मन्त्रीको जिल्लामा मतगणनामा विवाद : मुख्य निर्वाचन अधिकृत फेरिए
उदयपुर : उदयपुरमा मुख्यनिर्वाचन अधिकृत परिवर्तन भएका छन्। स्वास्थ्य समस्या देखाउँदै शनिबार जिल्ला न्यायाधीश दीपक खनालले राजीनामा दिएपछि सोही ठाउँमा जिल्ला अदालतका अर्का न्यायाधीश उत्तम सिलवाल नियुक्त भएका हुन्।
मंगलबार खनालको राजीनामा स्वीकृत भएसँगै बाँकी निर्वाचनका सबै काम पुरा गर्नेगरी निर्वाचन आयोगले सिलवाललाई नियुक्त गरेको हो। नियुक्ति पाएसँगै सिलवालले निर्वाचनका कामहरु सुरु गरेका छन्। मुख्यनिर्वाचन अधिकृतले आफ्नो कार्यालय रहेको स्थानीय तहको निर्वाचन अधिकृतकोसमेत थप जिम्मेवारी पाउने व्यवस्था छ।
सोहीअनुसार सिलवालले त्रियुगा नगरपालिकाको निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्दैछन्। मुख्य निर्वाचन अधिकृत नियुक्त नभएकैकारण बैशाख ३० गतेदेखि स्थगित रहेको निर्वाचनका गतिविधि बढ्न सकेका छैनन्।
परराष्ट्रमन्त्री नारायण खड्काको गृहजिल्ला उदयपुरमा बैशाख ३० गने जनप्रेमी आधारभूत विद्यालयमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रक्रिया स्थगित भएको थियो । स्थगित प्रकृयालाई पुनः मतदान गर्ने वा झरेको मतलाई सदर गर्ने बिषयमा उत्पन्न विवादको न्यायनिरुपण नहुँदा सबै प्रक्रिया स्थगित छ ।
न्याय निरुपणका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकारीलाई नै निर्णय गर्ने अधिकार दिएकाकारण बुधबारसम्म उक्त निर्णय आइसक्ने दलहरुले अनुमान गरेका छन्। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको एक पक्षीय नेताहरुले झरेको मतलाई सदर गरेर गणना गर्नुपर्ने बताएका छन् भने माओवादी र नेकपा एसले पुनः निर्वाचन गर्नुपर्ने माग अघि सारेका छन्।
समय लम्बिदै जाँदा दलहरु बीच तिक्तता, मतभेद बढ्दै गएको छ भने वडा नं १२ थप पेचिलो बन्दै गएको छ। दलहरुले प्रतिष्ठाको बिषय बनाएका छन्। पुनः मतदान गर्दा धाँधली हुन सक्ने, आचारसंहिता विपरीत गतिविधी हुने, आर्थिक चलखेल, भोजभतेर, नेता र कार्यकर्ता बिच तिक्तता हुने भएकाले खसेको मत गणना गर्नु पर्ने स्थानीयको समेत माग छ।