कम्युनिस्टको गढ भत्काउँदै सप्तकोशीमा कांग्रेस विजयी
राजविराज : कम्युनिस्टको गढ रहेको सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस बहुमतसहित प्रमुख पदहरुमा निर्वाचित भएको छ।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा एउटै वडाध्यक्षसमेत जित्न नसकी क्लिनस्विप रहेको कांग्रेस यो निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा विजयी भएको छ। गत निर्वाचनमा १ हजार ५३३ मत ल्याएर तेस्रो स्थानमा रहेका कांग्रेसका कृष्णप्रसाद ढकालले निवर्तमान प्रमुख उत्तमकुमार शर्मालाई पराजित गरी नगर प्रमुख बनेका छन्।
निवर्तमान नगर प्रमुख शर्मालाई १ हजार ५०२ मत अन्तरले पराजित गर्दै नगर प्रमुखमा ढकाल विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ।
नगर प्रमुखमा ढकालले ४ हजार ४६९ मत ल्याए भने एमालेका शर्माले २ हजार ९६७ मत ल्याए। गत चुनावमा निकटतम प्रतिद्वन्द्वी रहेको माओवादी तेस्रो स्थानमा झरेको छ। नेकपा (माओवादी केन्द्र) का रबिन्द्र चौधरीले २ हजार ३०८ मत ल्याएका छन्।
एमालेका शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा माओवादीका ध्रुवकुमार कार्की १ हजार ८८३ मत ल्याई निकट्तम प्रतिद्वन्द्वी रहेका थिए भने ढकाल १ हजार ५३३ मत ल्याई तेस्रो स्थानमा रहेका थिए।
सप्तकोशी नगरपालिकाको उपप्रमुखमा पनि नेपाली कांग्रेसकै रीताकुमारी चौधरी निर्वाचित भएकी छिन्। रीताले ३ हजार ९५८ मत ल्याएर एमालेकी संगिताकुमारी चौधरीलाई पराजित गरेकी छिन्। एमालेकी संगिताले ३ हजार २ सय मत ल्याइन्। माओवादी केन्द्रकी राजकुमारी चौधरीले २ हजार ३७३ मतमा चित्त बुझाएकी छिन्। राजकुमारीले २०७४ को निर्वाचनमा २ हजार १९९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेकी थिइन्।
गत निर्वाचनमा एमालेकी आशा चौधरी ३ हजार २२७ मत ल्याएर उपप्रमुख बनेकी थिइन्। सात महिनाकी गर्भवती उनको कोभिड–१९ का कारण एक वर्ष अघि जेठ ४ गते विहान निधन भएको थियो।
वडाहरुमासमेत कांग्रेसले कम्युनिस्टको गढ भत्काएको छ। यसअघि ६ वटा वडा जितेको एमालेले ४ वटा वडा कायम राखे पनि माओवादी केन्द्रले जितेको ५ मध्ये ४ वटा वडा गुमाएको छ।
स्थानीय तह २०७४ को निर्वाचनमा एमालेले वडा नम्बर १, २, ३,४, १० र ११ मा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले ५, ६, ७, ८ र ९ मा जित हासिल गरेको थियो।
गत निर्वाचनमा एउटै वडा नजितेको कांग्रेसले यसपटक बहुमत ६ वटा वडामा कम्युनिष्टको गढ भत्काएको छ। कांग्रेसबाट वडा नम्बर १ मा रोहिणीप्रसाद पोखरेल, ४ मा जयराम खंग, ५ मा गोसाइ चौधरी, ७ मा जितन चौधरी, ९ मा राजेन्द्रकुमार यादव र १० मा हरीलाल साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।
एमालेबाट वडा नम्बर २ मा जाहिर हुसेन, ३ मा देवकान्त गोजेवार, ६ मा नन्दीलाल चौधरी र ११ मा डोलेश्वर खडका निर्वाचित भएका छन्। माओवादीले वडा नम्बर ८ को वडा अध्यक्षमा मात्र केदारप्रसाद साहलाई निर्वाचित गर्न सकेको छ।