सप्तकोशी र अग्नीसाइरमा एमाले-कांग्रेसले खोस्यो एकअर्काको भाग

सप्तकोशी र अग्नीसाइरमा एमाले-कांग्रेसले खोस्यो एकअर्काको भाग

राजविराज : मतगणना सम्पन्न सप्तरीको दुई पालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) एकले अर्काको गढ भत्काउँदै भाग लगाएका छन्। एमालेको वर्चस्व रहँदै आएको सप्तकोशी नगरपालिका कांग्रेसले र कांग्रेसले गढ ठान्दै आएको अग्नीसाइर कृष्णसवरन गाउँपालिका एमालेले खोसेको छ। 

संयोग यसपटक सप्तकोशी नगर प्रमुखमा निर्वाचित कृष्णप्रसाद ढकाल र अग्नीसाइर कृष्णसवरन गाउँपालिका अध्यक्षमा निर्वाचित दिनानाथ चौधरी गत निर्वाचनमा तेस्रो स्थानमा थिए।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा सप्तकोशीमा एउटै वडा अध्यक्ष समेत जित्न नसकी क्लिनस्विप रहेको कांग्रेस यो निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडा अध्यक्षमा विजयी भएको छ। गत निर्वाचनमा १ हजार ५३३ मत ल्याएर तेस्रो स्थानमा रहेका कांग्रेसका कृष्णप्रसाद ढकालले निवर्तमान प्रमुख उत्तमकुमार शर्मालाई १ हजार ५०२ मत अन्तरले पराजित नै गरे।

नगर प्रमुखमा ढकालले ४ हजार ४६९ मत ल्याए भने एमालेका शर्माले २ हजार ९६७ मत ल्याए। गत चुनावमा निकटतम प्रतिद्वन्द्वी रहेको माओवादी तेस्रो स्थानमा झरेको छ। नेकपा (माओवादी केन्द्र) का रबिन्द्र चौधरीले २ हजार ३०८ मत ल्याएका छन्।

एमालेका शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा माओवादीका ध्रुवकुमार कार्की १ हजार ८८३ मत ल्याई निकट्तम प्रतिद्वन्द्वी रहेका थिए भने ढकाल १ हजार ५३३ मत ल्याई तेस्रो स्थानमा रहेका थिए।

सप्तकोशी नगरपालिकाको उपप्रमुखमा पनि नेपाली कांग्रेसकै रीताकुमारी चौधरी निर्वाचित भएकी छन्। रीताले ३ हजार ९५८ मत ल्याएर एमालेकी संगिताकुमारी चौधरीलाई पराजित गरेकी हुन्। एमालेकी संगिताले ३ हजार २ सय मत ल्याइन्। माओवादी केन्द्रकी राजकुमारी चौधरीले २ हजार ३७३ मतमा चित्त बुझाएकी छन्। राजकुमारीले २०७४ को निर्वाचनमा २ हजार १९९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेकी थिइन् भने हाल निर्वाचित रीताले १ हजार ४०२ मत ल्याएर तेस्रो नै रहेकी थिइन्।

गत निर्वाचनमा ३ हजार २२७ मत ल्याएर उपप्रमुख बनेकी एमालेकी आशा चौधरीको कोभिड–१९ का कारण एक वर्ष अघि जेठ ४ गते विहान निधन भएको थियो। यसैगरी गत निर्वाचनमा अग्नीसाइर कृष्णसवरनको ६ नम्बर वडामात्र जित्न सकेको एमालेले यसपटक अध्यक्षमै ९८६ मतअन्तरले जित हासिल गरेको छ।

कूल खसेको १२ हजार ४२५ मतमा चौधरीले ४ हजार ८७४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका परशुराम चौधरीले ३ हजार ८८८ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का रघुकुमार सिन्हाले १ हजार २७३ मत ल्याए।

कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका बद्रीनारायण चौधरी १ हजार ४५३ मत ल्याएर निकट्तम प्रतिद्वन्द्वी हुँदा नेपाल लोकतान्त्रिक फोरमबाट लडेका दिनानाथ १ हजार ४१६ मत ल्याएर तेस्रो भएका थिए। 

अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको उपाध्यक्षमा भने मीना चौधरी बिद्रोही उम्मेदवार हुँदा समेत कांग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भइन्। गत निर्वाचनमा पाँचौ स्थानमा रहेकी कल्पनाले यसपटक ४ हजार २१६ मत ल्याएर एमालेकी शैलेन्द्रीकुमारी लेखी थरुनीलाई पराजित गरिन्। एमालेकी थरुनीले ३ हजार ४५९ मत ल्याइन् । गत निर्वाचनमा थरुनीले १ हजार ३११ मत ल्याएर तेस्रो भएकी थिइन्। यस्तै गत निर्वाचनमा नयाँ शक्तिबाट उम्मेदवारी दिएकी कल्पनाले ५६८ मत मात्र ल्याएर पाँचौ रहेकी थिइन्। गत निर्वाचनमा २९४८ मत ल्याएर उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मीना चौधरीले यसपटक स्वतन्त्रबाट उम्मेदवारी दिएर ४२८ मतमा चित्त बुझाइन्।

गत निर्वाचनमा उपाध्यक्षमा १५६२ मत ल्याएर दोस्रो स्थानमा रहेकी निशाकुमारी चौधरी यस पटक १९१० मत ल्याएर तेस्रो स्थानमा झरिन्। गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षका उम्मेदवार बनेका दिनानाथ एमालेबाट, निशा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार गोपालप्रसाद चौधरी कांग्रेसबाट उठेपछि निराश बनेको लोसपाले सो पालिकामा उम्मेदवारी नै दिन सकेन। 

केहीबाहेक अधिकांश वडा अध्यक्षको पद समेत एकले अर्काको खोसेका छन्। यसअघि कांग्रेस विजयी रहेको वडा नम्बर १ र ५ मा क्रमश एमालेका सवजुल खलीफा र सबदुल मियाँ निर्वाचित भएका छन्। सबदुल गत वर्ष कांग्रेसका श्रीप्रसाद यादव भन्दा १७१ मत कम ल्याएर निकटतम प्रतिद्वन्द्वी थिए।

माओवादीले जितेको वडा नम्बर ३ मा कांग्रेसका गोपालप्रसाद चौधरी थारु र एमालेले जितेको ६ मा कांग्रेसका अशोककुमार आचार्य निर्वाचित भएका छन्। गोपाल गत निर्वाचनमा ३७ मतअन्तरले पराजित भएका थिए। वडा नम्बर ६ मा गत निर्वाचनमा तेस्रो रहेको कांग्रेसले उम्मेदवार परिवर्तन गरेर यसपटक जित हासिल गरेको छ। 

वडा २ को अध्यक्षमा माओवादीका पशुपतिप्रसाद चौधरी र ४ मा कांग्रेसका तेजनारायण यादवले मात्र आफ्नो पद कायम राख्न सके। सप्तकोशी नगरपालिकाको अधिकांश वडाहरुमा कांग्रेसले कम्युनिष्टको गढ भत्काएको छ। यसअघि ६ वटा वडा जितेको एमालेले ४ वटा वडा कायम राखे पनि माओवादी केन्द्रले जितेको ५ मध्ये ४ वटा वडा गुमाएको छ।

स्थानीय तह २०७४ को निर्वाचनमा एमालेले वडा नम्बर १, २, ३, ४, १० र ११ मा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले ५, ६, ७, ८ र ९ मा जित हासिल गरेको थियो। गत निर्वाचनमा एउटै वडा नजितेको कांग्रेसले यसपटक बहुमत ६ वटा वडामा कम्युनिष्टको गढ भत्काएको छ। कांग्रेसबाट वडा नम्बर १ मा रोहिणीप्रसाद पोखरेल, ४ मा जयराम खंग, ५ मा गोसाइ चौधरी, ७ मा जितन चौधरी, ९ मा राजेन्द्रकुमार यादव र १० मा हरीलाल साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।

एमालेबाट वडा नम्बर २ मा जाहिर हुसेन, ३ मा देवकान्त गोजेवार, ६ मा नन्दीलाल चौधरी र ११ मा डोलेश्वर खडका निर्वाचित हुँदै ४ वडा जोगाएका छन्। गत निर्वाचनमा ५ वडा जितेको माओवादीले वडा नम्बर ८ को वडा अध्यक्षमा मात्र केदारप्रसाद साहलाई निर्वाचित गर्न सकेको छ।

जारी १६ वटा पालिकामा समेत अधिकांशमा निर्वाचित पार्टी र प्रमुखहरु पछाडि परेका छन् भने निकटतम प्रतिद्वन्द्वीले अग्रता कायम गरेका छन् । सप्तरीमा हाल कांग्रेस र जसपाले ४-४ पालिका प्रमुखमा, लोसपाले ३, एमालेले २, माओवादी, एकिकृत समाजवादी र जनमत पार्टीले १-१ पालिका प्रमुखमा अग्रता लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.