मोदीको धार्मिक कूटनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लुम्बिनी भ्रमण गरे। यसले दुई देशको सम्बन्ध सुमधुर बनाउन पक्कै पनि मद्दत गरेको छ। मोदीले भनेजस्तै दुई देशको सम्बन्ध हिमाल झैं अटल र पुरानो हो पनि। प्राचीन मुलुक नेपाल र प्राचीन सभ्यतास्थल भारतका बीच सांस्कृतिक र धार्मिक समानता छन्। बौद्ध धर्मका प्रवर्तक बुद्धको जन्मस्थलमा बौद्ध पूर्णिमाकै दिन भ्रमण गरेर मोदीले थुप्रै सन्देश दिएका छन्। मोदीको भ्रमणले बुद्ध जन्मस्थल नेपालमा छ भन्ने सन्देश फैलाउन मद्दत गरेको छ। बुद्ध नेपालमा जन्मिए। ज्ञान अहिलेको भारतीय भूमिमा प्राप्त गरे। यस अर्थले बुद्ध धर्मका तीर्थस्थल दुवै देशमा छरिएका छन्। बौद्ध धर्मका सम्पदा दुवै देशका साझा भए।
मोदीको भ्रमण दुई देशको सम्बन्धलाई बलियो बनाउने धार्मिक कूटनीतिका रूपमा हेर्न सकिन्छ। मोदीले नेपाल आउँदा आफूलाई राजनीतिकभन्दा आध्यात्मिक भ्रमणकै अनुभूति भन्ने अभिव्यक्ति दिए। यसले नेपालको धार्मिक र आध्यात्मिक महत्त्व भारतीयमाझ थप फैलन मद्दत पुगेको छ। हिन्दू र बौद्ध धर्मका साझा तीर्थस्थलहरूको गरिमा र महिमालाई अझै उचो बनाउन उनको अभिव्यक्ति सहायक बनेको छ। नेपाल भारतीयहरूको धार्मिक गन्तव्यका रूपमा थप विकास गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने थप सम्भावनालाई मोदीले सकारात्मक मलजल गरिदिएका छन्। भ्रमण दौरान मोदीले ६ वटा सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवासँग हस्ताक्षर गरे। २५६६औं बौद्ध जयन्तीको मोदी भ्रमण तीर्थाटनमा सीमित नरहेको सन्देश पनि हो यो। उच्चस्तरीय भ्रमणका बेला दुई देशबीच दीर्घकालीन हितका सम्झौता र सहमति हुनु कूटनीतिक सम्बन्धै महत्त्वपूर्ण पाटो हो।
बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा हुँदाहुँदै बौद्ध साहित्य र दर्शनको अध्ययनका लागि तेस्रो मुलुकवासी अन्य देशको भर पर्छन्। नेपालले त्यस मामिलामा आफूलाई समृद्ध पार्न नसकेको कटु यथार्थ पनि छ। त्यसका लागि अध्ययन केन्द्रहरूको जरुरी छ। मोदीको नेपाल भ्रमणका क्रममा बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच जुन सम्झौता भयो। त्यसले उपलब्धि देखाउन सक्यो भने नेपाललाई फाइदा नै पुग्नेछ। अरुण चौथो जलविद्युत् आयोजना सम्बन्धमा जुन सम्झौता भयो, त्यो अझै धेरै बहस र वार्तापछि गर्न सकिन्थ्यो। भारतको चाहना पूरा गर्दा नेपाललाई अझै धेरै फाइदा हुने गरी सम्झौता हुनुपर्छ। यो आम नेपालीको चाहना पनि हो।
मोदीले जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ हुँदै लुम्बिनीसम्मको भ्रमण गरे। प्रधानमन्त्रीका रूपमा पाँचौपटक नेपाल आउँदा लुम्बिनी उनको रोजाइमा पर्यो। उनी धार्मिक कूटनीतिमार्फत नेपालसँगको सम्बन्ध कसिलो बनाउन चाहन्छन् भन्ने बुझ्न सकिन्छ। तर, भारतीयहरूको धार्मिक पर्यटकीय गन्तव्य नेपाललाई बनाउने गरी नेपालले यस्ता भ्रमणको उपयोग गर्न सक्नुपर्छ। भारतीय र तेस्रो मुलुकका बौद्धमार्गीको पनि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न नेपालले यस्ता भ्रमणहरूका सन्देशलाई सदुपयोग गर्नुपर्छ। त्यसबाट नै नेपाल र भारतको सम्बन्ध पनि कसिलो बन्छ। नेपालले पनि फाइदा लिन सक्छ।