पाएका छन्। आङदेम्वेसँग पराजित कुरुम्वाङ २०७६ सालमा सम्पन्न स्थानीय तहको उप निर्वाचनमा आङदेम्वेलाई नै पराजित गरेर फाल्गुनन्दको अध्यक्ष निर्वाचित भएका थिए।
उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ विजयी भएका छन्। नेम्वाङले एमालेको समर्थनमा उपाध्यक्ष पदको उम्मेद्वार बनेकी जनता समाजवादी पार्टिकी बबिता नेम्वाङलाई छ सय ५७ मत अन्तरले हराएका हुन्। उपाध्यक्ष पदमा ठाकुरसिंहले पाँच हजार एक सय मत प्राप्त गर्दा बबितालाई चार हजार चार सय ४३ मत प्राप्त भएको छ।
यहाँ नेकपा एमाले र जनता समाजवादी प्यानल गठबन्धन गरेर चुनाव लडेका थिए भने एमाले र जसपाविरुद्ध कांग्रेस, नेकपा एस र माओवादी केन्द्रले गठवन्धन गरेका थिए।