एमालेको गढ ढाल्दै पर्सामा कांग्रेसले खाता खोल्यो, ३२ वर्षीय अनोज पालिका प्रमुखमा विजयी
वीरगन्ज : स्थानीय तहको निर्वाचनअन्तर्गत पर्सा जिल्लाको पालिकामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ।
जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
१४ वटा पालिका रहेको पर्सामा जारी मतगणनामा मंगलबार राति अन्तिम परिणामा आएको पहिलो पालिका जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्य दुवै पदमा कांग्रेस विजयी भएको हो।
जिराभवानी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय अनोज चौधरी निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन्।
गाउँपालिका अध्यक्षमा निर्वाचित अनोजले निवर्तमान गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई १ हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। अनोजले ४ हजार ५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महतोले ३ हजार २९९ मतमात्रै पाए।
यस्तै उपाध्यक्षमा विजयी रेखाले पनि एमालेकी उम्मेदवार एवं निवर्तमान गाउँपालिका उपाध्यक्ष उषादेवी थरुनीलाइ १ हजार ७४५ मतको अन्तरले पराजित गरेकी हुन्।
निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेकाअनुसार उपाध्यक्षमा निर्वाचित कांग्रेसकी रेखाले ४ हजार ७१० मत प्राप्त गरेकी हुन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार उषाले २ हजार ९६५ मत पाइन्।
पाँच वटा वडा रहेको जिराभवानी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित तीन वडा पनि कांग्रेसले नै जितेको छ। बाँकी दुई वडाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।
वडा नम्बर ३ , ४ र ५ मा कांग्रेस तथा वडा नम्बर १ र २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए।
जिराभवानी गाउँपालिका अध्यक्षमा निर्वाचित ३२ वर्षिय अनोज, पूर्वगाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन्। पूर्व फर्मासिस्ट अनोज, आफ्ना बुबाको सपनालाई साकार पार्न भन्दै नेशनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका हुन्। फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका अनोजले आफनो पहिलो प्राथमिकता कृषिमा क्रान्ति ल्याउने रहेको बताएका छन्।